
-अधिवक्ता यमुना थापा
लामो समयपछि पुस्तकका बारेमा शब्दहरू कोर्दै छु। कहिलेकहीँ सोच्छु- कैयौँ पुस्तकहरू पढिसकेँ। अब धेरै पढ्न बाँकी छैन होला। फेरि जब कुनै नयाँ पुस्तक हातमा राखेर पढ्न थाल्छु, सोच्छु- मैले त केही पढेकै रहेनछु। अझै पढ्नुपर्ने, जान्नुपर्ने कैयौँ कुराहरू बाँकी रहेछन्। यही क्रममा वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले जीवन, सङ्घर्ष अनि आफ्ना अनुभवलाई समेटेर लेख्नुभएको पुस्तक ‘अन्तर्य : एक सङ्घर्षशाली जीवनको कथा’ पढ्न शुरु गरेँ।
पुस्तक पढेर सकेपछि ती किताबका शब्दमा यसरी हराएँ कि ती शब्दहरूले मेरो मन–मस्तिष्कमा गहिरो गरी समाउन पुगे। यसै पनि मलाई शब्दहरू खुबै मन पर्छन्। त्यो पुस्तक पढिसकेपछि वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीलाई ‘साहित्यकार हरिप्रसाद उप्रेती’ भनेर सम्बोधन गर्न मन लाग्यो। पुस्तक सजिलो छ, बुझ्न सकिने छ। कहीँ कतै अल्झिन मन लाग्दैन, कहीँ कतै पत्यार लाग्दैन र कहीँ कतै पुस्तकलाई छोड्न मन लाग्दैन। लेखकले आफ्नो जीवनका हरेक अवस्थालाई पूर्ण इमान्दारिताका साथ यस पुस्तकमा उतार्नुभएको छ।
ताप्लेजुङको विकट गाउँमा जन्मिएर वरिष्ठ अधिवक्ता अनि नेपाल बार एसोसिएसनको उपाध्यक्षसम्मको जीवन भोगाइमा आएका पारिवारिक, सामाजिक र पेशा–व्यवसायका उतारचढावलाई लेखकले ठूलो सुन्दरताका साथ पुस्तकमा प्रस्तुत गर्नुभएको छ। एउटा सामान्य विद्यालयमा पढेर न्याय क्षेत्रको आकाशलाई अझ फराकिलो बनाउँदै त्यो आकाशमा आफू पनि चम्किनु र त्यो आकाशलाई पनि चम्किलो बनाउनु कुनै सामान्य कुरा होइन।
‘पञ्चामृत खाएपछि जन्मेको म’ भन्ने प्रसङ्गबाट पुस्तकको सुरुवात भएको छ। ताप्लेजुङको सामान्य गाउँबाट अक्षर चिन्ने आरम्भ गरेका लेखकले पछि बसाइँ सरेर झापाको सुरुङ्गामा पुगेपछि झापाको सुरुङ्गा, तोपगाछी हुँदै राजविराज र पछि काठमाडौंमा आफ्नो अध्ययनको सिलसिला पूरा गर्नुभएको छ। लेखकले झापाको सुरुङ्गामा बिताएको बालापनदेखि युवावस्थासम्मको समयलाई र सुरुङ्गासँगको असीमित प्रेमलाई अत्यन्त सुन्दर र मार्मिक ढङ्गले पुस्तकमा प्रस्तुत गर्नुभएको छ।
जब–जब ‘मेरो सुरुङ्गा’ भन्ने परिच्छेदलाई पढ्न थालिन्छ, मन त्यसै त्यसै सुरुङ्गामा पुग्छ र लेखकसँगै सुरुङ्गाको सुन्दरतासँग रमाउन पुगिन्छ। अझ भनौँ, लेखकले पाठकलाई आफूसँगै सुरुङ्गा घुमाउन सफल हुनुभएको छ। लेखकको पितृप्रेम पनि अगाध छ। पितासँग अन्तिम पटक छुट्नुपर्दाको त्यो पीडा, त्यो छटपटी, त्यो कहिल्यै पूरा नहुने दुःख जसलाई पढ्दा मात्र पनि दुःखको बोध हुन्छ। मन भारी हुन्छ र आँखाहरू रसाउन थाल्छन्। यसरी पनि थाहा हुन्छ कि लेखकसँग कति कोमल हृदय रहेछ भनेर।
यस पुस्तकमाफर्त हामीलाई लेखकको सहयोगी भावना पनि ज्ञात हुन्छ। ‘मरेपछि खाली हात जानु छ, त्यसैले छोडेर जानुभन्दा दिएर जानु राम्रो’ भन्ने कुरालाई लेखकले आफ्नो पितापुर्खाको नाममा आफूले पढेको विद्यालयमा अक्षय कोष खडा गरी विद्यार्थीहरूलाई दिने गरेको छात्रवृत्तिबाट स्पष्ट हुन्छ। यसरी लेखक प्रेम, स्नेह, सद्भाव र अपनत्व बाँड्न पनि पछि पर्नुभएको छैन।

लेखक न्याय क्षेत्रमा कसरी आफू स्थापित हुन पुग्नुभयो र ‘कर्मचारीको मुद्दाका वकिल’ भनेर चिनिन कसरी सफल हुनुभयो भन्ने कुरा पनि निकै रोचक छ। जीवनको सङ्घर्षबाट नथाक्ने, नआत्तिने र आफूमा पूर्ण विश्वासका साथ आफ्नो काममा लागिपर्ने, अरूको नराम्रो नचिताउने र अरूको नराम्रो नगर्ने स्वभावका कारण लेखक आज कानुनको क्षेत्रमा परिचित हुनुहुन्छ।
बहुदलपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले कर्मचारीमाथि गरेको दमन र अत्याचारका विरुद्धमा लड्दा–लड्दै पनि सरकार पक्षले आफ्नो कुरा नसुनेको र बारम्बार अत्याचार गरेपछि कर्मचारी आन्दोलनलाई नेतृत्व गरिरहनुभएका लेखकले तत्कालीन सरकारविरुद्ध सरकार बाहिर बसेर लड्नका लागि आफ्नो आठ वर्षे जागिरे जीवनलाई राजीनामा दिई न्याय क्षेत्रमा कदम राख्नुभएको रहेछ। अतः लेखक यो क्षेत्रमा आफ्नो कदम जमाउन सफल मात्र हुनुभएन, आफूजस्ता अन्यायमा परेका कर्मचारीलाई न्याय दिलाउन पनि सफल हुनुभयो।
कर्मचारी जीवनलाई राजीनामा दिई न्याय क्षेत्रमा सक्रिय हुनुभएका लेखकले आफूले वकालत पेशामा प्रवेश गरेदेखि आजसम्म काम गर्दा आएका बाधा–अवरोध, आरोह–अवरोह अनि आफूलाई मिलेको सहयोगका बारेमा सिलसिलाबद्ध रूपमा लेख्नुभएको छ।
अर्को कुरा, लेखकले आफूले वकालत गर्दा सर्वोच्च अदालतका ‘न्यायाधीशहरूसँगको संयोग’ र ‘प्रधानन्यायाधीशहरूको प्रसङ्ग’ बारे लेखेका कुराहरू पनि यस पुस्तकका महत्वपूर्ण पक्ष हुन्। जुन न्याय क्षेत्रमा लागेका म जस्ता सिक्दै गरेका व्यक्तिहरूका लागि अत्यन्त उपयोगी छन्। लेखकले कहिलेकहीँ कस्ता–कस्ता मुद्दाको पनि प्रतिनिधित्व गर्नुपर्ने हुन्छ र त्यसको असर कस्तो हुन्छ भन्ने कुरालाई पनि यस पुस्तकमा प्रस्तुत गर्नुभएको छ। वकालत गर्ने क्रममा पक्षले न्यायलाई विश्वास नगरी मुद्दा छोड्न आग्रह गरेको र पक्षलाई थाहा नदिई आफ्नै खर्चमा मुद्दा लडेको, उक्त मुद्दा जितेपछि पक्षलाई खबर गरेको कुरा र यस्तै अन्य मुद्दाबारे पनि लेखकले यस पुस्तकमाफर्त उजागर गर्नुभएको छ।
लेखकले राष्ट्रपति रामवरण यादव हुँदा आफूलाई गरेको व्यवहार र विद्या भण्डारी राष्ट्रपति हुँदा गरेको व्यवहारबारे भिन्नता पाएको विषय पनि लेख्नुभएको छ। यो लेखकको व्यक्तिगत कुरा हो जस्तो लाग्छ किनकि एमालेप्रति गहिरो आस्था राखेर विद्या भण्डारीलाई २०५१ सालको चुनावमा राम्रो सहयोग गरेका कारण लेखकले उहाँबाट राम्रो सम्बन्धको अपेक्षा राख्नु स्वाभाविक कुरा हो जस्तो लाग्छ। लेखकले देशको तत्कालीन अवस्था अनि राजनीतिक पार्टीहरूले जनताप्रति गरेको घात र राजनीतिमा पुगेका ठूला व्यक्तिहरूले पनि जनताप्रति उत्तरदायी हुन नसकेको कुरामा जसरी कडा रूपमा प्रस्तुत हुनुभएको छ, त्यो सराहनीय छ।
पुस्तकको अन्त्यमा लेखकले ‘किनभने ऊ सर्वोच्चको न्यायाधीश हो’ भनेर जुन कथा लेख्नुभएको छ, उक्त कथा अहिलेको अवस्थाको सबैभन्दा वास्तविक कथा हो। उक्त कथाले न्याय र कानुनको क्षेत्रमा आस्था राख्ने सबैलाई छुन्छ र उनीहरूकै मनको कथा लेखेको आभास गराउँछ।
लेखकले सामान्य कुरालाई पनि यस पुस्तकमा सुन्दर र विशिष्ट तरिकाले प्रस्तुत गर्नुभएको छ। जब सामान्य कुराहरूले महत्व पाउँछन्, ती सामान्य रहँदैनन्। जब आम मान्छेका कुरा लेखिन्छन्, ती आम रहँदैनन्, ती खास बन्छन्। लेखकले ती हरेक आम कुरालाई आफ्नो लेखनीमार्फत खास बनाउनुभएको छ। यही एउटा दृष्टिको सुन्दर पक्ष हो। यसरी लेखकले आफ्नो लेखनीप्रति न्याय गरेको आभास हुन्छ र यो कुरामा लेखक कैयौँ हदसम्म सफल हुनुभएको छ।
आजको समयमा हरेकले आफ्ना कमी–कमजोरीहरूलाई लुकाउन, छोप्न, ढाक्न मात्र खोजिरहेका हुन्छन् र आफूलाई ठूलो देखाउन खोज्छन्। तर लेखकले पुस्तकलाई ऐनाजस्तै मानेर आफ्ना कमजोरीहरूलाई सम्पूर्ण रूपमा स्वीकार गर्दै आफूभित्रको ‘म’ लाई उजागर गर्दै उक्त पुस्तकलाई ऐना बनाउनुभएको छ, जुन पुस्तकको अर्को सुन्दर पक्ष हो।
अन्त्यमा, यो पुस्तक हरेकले पढ्न सुझाव छ। एउटा सामान्य मान्छेले कानुन र न्यायको आकाशलाई कति फराकिलो बनाएको छ र बनाउन सक्छ भन्ने कुरा पुस्तकबाट स्पष्ट हुन्छ। एउटा व्यक्तिले वर्षौँ खर्च गरेर हासिल गरेको अनुभवलाई एउटा पुस्तकमाफर्त जान्न पाउनु हाम्रो सौभाग्यको कुरा हो। जसका निम्ति लेखक बधाईका पात्र हुनुहुन्छ। यसरी आफ्नो जीवनको अनुभवलाई साझा गरेर लेखकले हामीप्रति जुन गुण लगाउनुभएको छ, त्यसका निम्ति लेखकप्रति धेरै–धेरै आभार व्यक्त गर्नु समुचित हुनेछ।











