नुवाकोट । काठमाडौँ उपत्यकाबाट करिव डेढ घण्टाको दुरीमै रहेको जिल्लाबासीहरुको स्वास्थ्य अवस्था कस्तो होला त ? पक्कै राम्रो होला अनुमान गर्न सकिन्छ । तर काठमाडौँबाट नजिकै रहेको नुवाकोटका महिलाहरु स्वास्थ्य जटिलता पालेर बस्न बाध्य छन्। उपत्यकाबाट जाने निःशुल्क स्वास्थ्य शिविरमा लाग्ने स्थानीय अझ महिलाको भीडले यसलाई प्रमाणित गर्दछ ।
महिला र पुरुष बीचको भिन्नताको आधार शरीर संरचना हो । शारीरिक र मानसिक भिन्नताका कारण हाम्रो समाजमा पुरुषको तुलनामा महिलाहरू बढी रोगी देखिन्छन् । विशेष गरी उमेर ढल्केका महिलाहरू बाथ, हाडजोर्नी, नसासम्बन्धी रोगले ग्रसित देखिन्छन् । ग्रामीण तथा अशिक्षित महिलाहरूमा पाठेघर झर्ने समस्या बढी देखिन्छ । काठमाडौँबाट नजिकैे रहेको नुवाकोट जिल्लाका महिलाहरु यस्तै यस्तै स्वास्थ्यसमस्याबाट गुज्रिरहेका छन् ।
त्यसो त शहरका अस्पतालमा जचाउन जाँदा चर्को शुल्क लाग्ने र समय लाग्ने हुँदा रोग लाग्दा पनि रोग पालेर बस्न बाध्य छन् यो गाउँमा जेष्ठनागरिकहरू पनि ।
उपत्यकाबाट बेला बेला पुग्ने निःशुल्क स्वास्थ्य शिविरमा तथा घुम्ती स्वास्थ्य शिविरहरूमार्फत् यस्तो रोगको उपचार निःशुल्क गरिने व्यवस्था भए पनि अधिकांश महिला चेतना अभावका कारण उक्त समस्या लुकाउने गर्छन्।
रोटरी क्लब अफ काठमाडौँ डाउनटाउनको आयोजना, ग्रिनसिटी अस्पताल र नुवाकोटको शिवपुरी गाउँपालिका–६ को संयोजनमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा अधिकांश महिला बृद्ध बृद्धाको उपस्थित रहेको थियो । रोटरी क्लब अफ काठमाडौँ डाउनटाउनका अध्यक्ष स्थानेश्वर रेग्मीले बेला बेला सञ्चालनमा ल्याइने हेल्थ क्याम्पले ग्रामिण भेगमा स्वास्थ्य जटिलता पालेर बसेकाहरुलाई लाभ मिल्ने बताउनुभयो ।
दुई दिनसम्म चलेको उक्त निःशुल्क स्वास्थ्य शिविरमार्फत शिवपुरी गाउँपालिकाका १ हजार बढीले स्वास्थ्य चेकजाँच गराएका छन्। शिविरमा महिला प्रसुती तथा स्त्रिी रोग,आँखा तथा दन्त रोग,फिजिसियन सँगै अल्ट्रासाउण्ड, इसिजी र सामान्य शल्यक्रिया गरिएको थियो । कार्यक्रममा गाउपालिका वडा ६ का अध्यक्ष बिष्णु श्रेष्ठ, क्लबका चार्टर प्रसिडेण्ट श्यामबहादुर पराजुली, बरिष्ठ पत्रकार टंक पन्त, मनिष दवाडी, शम्भु उप्रेति, हरि ढकाल, मोहन ढकाल, विष्णुप्रसाद पाेखरेल, ज्ञानेश्वर अर्याल, अनुजराज पाैडेल, अनिता पाैडेल, कृष्णप्रसाद न्याैपाने लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र ग्रिनसिटी अस्पतालका बरिष्ठ चिकित्सक डा. राेमियाे कंसाकार, डा. चेतना श्रेष्ठसहितका चिकित्सकहरू एवं स्वास्थ्यकर्मीहरुको बिशेष सहयोग रहेको थियो । रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले स्वास्थ्य शिबिरसंगै रक्तदान कार्यक्रम, वालवालिकालाई जाडोको स्वीटर, सरसफाई, बृक्षारोपण कार्यक्रम पनि हालै सपन्न गरेको छ। रोटरी क्लब अफ काठमाडौ डाउनटाउनले जाजरकोटमा भुकम्प पीडित परिवारको सहयोगार्थ सदस्यहरुवाटै आर्थिक संकलन र खाधान्न बितरण समेत गरेको छ ।
रोटरी क्लबकै संयोजनमा आर्थिक रुपमा अति बिपन्न र जटिल रोग लागेका तर आर्थिक स्थिति कमजोर भएकाहरुको ग्रिनसिटी अस्पतालमा नि:शुल्क अप्रेशनसहित सम्पूर्ण उपचार सोत गर्ने गरिएको छ । यस आर्थिक बर्ष मात्रै चार जनाको नि:शुल्क अप्रेशन र उपचार गरिएको अस्पतालले जनाएकाे छ ।
ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं बृहत नि:शुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक लाेकबहादुर टन्डनले अस्पताल र क्लबले सामाजिक कामहरुलाई अगाडि बढाइरहेको मात्र होइन स्वास्थ्य मानिसको पहिलो आबश्यकता भन्ने ठानेर स्वास्थ्य शिविरलाई प्राथमिकता साथ गर्ने गरेको जानकारी गराउनुभएको छ । केही समय अगाडि गुल्मीमा भएको स्वास्थ्य शिविरमा सहभागी बिरामी अहिले पनि अस्पतालमा आउने गरेको उनीहरु मध्ये कसैलाई नि:शुल्क अप्रेशन सहित सम्पुर्ण उपचार गर्ने गरिएको छ भने कतिपयलाई बिशेष छुटमा उपचार गर्ने गरिएको स्पष्ट पार्नुभएको छ ।
उहाँले नुवाकोटमा सम्पन्न भएको स्वास्थ्य शिविरमा अधिकांश महिला, बृद्धबृद्धा सहभागी हुनुको कारण गाउँमा युवा छैनन भन्ने कुरा देखिन्छ यो आफैमा गम्भीर बिषय भएको भन्दै रोजगारको अभावले युवा बिदेशिएका छन बुढाबुढी गाउंमा अलपत्र भएको अबस्था मात्र कसैसँग पैसा छैन कोही पैसा भएर पनि उपचारका लागि टाढा जान नसक्ने अबस्थामा भएको देखिएको बताउनुभएको छ ।