-ईश्वरी थापा
काठमाडाै । लैगिकहिंसाविरुद्ध १६ दिने अभियान सन्दर्भमा महिला हिंसाविरुद्ध सँगसँगै भन्ने नारासहित अखिल नेपाल महिला केन्द्रीय कमिटीले मंसिर २५ गते काठमाडाैमा वाकथान कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रम अखिल नेपाल केन्द्रीय कमिटी अध्यक्ष टुक हमालको नेतृत्वमा सम्पन्न भएको हो ।
अभियान कार्यक्रमलाई सम्बोधनको क्रममा अध्यक्ष हमालले विगतका दिनको स्मरण गर्दै पहिले पहिले मेलापात, कार्यथलो, हाट बजारमा हिंसा हुने गर्दथ्यो भने परिवर्तित युगमा सामाजिक सञ्जालमार्फत् हिंसा बढिरहेकाे बताउनुभयो । १६ दिने अभियानको सुरूवातमा खेलाडीसँगको अन्तरक्रिया, खेलाडीलाई सम्मानलगायत देशैभर पालिका नगरपालिका प्रदेश कमिटीबाट पनि समाजमा घटिरेहेका र घट्न सक्ने हिंसालाई न्यूनीकरण गर्ने उदेश्यले निरन्तरता दिएको र ८ मार्चमा पुगेर मात्र यो अभियानले विश्राम लिने जानकारी गराउनुभयो ।
अध्यक्ष हमालले हाम्रा सूचनामूलक गतिविधिबाट समाजलाई झकझकाउन र सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न चाहेको बताउनुभयो ।
नेपाल कम्युष्टि पार्टी एमाले केन्द्रिय स्थायी कमिटी सदस्य, कार्यक्रमको प्रमुख अतिथि तथा इञ्चार्ज सीता पौडेलले समाजमा सदिऔंदेखि जरा गाडेर बसेको महिला हिंसालाई अन्त्य गर्न अनेमसंघको स्थापना कालदेखि नै आन्दोलनलाई दिएको निरन्तरताले सम्भब भएको बताउनुभयो । आन्दोलनको परिणाम स्वरुप ३३ प्रतिशतको मुद्दा, आमाको नामबाट नागरिकता, राज्यको हरेक निकायमा प्रतिनिधित्व लगाएतका मागहरु पुरा गर्नेदेखि अधिकांश महिला अधिकार संविधानमा लेखाउन सफल भएको बताउनुभयो ।
अनेमसंघ केन्द्रिय कमिटी कला, साहित्य, सांस्कृतिक तथा खेलकुद विभागले बन्धक शिर्षकमा दुई वटा सडकगीति नाटक प्रस्तुत गरेको थियो । ती दुई मध्ये पहिलो प्रस्तुतिमा विभागकी सचिव प्रतिभा पुनको पटकथा लेखनमा विभागकी प्रमुख रञ्जु पोखरेल र सचिव प्रतिभा पुनको पट संवाद तथा जनवादी गायिका लक्ष्मी गुरुङ (निर पवन) को शब्द संगित रहेको नरोउन धर धरी नामक गितमा कलाकार केशु पुनमगरको जिवन्त अभिनय रहेको थियो ।
त्यसैगरी दोस्रो प्रस्तुतिमा हिसन समालको शब्द र संगित तथा कुस्मित दर्लामीको स्वरमा गाईएको घर न घाटको नामक गितमा विभागकी सदस्य लक्ष्मी गुरुङको पट कथा लेखन र उनकै पट संम्बादमा कलाकारहरु लक्षु थापामगर, बबिता थापामगरको जिवन्त अभिनय रहेको थियो । दुबै गीत नाटकको पट संम्बाद सम्पादन हेमराज पुन मगरले गर्नु भएको थियो । आफू पनि हिंसा नगर्ने हिंसा पनि नसहने भन्ने मूल संन्देशसहित यस गिती नाटकको मञ्चन गरिएको थियो ।
अनेमसंघको केन्द्रीय कमिटी महासचिव पेम्वा लामाले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरु, प्रदेश र जिल्लाका अध्यक्ष, पदाधिकारीहरु इञ्चार्ज लगायत सदस्यहरुको बाक्लो उपस्थित रहेको थियो ।