
ईश्वरी थापा
काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) मा आवद्ध राइडर्स यूनियन नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी युनियनले दोस्रो स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले सहरी क्षेत्रमा राइडर्स लोकप्रिय हुँदै गएको बताउनुभयाे । उहाँले डिजिटल प्रविधि र आधुनिक यातायात प्रणालीको विकाससँगै राइडर्स पनि स्थापित हुँदै गएको बताउनुभयाे । राइडर्सलाई व्यवस्थित गर्न नसकेको गुनासो भइरहेकाले यसतर्फ सरकार तथा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

अध्यक्ष श्रेष्टले डिजिटल प्लेटफर्म श्रमिकहरुको कानूनी मान्यता र सुरक्षाका लागि जिफन्ट प्रष्ट र प्रतिवद्धताका साथ सक्रिय रुपमा लागि पर्ने बताउनुभयो । उहाँले टुटल, उफर, पठाओ, इन्ड्राइभ, याङ्गो, झुमझुमलगायतमा कार्यरत श्रमिकलाई श्रमिक अधिकार, सामाजिक सुरक्षा, पारिश्रमिककाे स्थायित्व, स्वास्थ्य बीमालगायतमा जिम्मेवार बनाउने चुनौतीलाई लागु गर्न संगठनको शक्ति बलियो हुनु पर्नेमा जोड दिनुभयो ।
राइडर्स यूनियन नेपालको केन्द्रीय अध्यक्ष माधव पाण्डेले डिजिटल प्लेटफर्म श्रमिकहरुको हकहितका लागि वर्षौदेखि आन्दोलन गरी सांगठनिक यात्रामा अग्रसर भएको बताउनुभयो । संगठनमा आवद्ध नयाँ पिँढीलाई अग्रजको योगदान स्मरण गर्ने र भविष्यको रणनीति निर्माण गर्ने महत्वपूर्ण अवसर भएको उहाँको भनाइ छ ।

सन्तोष खतिवडाको सञ्चालन रहेको कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्मा, उपाध्यक्ष विदुर कार्की, जितेन्द्र श्रेष्ठ, सीता लामा, जिफन्ट सचिवहरु, मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष तुलसी सिवाकोटी, २३ घटक यूनियनका पदाधिकारीहरु, राइडर्स सदस्यहरु लगायतको उपस्थिति थियो ।










