
ईश्वरी थापा
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनाद श्रेष्ठले युवाहरुले सस्तो लोकप्रियताका लागि जे गरेपनि हुन्छ भन्ने मानसिकता त्याग्नु पर्ने बताउनुभएको छ । जिफन्ट राष्ट्रिय युवा कमिटीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले युवाहरु न्याय र सत्यको पक्षमा निरन्तर समर्पित हुनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष श्रेष्ठले संसारमा भएका हरेक परिवर्तन युवाद्वारा नै सफल हुने गरेको बताउनुभयो । नेपालको श्रम बजारमा देखिएको चुनौतीहरुलाई सामना गर्न युवा श्रमिकहरु समर्पित भएर लाग्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले विश्वका ऊर्जाशील ख्यातिप्राप्त युवाहरु तथा नेपालमा विशिष्ट योगदान गर्ने ४० जना व्यक्तित्वहरुको जानकारी गराउँदै सिपमुलक युवामुखी रोजगार र उद्यमशीलतामा जोड दिनुभयो ।
युवा अध्यक्ष विके श्रेष्ठले अन्तर्राष्ट्रिय युवा दिवसको बारेमा जानकारी गराउनुभयो । विकेश खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा निरोज घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिफन्ट उपाध्यक्ष, सचिव, तथा २३ घटकलगायत वागमती प्रदेशका युवाहरुको उपस्थिति थियो ।












