News Portal

  • अहं, घमण्ड र कुशासनले जन्माएको बिद्रोह

    टंक पन्त२०८२ भाद्र २५
    ४२० पटक

    टंक पन्त
    नेपालाको मात्र होइन बिश्वको इतिहास पनि केही न केही अध्ययन गरेकै थिएँ । नेपालमा भएका राजनीतिक परिवर्तनका लागि भएका ०४६ पछिका सबै आन्दोलनमा सहभागी पनि भएकै हो । ०४६ को आन्दोलनमा कलेजको बिद्यार्थीको हैसियतले सहभागी भैयो भने त्यसपछि भएका दश बर्षे जनयुद्ध, ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन, संबिधान निर्माण लगायतका लोकतान्त्रिक आन्दोलनलाई पत्रकारिताको बिद्यार्थीको हैसियतले नजिकबाट हेर्ने र लेख्ने काम गरे । आम नागरिक समक्ष जे भएको छ त्यहि जस्ताको तस्तै पस्किने काम गरेको पनि ३३ बर्ष नाघेछ । शान्ति, बिकास, मानब अधिकार र स्वतन्त्रताका लागि भएका कैयौ संघर्षहरुमा घटेका घटनाहरु कहाली लाग्दा नै थिए । जघण्य मानब अधिकार उल्लंघनका घटना भएकै थिए । दश बर्षे सशस्त्र द्धन्द्ध जनयुद्धमा राज्य र आन्दोलनकारीवाट भएका जघण्य अपराधिक घट्नाहरु सम्झिदा अहिले पनि मुटु नै पोल्छ । अहिले पनि त्यसमा देखिएका दोषीलाई कारवाहीको दायरामा ल्याइएको छैन । किनकि सत्तामा पालैपालो बसेका जिम्मेवार भनिएका दलका नेता , ब्यूरोक्रेसीका केही अधिकारीहरु, सुरक्षा निकायका उच्च अधिकारीहरुको भूमिकाले कारवाहीमा नल्याउनका लागि काम गरेको छ ।

    देशमा गणतन्त्र आन्दोलनबाटै आयो तर जनताको अपेक्षा बिना संघीयता लादियो अनि प्रारंभ भयो पुनः कुशासन र लूटतन्त्र । परिवर्तनका लागि लडेका कतिपय राजनीतिक दल र नेताहरुमा चढेको अहं घमण्ड मात्र होइन अब त हामीलाई कस्ले दिन्छ चुनौति भन्ने सोचको बिकास हुदै गयो । आम नागरिकले नेता र दलले संघर्ष गरेर परिवर्तन त गरे तर परिबर्तनलाई जनभावना अनुसार काम गर्नुको साटो आफन्त , आफ्ना र गूटलाई संस्थागत गर्ने गरी कुशासनमा लिप्त भए भन्दै पनि आए । आफनो मात्र स्वार्थमा ब्यूरोक्रेसी, संवैधानिक निकाय सहित अन्य सेवा क्षेत्रमा रहेका धेरै सहभागी भए ।

    केही प्रतिशत इमान्दार पनि थिए तिनीहरु छायांमा परे । त्यसको कटू आलोचना हुदा पनि संबिधान, कानूनको खिल्ली उडाउदै घमण्ड अहंले सीमा नै नाघ्यो । सच्चिन गरिएका आग्रहलाई खिसिट्यूरी गर्ने काम भयो । अति भएपछि खति हुन्छ भनेझै ०८२ भाद्र २१ गते युवाहरुले भ्रष्टाचार बिरुद्ध , सुशासन र केपि ओली नेतृत्वको एमाले काग्रेसको सरकारवाट भएको सामाजिक संजाल बन्द बिरुद्ध भाद्र २३ गतेका लागि प्रदर्शनको घोषणा गरे । युवा बिद्यार्थीहरु स्वस्तफुर्त रुपमा देशका प्रमुख शहरमा उत्रिए । पहिलो दिन २३ गते नै शान्तिपुर्ण प्रदर्शनमाथि सरकारले सयौ राउण्ड अश्रुग्यास, हवाइ फायर मात्र प्रहार गरेन कि अबोध युवा युवतीमाथि अन्धाधुन्द गोली ठोक्यो । म लगायत मेरो अफिसका साथीहरु अश्र्रुग्यास खादै घटनाको प्रत्यक्ष प्रसारणमा जुटेका थियौ । हाम्रै आंखा अगाडि ती युवाहरु रगताम्मे भएर ढले । टाउकाकोे गिद्धी क्षतबिक्षत हुने गरी गोली लागेपछि अस्पताल नपु¥याउदै कैयौको ज्यान गयो । ज्यान जोगाउन कलेज र घर भित्र पसेका युवाहरुलाई पनि प्रहरीले छोडेन । पचासौ हजार युवाहरु सडकमा थिए । प्रदर्शनकारीहरु १९ जना एकै दिन ठहरै भए । देशमा रोजगारी नदिने सरकार , शिक्षा स्वास्थ्यका लागि मतलब नगर्ने भ्रष्ट शासकहरुवाट देशमा बढ्दै गएको चरम भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर सडकमा उत्रिएकामाथि गरिएको आक्रमणले देश युवाको रगतले लत्पतियो । झण्डै १५ सय घाइते भए र २३ र २४ ऐतिहासिक युवा प्रदर्शन र त्यसपछि घाइते भएका सहित क्रममा ५१ जनाको दुखद निधन भैसकेकोे छ ।

    दिनभरि आखा अगाडि युवाहरु ढलेको घाइतेहरुको अबस्था सहितको समाचार बनाएर घर फर्किदा १० कक्षामा पढ्दै गरेको मेरो छोरा समाचार हरेर निकै स्याड भएको देख्दा मेरो आंखावाट आशु नै आयो । दिनभरि अश्र्रु ग्यासले रसाएका आंखा थामिएको थिएन । म जस्तै साथीहरुलाई कस्तो नराम्रो गरी गोली हानेर मारेको रहेछ है पापा भनी छोराले भन्दै थिए । राति अबेर सम्म छोराले निद्रा नै लागेन भन्दै छटपटिदा मैले सम्झाउने प्रयास त गरेँ तर तर …र्, । मलाई लाग्छ त्यस दिन प्रत्येक घरका बच्चाहरु र अभिभावकहरु बिछिप्त भएका थिए । तर के गर्ने पत्रकारिता गर्ने हामी जस्तोसुकै कठीन अबस्था र रगताम्य मैदान हुंदा पनि घटनाको यथार्थ आम नागरिकमा पुर्याउने भूमिकावाट पछि हट्न नहुने । त्यति मात्र कहां हो भन्न र लेख्न पनि मन सिरिङ्ग हुन्छ आन्दोलनको दोस्रो दिन अफिसमा काम सकेर राति साढे साढे ९ बजे घर फर्किदै गर्दा धेरै ठाउं ठाउंमा आगो बलेको थियो ।आगो र उत्तेजित भीडबाट तर्किदै सिंहदरवार, सुकेधारा हुदै चक्रपथ पुग्ने वेला भाटभटेनी दनदनी बोलिरहेको, वारीपारीवाट ढुगा हान्ने काम प्रदर्शनकारीले गरेका थिए । आफ्नै गाडीमा एक्लेै छु फनक्क फर्किउ भने भाग्यो भन्लान् झम्टिएलान् भन्ने डर भो ।

    तत्काल निर्णय गरे जे होला अगाडि बढ्छु भनेर आगो आगोमा ढुगा मुडामा गाडी ठोक्काउदै अगाडि बढे तीन मिनेट पार गर्न कैयौं दिन जस्तो लाग्यो मात्र होइन अनेक कुरा सम्झिए दुइ हप्ताका लागि नर्वे गएकी छोरीले पटक पटक कुनै हालतमा बाहिर निनिस्कनु है पापा । यस्तो बेला अफिस नगएर जागीर जान्छ भने जावस भनिरहेको कुरा मात्र होइन घरमा दाजुको अबस्था त्यस्तो छ आदि के के सम्झे सम्झे । नभन्दै एक दुइ जनाले ठोक ठोक भन्दै थिए अनि केहीले गाडी भित्र हेरेर ए मिडियाकै साथी हुनुहुदो रहेछ भन्दै जानुस जानुस भने अनि लामो सास फेरें । चोक कटेपछि नयां जीवन पाएको अनुभुति गरे ।

    इमान्दारितापूर्वक पत्रकारिता गर्नेलाई समयमा चिनिदो रहेछ भन्ने पनि महसुस भयो त्यो घटना र संघीय संसद जलिरहेको बेला भित्रै प्रदर्शनकारीले यी मिडिया पनि झोले त होइनन् भनी लगाएको भन्दै थिए अनि गाडी भित्रै आखाको तारो र आफनै आखा अगाडि ती अबोध युवाहरु ढलेको झल्को अहिले पनि दिमागमा घुमिरहेको छ । मिति नाघेका अश्र्रुग्यासको प्रहारले आखामा पानी छम्किैदै रिपोर्टिङ्ग गर्दा कतिपय बेला आफैलाई पनि कतै केही त हुने होइन भन्ने हुन्थ्यो नै । तर अरुको भन्दा कमजोर होइन थप राम्रो सामग्री लिने ध्येयको हुटहुटी पहिले देखिको थियो र यस पटक पनि स्रोत साधनले भ्याए सम्म कमी हुन दिइएन ।

    फिल्डमा म सहित साथीहरु युवगाहा मगर, चन्द्र धामी, दिनेश लोहनी, जेपी श्रेष्ठ, बिजेश शाक्य सहितको टिम लागेका थियौं । अफिसमै रहेर भूमिका खेल्ने साथीहरुको योगदान पनि उत्तिकै थियो । हरेक अभाव बिर्सिएर ज्यानको वाजी थापेर पत्रकारले जस्तोसुकै अफ्ट्यारोमा पनि भूमिका निर्बाह गर्ने गरेका छन् । पहिलो दिनको कहाली लाग्दो सरकारी हस्तक्षेपवाट अन्तरराष्ट्रिय समुदायले गंभीर चिन्ता मात्र गरेन सरकारले चरम मानब अधिकार उल्लंघन गरी कालो दिनको रुपमा परिणत गरायो भनी सरोकार राख्यो पनि । तर सरकारलाई त्यसले छोएन । सत्तासाझेदार दल नेपाली कांग्रेसका पदाधिकारीको दबावमा गृहमन्त्री सम्मले राजीनामा त दिए तर पश्चाताप भने गरेनन् । सत्तामा गएपछि यथार्थ पक्ष कुनै पनि ब्याक्तिले पनि भूल्दो रहेछ भन्ने यो घटनाले पुनः साबित गरेको छ ।

    पहिलो दिनको घटनाले आम नागरिक , युवा बिद्यार्थीहरुको रगत यति तात्यो कि त्यस दिन राति शायद कोही पनि सुत्न सकेनन् । तर राज्यको नेतृत्व गरेकाले माफी मागेर राजीनामा दिनुको साटो उल्टै उडाउने काम गरे । अहं घमण्ड र दम्भले सीमा नाघेको झल्को स्पष्ट देखिन्थ्यो । अहं र घमण्डले यो खालको वीऊ रोपेकै हो । एकातिर अबोध बालक बालिकामाथि चरम दमन अर्कोतिर सरकारको बहुलट्ठीपनको कारण दोस्रो दिन युवाहरु मात्र होइन अभिभावक पनि देशब्यापि रुपमा सडकमा उत्रिए । जेनजी समूहले आह्वान गरेको प्रदर्शनमा अन्य नदेखिने शक्ति पनि मिसियो । अनि संघीय संसद भवन, सिंहदरवार, सर्बोच्च अदालत सहित अन्य अदालत, राष्ट्रपति भव, प्रधानमन्त्री निवास, मन्त्री निवास, राष्ट्रिय उद्योगहरु, पांचतारे होटल, अन्य महत्वपुर्ण सरकारी कार्यालय, पार्टी कार्यालय, नेताका घर मात्र होइन, प्रहरी चौकी माथि चार घण्टाको वीचमा ध्वंस हुने गरी आगो मात्र लगाइएन कि तोडफोड पनि गरियो । भेटिएसम्मका नेतालाई कुटने काम पनि भयो । नेपाली सेना सहितका सुरक्षा निकायको अगाडि संसद भवन जल्यो, सिंहदरबार जल्यो, सर्बोच्च अदालत ध्वस्त भयो । सिंहदरवार र सर्बोच्च अदालत सहित महत्वपूर्ण सरकारी कार्यालय ध्वस्त मात्र होइन देशको इतिहास नै खरानी भएको छ ।

    प्रधानमन्त्री निवास, नेपाली सेनाको परमाधिपति राष्ट्रपति कार्यालय समेत ध्वस्त हुंदा सुरक्षा निकायले किन जोगाउन सकेन । स्वभाविक रुपमा गंभीर प्रश्न अहिले पनि सर्बत्र छ । प्रधानमन्त्री, मन्त्रीहरु भगाभाग हुन थालेपछि बल्ल प्रधानमन्त्रीको राजीनामा आयो । समयमै संकटकाल घोषणा गर्न सिफारिश गरेर राजीनामा दिएको भए यो क्षति नेपाली सेनाले हुन दिने थिएन । प्रहरीलाई हतियारले सुसज्जित र बलियो नबनाउने, नेपाली सेनालाई निर्णय गरेर आदेश नदिने अनि आफनो अकर्मण्यता ढाकछोप गर्न दल र नेताहरु लागेको प्रति आफनो गंभीर ध्यानाकर्षण भएको सबद्ध पक्षले जिम्मेवार निकाय समक्ष राखेको दावी पनि छ ।

    सत्तामा गएपछि सामदाम षडयन्त्र चलखेल पनि नछोड्ने, पार्टीको नेतृत्वमा पुगेपछि हिड्न सकुञ्जेल हस्तान्तरण गर्न नखोज्ने प्रबृत्तिले पनि आम नागरिकहरु वाक्क दिक्क भएका थिए् । अहिले यो संकटको घडीमा पनि मूल नेतृत्वमा अब हामी नेतृत्वमा बस्दैनौ अभिभावक भएर युवा पुस्तालाई हस्तान्तरण गर्छौ भन्न नसक्ने कस्तो नृलिप्तता हो । कस्तो घमण्ड हो । आज भागेर सुरक्षा निकायको शरणमा बस्नुपर्छ भन्ने यिनीहरुले सोचेका थिए त ? दुइ दिन त्यो ४० घण्टामा यो खालको बिध्वस र निर्दोष युवाको हत्या नेपालमा त के बिश्वमै यस्तो भएको थिएन ।

    देशको सार्वजनिक संपत्ति खरानी भएको छ खर्बोैको नोक्सान भएको मात्र होइन फेरि देश धेरै बर्षका लागि पछाडि परेको छ । प्रदर्शनकारीको माग अनुरुप संसद बाहिरवाट सरकार त बन्यो तर संबिधान र कानूनको ढोका के हुन्छ ? भाद्र २४ गते नरसंहार भएपछि रातिदेखि नेपाली सेनाले संयोजनकारी भूमिका निर्वाह गरयो र सर्बोच्च अदालतका पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री नियुक्त भएपछि सेना ब्यारेक फर्किएको छ । अर्थात सेनाको समन्वयमा शान्ति कायम गर्ने प्रयास भयो । ।

    यो सकारात्मक पक्ष हो तर प्रदर्शनको दोस्रो दिन पनि करफूयू त थियो तर लाखौ जनता सडकमा उत्रिए, जेलहरु पनि तोडिए । जनता ओर्लिएपपछि कसैको केही लाग्दैन र बिद्रोहले संबिधान ऐन कानून जान्दैन भनेको पनि यहि हो । तर पनि नेपाल रहे मात्र हाम्रो शीर ठाडो हुने हो हामी नेपाली हौ गौरव गर्ने पनि नेपाल रहेमा न हो त्यसैले नेपाललाई अब नयां संरचनामा लगेर पूर्ण रुपमा परिवर्तन गर्नृपर्छ ।

    त्यसैले जिम्मेवार ठाउंमा बसेका जोकोहीले समयमा सचेत भएर नागरिक र देशको पक्षमा काम गर्नुपर्छ भन्ने कुरा अब त हेक्का राख्छन् कि ।परिवर्तनले अबको बाटो प्रत्यक्ष निर्वाचित कार्यकारीको नेतृत्वमा मुलुक संचालन गर्ने गरी चुनाब गर्नुपर्छ । भ्रष्टहरुलाई कारबाही गर्ने  भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोडेकाहरुवाट खोसेर ध्वंस भएका संरचना पुननिर्माणमा लगाउनुपर्छ । कार्यशैलिमा आमूल परिवर्तन आबश्यक छ त्यहि नै युवाहरु र आम नागरिकहरुको माग हो यो मुलुकले थेग्न नसक्ने संरचना खारेज गरी आम नागरिकहरुको चाहना अनुसार अगाडि बढ्नुको बिकल्प छैन । अन्यथा बिद्रोहको आगोे निभ्ने छैन ।

    tanka.panta@gmail.com

    प्रतिकृया दिनुहोस्