News Portal

  • महाशिवरात्रिकाे अवसरमा युथ डेन्टिस्ट्री नेपालद्वारा निःशुल्क दन्त शिविर आयोजना, एक हजार ८० सेवाग्राही लाभान्वित

    जनभेट संवाददाता२०८२ फाल्गुण ५
    ७०९ पटक

    प्रताप सुवेदी
    काठमाडाैं। युथ डेन्टिस्ट्री नेपालले आयोजना गरेकाे नि:शुल्क दन्त स्वास्थ्य शिविरमा एक हजार ८० सेवाग्राही लाभान्वित भएका छन् । महाशिवरात्रिको पावन अवसरमा महारूद्र परिवारकाे संयाेजकत्वमा पशुपति क्षेत्रमा निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गरिएकाे हाे ।

    भक्तजनहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना गरिएकाे शिविरमा निःशुल्क दन्त परीक्षण, परामर्श तथा  प्राथमिक उपचारका साथै नि:शुल्क दन्तमञ्जन वितरण गरिएकाे संस्थाले जनाएकाे छ ।

    दन्त स्वास्थ्य परीक्षणमा सहभागी एक हजार ८० सेवाग्राहीलाई दन्त चिकित्सकहरूले दाँत स्वास्थ्यका बारेमा आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो।

    महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा ठूलो संख्यामा श्रद्धालुहरू उपस्थित हुने भएकाले  निःशुल्क सेवा आवश्यक भएको डेन्टिस्ट्री नेपालका संस्थापक डा. आयुष कोइरालाले बताउनुभयाे । महाशिवरात्रि पर्वमा ठुलाे संख्यामा भक्तजनकाे उपस्थिति हुने भएकाले सामाजिक सेवाकाे भावले पनि शिविरकाे आयोजना गरिएकाे उहाँकाे भनाइ छ । सम्पूर्ण शरीरकाे स्वास्थ्य राम्राे राख्न दाँत स्वास्थ्यमा विशेष सावधानी अपनाउनु पर्नेमा उहाँले जाेड दिनुभयाे ।

    विभिन्न चाडपर्व तथा विशेष समयमा शिवर सञ्चालन गरिरहेकाे युथ डेन्टिस्ट्री संस्थाले आगामी दिनमा  विद्यालय, वृद्धाश्रम तथा गरिब परिवारका लागि नि:शुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएकाे छ । संस्थाले प्रदान गरेकाे दन्त स्वास्थ्य सम्बन्धी सेवाले समुदायमा दाँत र मुखको सरसफाई, रोग रोकथाम, सही तरिकाले ब्रस गर्ने, दाँतमा कीरा लाग्ने तथा गिजाको समस्याबाट बच्ने उपायहरूका साथै नियमित दन्त परीक्षणकाे महत्वबारे चेतना अभिवृद्धि भएकाे छ ।

    प्रतिकृया दिनुहोस्