News Portal

  • आउटसोर्सिङ र करारमा कार्यरत श्रमिकहरु सबैभन्दा बढी जोखिममा : अध्यक्ष श्रेष्ठ

    जनभेट संवाददाता२०८३ जेठ १३
    ६९ पटक

    ईश्वरी थापा
    काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) तथा आईटीयुसी–न्याकका अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकहरुले सामना गरिरहेका विभिन्न समस्यामध्ये अधिकारको दृष्टिकोणले आउटसोर्सिङ र करारमा कार्यरत श्रमिकहरु सबैभन्दा बढी जोखिममा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल समन्वय परिषद् (आईटीयुसी –न्याक) द्वारा काठमाडौमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    अध्यक्ष श्रेष्ठले श्रमिक आन्दोलनको महत्वपूर्ण उपलब्धीका रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई उल्लेख गर्दै अध्ययनले प्रस्तुत गरेका सिफारिसहरु कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

    एन्टीयुसीका उपाध्यक्ष गणेश केसीले अध्ययन विश्लेषणका मुख्य विषय बस्तुमाथि प्रकाश पार्दै श्रमिकहरुको वर्तमान अवस्था र चुनौतीबारे आफ्नो विचार व्यक्त गर्नुभयो ।

    त्यसैगरी, अण्टुफका जगत सिंखडाले ट्रेड युनियन आन्दोलनका कमीकमजोरी तथा आगामी दिनमा अपनाउनुपर्ने सहकार्यका विविध पाटाबारे जानकारी दिनुभयो । जिफन्ट महासचिव लक्ष्मण शर्माले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाको आवश्यकता, महत्व तथा अहिलेसम्मका तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

    एन्टीयुसी, जिफन्ट र अण्टुफका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा डीटीडीएका प्रतिनिधि जमालले बदलिदो परिस्थिति अनुसार नयाँ ढङ्गले अघि बढ्न दक्षिण एशियाका साझेदार संस्थाहरु पनि उत्साहित रहेको बताउनुभयो ।

    कार्यक्रममा आउटसोर्सिङ मार्फत करारमा काम गर्ने श्रमिककहरुको अवस्था, पहिचान, उनीहरुले भोगिरहेका समस्या तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन सम्बन्धी अध्ययनमाथि प्रभावकारी छलफल गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्