
काठमाडौं । नयाँ हाँस्य शृङ्खला ‘गावैँ रमाइलो’ लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात अघिको बिहीबारदेखि शुरु भएको सो सिरियल सातौँ भागसम्म आउँदा धेरै दर्शकले मन पराउन थालेका हुन् ।
हरेक बिहीबार साँझ आउने सिरियल हेर्नेको ग्राफ बढ्दै गइरहेको निर्देशक नेत्र राउतले बताएका छन् ।
सातौँ भागमा ट्विष्ट आएपछि दर्शकहरुलाई आठौँ भाग कस्तो होला भनेर प्रतिक्षा गर्न उत्साहित बनाएको छ । सातौँ भागमा भर्खरै जेलबाट छुटेका सुवास घिसिङ ‘सुन पहेँले’ सँग नविना सिलवाल ‘खुइली’ बिहे गर्न राजी हुन्छिन् । तर, जब खुइलीको साथीको भूमिकमा पत्रकारको इन्ट्री हुन्छ । त्यसपछि बिहेको लागि तयार भएको खुइलीलाई धोका दिन्छिन् । ‘सुनपहेँले’ खराब हुन् भन्दै खुइलीलाई भड्काउँछन् । अन्तिममा पत्रकारले नै ‘सुनपहेँले’ सँग बिहे गर्छिन् । अनि तनावमा खुइली ।
यो सिरियलले सामाजिक कथा तथा राजनीतिक विषय वस्तुमाथि तीखो व्यङ्ग्य गर्ने कमेडी ड्रामामा आधारित सिरियल रहेको निर्देशक राउतको भनाइ छ । ‘सातौँ भागसम्म आउँदा दर्शकले अत्यधिक मन पराइदिनु भएको छ, हाम्रो मिहिनेत अझै जारी छ,’ निर्देशक नेत्र राउत भन्छन्, ‘हाँस्य-व्यङ्ग्यलाई अझै परिस्कृत गरेर आगामी शृङ्खला ल्याउने तयारी छ।’
हाँस्य चलचित्रले विभिन्न कारण तथा सामाजिक समस्याका कारण गाउँबाट टाढिएका युवा-पिढी तथा अन्य त्यस्तै व्यक्तिहरूलाई गाउँ फर्किन प्रेरित गर्ने उद्देश्य राखेको छ। यो टेलिचलचित्रमा नेपालमा चर्चित हाँस्य कलाकारहरूको उपस्थिति रहेको छ। यस सिरयलमा वरिष्ठ कलाकार देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मण विक्रम बस्नेत, सुरेश थापा, विनोद राई, नविना सिलवाल, नेत्रविक्रम खड्का, सुभाना राई र कृशला तामाङ लगायतको अभिनय देख्न सकिन्छ।
शृङ्खलामा स्वर, शब्द तथा संगीत नवीन रावलको रहेको छ। यस्तै, मिक्सिङ किस्मत स्टुडिओले गरेको छ। पार्श्व ध्वनी सुविन सेन्चुरीले दिएका छन्। आइटी सपोर्टरमा विशाल राई, निर्माण नियन्त्रकमा सुजन गिरी रहेका छन्। सम्पादन राजकुमार कार्कीले गरेका छन् भने छायांकन ज्ञानकुमार कट्टेलले गरेका छन्।
थापाले यसअघि ‘लोडसेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’लगायत थुप्रै हाँस्य टेलिचलचलित्र ल्याएका थिए। ती हाँस्य टेलिचलचित्रहरू नेपाली समाजमा लोकप्रिय बनेका थिए। टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा हुन् भने ‘गावैँ रमाइलो’ नामक हाँस्य शृङ्खलाको निर्मातामा नदिश मानन्धर रहेका छन् । उनीहरूको यो नयाँ टेलिफिल्म हरेक बिहीबार बेलुका साढे ७ बजे युटुबमार्फत् प्रसारण भइरहेको छ।









