News Portal

रोटरी क्लबद्वारा विद्यालयमा महिलामैत्री शाैचालय निर्माणकाे शिलान्यास

जनभेट संवाददाता
१७६ पटक

नुवाकोट । विद्यालयमा छात्रामैत्री शौचालयको अभावले गर्दा छात्रा कञ्चन तामाङ प्रत्येक महिना तीन चार दिन घर नजाँदासम्म बाथरुम जान सक्तिनन् । महिनावारी हुँदा पुरुष र महिलाको एउटै शोचालयमा जान महिलाहरुलाई निकै अफ्ट्यारो लाग्ने गरेको छात्रा कञ्चन तामाङ भन्छिन्।

महिनावारी भएको समयमा साह्रै नै गाह्राे भएमा बाहेक छात्राहरुलाई सकेसम्म बाथरूम जान नपरे हुन्थ्याे भन्ने तनाबमा दिन बित्ने गरेको हुन्छ । कक्षा कोठामा शिक्षक शिक्षिकाले अध्यापन गराइरहेका हुन्छन् तर आफ्नो ध्यान अर्कैतिर हुने गरेको छात्रा कञ्चन बताउँछिन् । यो पीडा छात्रा कञ्चनको मात्र नभएर  महिलामैत्री शौचालय नभएका अधिकांश विद्यालयका छात्रा र शिक्षिकाहरुको पीडादायी अवस्था रहेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका वाडं ६ स्थित समुन्द्रा माध्यमिक विद्यालयका छात्रा र शिक्षिकाहरुले  महिलामैत्री शौचालय नभएका कारण निकै सास्ती भोग्नुपरेको जानकारी प्राध्यानाध्यापक महेन्द्र ढकालले जानकारी गराएपछि रोटरी क्लब अफ काठमाडौं डाउनटाउनका सदस्यहरुले आफै सहयोग रकम उठाएर विद्यालयमा महिला मैत्री शौचालय निर्माण गरिदिने भएका छन् ।

महिलामैत्री शौचालय शिलान्यास कार्यक्रममा कञ्चन तामाङले अहिलेसम्म छात्रामैत्री शौचालय नभएका कारण पाएको पीडा बताउँदै अहिलेको अबस्थामा पनि  कैयौँ विद्यालयमा महिलामैत्री शौचालय नभएका कारण पीडा सहनुपरेको छ भन्दा आफैलाई लाज लाग्ने गरेको बताउँछिन् ।

महिनावारी भएको समयमा यसै पनि निकै पीडाका साथ कक्षामा बस्नुपर्छ भने शिक्षिकाले त्यस्तै पीडासहित धेरै सचेत भएर उभिएर पढाउनुपर्छ। एक शिक्षिका भन्छिन्– ‘महिनावारी भएको बेला  छात्राहरु कतै दाग देखिन्छ कि भनेर बेन्चबाट उठ्न नपरे हुँदो हो भन्ने ठान्छन् भने शिक्षिकाहरु पनि त्यत्तिकै सचेत भएर पढाउन जान्छन्, त्यस्तो अबस्थामा महिलामैत्री शौचालय नहुँदा समयमा बाथरुम गएर आबश्यक सचेतना अपनाउन पनि नसकिने अबस्था  छ ।’

आफ्नो स्कुलमा महिलामैत्री शौचालय नभएको अबस्थामा रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले काठमाडौंबाट नुवाकोटमासम्म आएर महिलामैत्री शौचालय निर्माण गरिदिन लागेकोमा शिक्षिका गीता पुडासैनीले खुशी ब्यक्त गरेकी छिन् ।

क्लबका अध्यक्ष स्थानेश्वर रेग्मी, चार्टर प्रेसिडेण्ट श्यामबहादुर पराजुली, बरिष्ठ पत्रकार टंक पन्त, क्लबका सचिव शम्भु उप्रेती, अमुलचन्द्र प्रधान र प्रकाश दर्जी एवं शिवपुरी गाउँपालिका वार्ड ६ का वडाध्यक्ष बिष्णु श्रेष्ठ, समुन्द्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र ढकालले संयुक्त रुपमा महिलामैत्री शौचालयको शिलान्यास गरेका छन्।

तीन महिनाभित्र सम्पन्न गर्ने उद्देश्यका साथ निर्माण कार्य प्रारम्भ भएको महिलामैत्री शौचालयका लागि रोटरी क्लबका डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुको पनि बिशेष सहयोग रहेको बताइएको छ । डिष्ट्रिक गभर्नर ध्वजुले नुवाकोटको समुन्द्रा माविमा बन्ने महिला मैत्री शौचालयले त्यहाँका छात्राहरु र शिक्षिकाले भोग्दै आएको पीडामा मल्हम लगाउने काम गर्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।

शिवपुरी गाउँपालिकाका–६ का वार्डअध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षतामा भएको महिलामैत्री शौचालय शिलान्यास समारोहमा रोटरी क्लब अफ काठमाडौं डाउन टाउनका अध्यक्ष स्थानेश्वर रेग्मी, प्रधानाध्यापक महेन्द्र ढकाल लगायतले   बोल्नुभएको थियो ।

स्मरणीय छ, राजधानी काठमाडौँसँग जोडिएको नुवाकोटका ७० प्रतिशत विद्यालयमा महिलामैत्री शौचालय छैनन् । महिलामैत्री शौचालय नहुँदा छात्राहरुलाई  महिनावारीको समयमा मात्र अफ्ट्यारो हुने नभई इन्फेक्सन समेत हुने गरेको छ ।

महिलामैत्री शौचालय नभएकै कारण पनि कैयौँ महिलाहरु इन्फेक्सनको समस्या लिएर अस्पताल आउने गरेको   स्त्रीरोग बिशेषज्ञ डा रुपमा झा बताउनुहुन्छ । बिभिन्न समस्या लिएर उपचार गराउन आउने  महिला एवं छात्राहरुमा अनेक इन्फेक्सन हुने गरेको देखिने गरेको डा रुपा झाले बताउनुभएको छ ।

महिनावारीको समयमा मात्र होइन शौचालय फाेहाेर भएमा अर्थात् महिलामैत्री शौचालय भएन भने त्यसले महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने हुन्छ भन्ने कुरालाई राज्यले बिशेष ध्यान पुर्याउनु पर्ने तर त्यो सचेतना अपनाएको पटक्कै पाइँदैन, स्त्रीरोग बिशेषज्ञ डा रुपा  झा थप्नुहुन्छ, ‘महिलाको स्वास्थ्यमा खेलवाड गर्नु भनेको परिवारमा नै थप तनाब बढाउनु हो ।’

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्