मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष र ८७ महिला गरी दुई सय ८४ जना नयाँ क्षयरोगी पहिचान भएका छन् । नयाँ क्षयरोगीमध्ये दुई दशमलव आठ प्रतिशत बालबालिका छन् ।
साउनदेखि माघसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १० जनाको मृत्यु भएको छ । क्षय रोग लागेर मृत्यु हुनेमध्ये सात पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताउनुभयो । “जिल्लामा अहिले दुई सय ८४ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ ।”
जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताउनुभयो ।
जिल्लामा भेटिएका क्षयरोगीमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग ‘फोकल पर्सन’ डिल्लीराम तिवारीले बताउनुभयो । “जिल्लामा गत आव २०७९/८० मा पाँच सय ४६ मा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आव २०७८÷७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाको मृत्यु भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७७÷७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।”
क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेको फोकल पर्सन तिवारीले बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर (ड्रक रेसिस्टेन्ट) होस्टल रहेको छ । चितवन जिल्लाका सात, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र तनहुँका एक–एक गरी १० जना डिआर क्षयरोगीको आवासीयरुपमा उपचार भइरहेको छ । “चालु आवको माघसम्म १७ जनामा डिआर क्षयरोगी भेटिएका छन् । चितवनका ११, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का चार, तनहुँ र पाल्पाका एक–एक जना डिआर क्षयरोगी परीक्षणबाट पुष्टि भएका छन्”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशमा डिआर होस्टल नवलपरासी (बर्दघाट सुस्तापूर्व)सँगै बागलुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा नौ सय ४५ डट्स केन्द्र रहेको छ । “जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङख्या बढ्दै गइरहेको छ”, फोकल पर्सन तिवारीले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”
क्षयरोग एक सरुवा रोग हो । जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताउनुभयो । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उहाँले बताउनुभयो ।
विश्वका आठवटा देशमा मात्र क्षयरोगका दुईतिहाइ बिरामी रहेका छन् । ती रोगीमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इण्डोनेसिया, सात दशमलव चार प्रतिशत चीन, सात प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।
नेपालमा गत आव २०७९/८० मा ३७ हजार चार सय ४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा रहेको छ । सरकारले क्षयरोग निवारणका लागि आव २०७७/७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२/८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य निर्धारण गरेको छ ।