News Portal

  • सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा स्रष्टासहित विभिन्न १८ व्यक्तित्व सम्मानित

    जनभेट संवाददाता२०८२ साउन १३
    ५५३ पटक

    –ईश्वरी थापा
    ललितपुर । सिद्धिश्वरमान अक्षलोक साहित्यक केन्द्रद्वारा स्रष्टासहित विभिन्न १८ व्यक्तित्व सम्मानित भएका छन् । केन्द्रले आइतबार पुल्चोक क्याम्पसमा आयोजना गरेको अक्षलोक साहित्यक पत्रिकाको ६८ औँ श्रृङ्खलाको लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रममा विभिन्न १८ जना व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

    केन्द्रले यस वर्षको सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी स्वास्थ साधक सम्मानद्वारा डा. भगवान कोइरालालाई सम्मान गरेको छ । त्यस्तै, सर्वोत्कृष्ट शताब्दी साहित्य साधक सम्मान राम बिनयलाई, २० हजार नगद राशिको सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार बेल्जियम नागरिक रोजर द ग्रुन तथा २० हजार नगद राशिको सिद्धिश्वरमान महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार प्रा.डा. भानुचन्द्र बज्राचार्यलाई प्रदान गरेको छ ।

    त्यसैगरी, ११ हजार एक सय ११ नगद राशिको सिद्धिश्वरमान-मिलन मुक्ति आजीवन साहित्य साधना पुरस्कार श्री लालबहादुर भुजेल तथा सिद्धिश्वरमान-विष्णुकुमार अग्रवाल उत्कृष्ट साना उद्दमी पुरस्कार निष्ठा कायस्थलाई प्रदान गरेको छ ।

    त्यस्तै, नेपाली पत्रकारिता क्षेत्रमा तीन दशकदेखि निरन्तर क्रियाशील (श्रृङ्खला साहित्यिक मासिक एवं स्टार एक्सप्रेस  साप्ताहिकका सम्पादक/प्रकाशक) वरिष्ठ पत्रकार प्रविण जाेशी,  सत्वा माइण्ड क्लिनिककी निकिता प्रधान, छहारी कृषि एकल महिला फर्मकी सबिता महर्जन, उत्प्रेरणामूलक संस्था सम्मान भीम विराग संगीत कला प्रतिष्ठान हेटाैँडालगायत १८ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

    केन्द्रले विगत वर्षहरुमा गर्दै आएको सम्मान तथा पुरस्कार वितरणलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दिवंगत सिद्धिश्वरमान श्रेष्ठ प्रगतिवादी साहित्यका प्रखर व्यक्तित्व भएको बताउनुभयो । साहित्यकार सिद्धिश्वरमान श्रेष्ठले सामाजिक रुपान्तरणका लागि लेखनमार्फत् महत्वपूर्ण योगदान दिनुभएको मन्त्री दाहालको भनाइ छ ।

    मन्त्री दाहालले समाज रुपान्तरण गर्न मानिसको स्वभाव, गास, बास, कपास, स्वास्थ–शिक्षा, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनको धरातलबाट माथि उठ्नु जरुरी भएको बताउनुभयो । उहाँले सिद्धिश्वरमान श्रेष्ठले सामान्य जीवनस्तरबाट माथि उठेर वैचारिक धारा निर्माण गर्नुभएको बताउनुभयो ।

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले समाज परिवर्तनका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याउन सफल सम्मानित व्यक्तित्वहरुमा आभार व्यक्त गर्दै स्वास्थ्य राम्रो राख्न सकियो भने समाजमा काम गर्न सकिने बताउनुभयो । पहिलो प्राथमिकता आफ्नो स्वास्थ्य राम्रो बनाउने हुनुपर्ने उहाँको भनाइ छ ।

    कार्यक्रममा वरिष्ठ लेखक वासुदेव अधिकारीले सिद्धिश्वरमान श्रेष्ठलाई शिक्षा, स्वास्थ, प्राज्ञिक क्षेत्र, विचार प्रधान, सामाजिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभयो ।

    सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रकी संरक्षक डा. सावित्री श्रेष्ठले संस्थाबारे संस्थाका बारेमा जानकारी दिनुभएकाे थियो । बुद्धीजीबी, प्राज्ञिक क्षेत्र, समाजसेवी, पत्रकार, उद्योग क्षेत्र, स्वास्थ क्षेत्र, नाट्य प्रतिष्ठान, लेखक, गीतकारलगायत प्रतिष्ठित व्यक्तिहरुको उपस्थित रहेको कार्यक्रममा स्वर्णिम श्रेष्ठले कविता वाचन गर्नुभएको थियो भने सन्देश पौडेलले गीत प्रस्तुत गर्नुभएको थियो ।

    डा. चन्द्रबहादुर केसी र स्वर्णिम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता इञ्जिनियर स्वजन स्वराज शाक्यले गर्नुभएको थियो।

    कार्यक्रममा अक्षलोक साहित्यक पत्रिका २०३७ सालदेखि प्रकाशित भइरहेको जानकारी दिइएको थियो ।

     

    प्रतिकृया दिनुहोस्