News Portal

  • शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस

    जनभेट संवाददाता२०८२ जेठ २३
    ३९ पटक

    -आफताब अली
    रूपनगर नन्दराज संग्रौला क्याम्पसले शैक्षिक गुणस्तरमा गहकिलो फट्को मारेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त, सप्तरीको रूपनगरमा रहेको यो सामुदायिक क्याम्पसले एक दशक भन्दा लामो शैक्षिक यात्रामा यस वर्ष उल्लेखनीय प्रगति हासिल गरेको छ। विद्यार्थीहरूले यो क्याम्पसको इतिहासमा अहिलेसम्मकै उच्चतम् उपलब्धि हासिल गरेका छन्।

    भर्खरै प्रकाशित बिबियस दोश्रो वर्षको परीक्षाफलमा ६३ प्रतिशत नतिजा ल्याएर क्याम्पसले आफ्नो मात्र होइन त्रिभुवन विश्वविद्यालय समेतको औसत ४० प्रतिशतलाई उछिनेको छ।

    रूपनगर क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन संकाय अन्तर्गत् ‘ब्याचलर अफ बिजनेस स्टडीज’ (बीबीएस) कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    क्याम्पस प्रशासनले दिएको जानकारी अनुसार, विगतका वर्षहरूमा क्याम्पसको उत्तीर्ण दर सरदर ३० देखि ४५ प्रतिशतको बीचमा रहने गरेको तथ्याङ्क छ। तर, हालैका वर्षहरूमा, विशेष गरी २०८१ को नतिजाले क्याम्पसको शैक्षिक गुणस्तरमा उत्साहजनक सुधार भएको देखाएको छ।

    नतिजा विश्लेषण: उत्तीर्ण दर र प्रगति
    शैक्षिक सत्र २०७७ देखि २०८१ सम्मका विभिन्न वर्ष र तहका बीबीएस परीक्षाहरूको परीक्षाफलको तथ्याङ्कलाई कूल सहभागी विद्यार्थी, सबै विषयमा उत्तीर्ण हुने विद्यार्थी संख्या र उनीहरूको प्राप्ताङ्क समेतका आधारमा उत्तीर्ण दर गणना गरी यो विश्लेषण गरिएको छ।

    -शैक्षिक सत्र २०७७ मा पहिलो वर्षको ४२.९२ प्रतिशत उत्तीर्ण दर पछि २०७८ मा पहिलो र दोस्रो वर्षको नतिजा अत्यन्त कमजोर (२.२७% र १०%) रह्यो। यो अवधिमा शैक्षिक गुणस्तरमा ह्रास आएको देखिन्छ। यसो हुनुमा संभवत: अनियमित कक्षा, शिक्षण विधिको कमजोरी जस्ता कारण हुन सक्छन्।

    -शैक्षिक सत्र २०७९ मा परीक्षाफलमा थोरै सुधार देखियो। पहिलो वर्षको उत्तीर्ण दर १३.३ प्रतिशत, दोस्रो वर्षको २८.१३ प्रतिशत, र चौथो वर्षको ३५.५६ प्रतिशत पुग्यो।

    -शैक्षिक सत्र २०८० मा पहिलो वर्षको परीक्षाफल (४६.३६%) र दोस्रो वर्ष (३९.९३%) मा स्थिर प्रगति देखियो। त्यसै गरी तेस्रो वर्षको नतिजा (४१.४५%) र चौथो वर्ष ३८.७९ प्रतिशत नतिजा आएको तथ्याङ्क छ।

    -शैक्षिक सत्र २०८१ मा पहिलो वर्षको उत्तीर्ण दर ४७.५ प्रतिशतमा स्थिर रह्यो भने दोस्रो वर्षको उत्तीर्ण दर ६३ प्रतिशत पुगेर क्याम्पसको शैक्षिक इतिहासमा उल्लेखनीय सुधार भएको देखायो।

    अहिले प्राप्त यो नतिजा प्रति क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल सन्तोष व्यक्त गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘क्याम्पसले अपनाएको शैक्षिक रणनीतिहरूले प्रभावकारी रूपमा काम गरेको देखिन्छ। प्रवचन शैलीको पढाइको साटो अन्तर्क्रियात्मक सिकाइ, ‘नोट’ बनाएर पढ्ने, दक्ष र विशेषज्ञ शिक्षक, कक्षामा कम्प्यूटर र प्रोजेक्टरको प्रयोग, विशेषज्ञहरूबाट भर्चुअल कक्षा, नियमित कक्षा जस्ता रणनीतिले यो सफलता हासिल गरेको हो।’

    शैक्षिक सत्र २०८० देखि यताका परीक्षाफलको प्रवृत्ति विश्लेषण गर्दा कक्षामा विद्यार्थीको नियमित उपस्थिति महत्वपूर्ण देखिन्छ। नियमित कक्षामा उपस्थित भएर पढ्ने विद्यार्थीहरू अधिकांश उतीर्ण भएका छन् भने कक्षामा अनियमित हुनेमध्ये अधिकांश अनुतीर्ण भएका छन्।

    तथ्याङ्कमा शैक्षिक गुणस्तर
    -सुधारका संकेत: शैक्षिक सत्र २०७८ को कमजोर परीक्षाफल पछि २०८० देखि २०८१ सम्म उत्तीर्ण दरमा उत्साहजनक सुधार भएको देखिन्छ। विशेष गरी २०८१ को दोस्रो वर्षको ६३ प्रतिशत उत्तीर्ण दरले क्याम्पसको ऐतिहासिक औसत ३०–४५ प्रतिशतलाई उछिनेर शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार भएको स्पष्ट चित्र देखाउँछ।

    -प्रेरणादायी पक्ष: क्याम्पसले सीमित स्रोत साधनको प्रभावकारी परिचालन गरेर हासिल गरेकोले यो सुधार अत्यन्त प्रेरणादायी छ। २०८१ को दोस्रो वर्षको नतिजाले क्याम्पसले अपनाएका नवीन वैज्ञानिक शिक्षण विधि, सिकाइमा प्रविधिको प्रयोग, र विद्यार्थी-शिक्षक अन्तर्क्रियाको सकारात्मक प्रभाव देखाउँछ।

    क्याम्पसले हालका परीक्षाहरूमा गरेको प्रगतिप्रति शिक्षक र विद्यार्थी उत्साहित बनेका छन्। ‘हामीले मेहनत गरेर पढाएको र विद्यार्थीको लगनशीलताको परिणाम हो अहिलेको सुधार भन्ने लाग्छ’ भन्नुहुन्छ फाइनान्सकी विज्ञ शिक्षिका अञ्जना चौधरी। ‘कक्षा कोठामा मात्र होइन, दिउँसो बेलुकी पनि विद्यार्थीले सम्पर्क गरेर वा भेटेर सिक्न चाहने वातावरण बनाएका छौँ हामीले क्याम्पसमा’ उहाँ थप्नुहुन्छ।

    रूपनगर क्याम्पसको यो शैक्षिक प्रगतिले सीमित स्रोतमा सञ्चालित गाउँका क्याम्पसले पनि उच्च शिक्षाको क्षेत्रमा उदाहरणीय गुणस्तर दिन सक्छन् भन्ने प्रमाणित गरेको विश्वास अङ्ग्रेजीकी शिक्षिका पुनम चौधरीको छ। ‘हाम्रो क्याम्पसले छोटो समयमा यति ठूलो प्रगति गर्नु गर्वको कुरा हो। यो हाम्रो सामूहिक प्रयासको फल हो,’ उहाँ सामूहिकता र विद्यार्थीहरूको लगनशीलतालाई यो सफलताको श्रेय दिनुहुन्छ।

    सवल पक्ष
    -निरन्तर प्रगति: २०८० देखि २०८१ सम्मको उत्तीर्ण दरमा देखिएको उत्साहजनक वृद्धि, विशेष गरी २०८१ को ६३ प्रतिशत नतिजाले क्याम्पसले हालका वर्षहरूमा अपनाएको शैक्षिक रणनीतिहरूको प्रभावकारिता प्रमाणित गर्छ।

    -गुणस्तरीय विशेषज्ञ शिक्षकहरू: आ-आफ्ना विषयका विशेषज्ञ शिक्षकहरूले नियमित कक्षा लिएका कारण विद्यार्थीहरूको बुझाइमा सुधार आएको छ।

    -प्रविधिको प्रयोग: काठमाडौं, विराटनगर, राजविराज, र संयुक्त राज्य अमेरिकाबाट समेत विश्वस्तरीय विशेषज्ञहरूद्वारा सञ्चालित ‘भर्चुअल’ कक्षाहरूले विद्यार्थीहरूलाई वैश्विक दृष्टिकोण प्रदान गरेको छ।

    -अन्तरक्रियात्मक शिक्षण: रटेर सिक्ने (घोकेर कण्ठ पार्ने) परम्परालाई त्यागेर बुझाइमा आधारित वैज्ञानिक शिक्षण विधिले विद्यार्थीहरूको आत्मविश्वास र रूचि बढाएको छ।

    -प्रेरणादायी वातावरण: क्याम्पसको स्मार्ट र प्रेरणादायी वातावरण, साथै शिक्षक र कर्मचारीहरूको स्नेहपूर्ण व्यवहारले विद्यार्थीहरूलाई प्रोत्साहन दिने गरेको छ।

    -नियमित उपस्थिति: प्रभावकारी तथा वैज्ञानिक शिक्षण विधि अपनाएको रूपनगर क्याम्पसमा कक्षामा नियमित उपस्थिति विद्यार्थीको सफलताको जग हो भन्ने पुष्टि भएको छ। कक्षामा सधैँ उपस्थित भएर पढ्ने विद्यार्थीहरू अधिकांश राम्रो अङ्क ल्याएर उतीर्ण भएका छन्।
    ‘क्याम्पसको शैक्षिक वातावरण राम्रो र पढ्न प्रेरणा दिने खालको छ। शिक्षकहरू नियमित पढाउनुहुन्छ र राम्रोसँग बुझाउनुहुन्छ। त्यसले धेरै सहयोग पुग्छ हामीलाई,’ बिबिएस तेश्रो वर्षका छात्र पारस कटुवाल भन्छन्। भर्खर आएको दोश्रो वर्षको परीक्षफलमा सबै भन्दा वढी अङ्क ल्याएका पारस भन्छन्, ‘साथीहरूको सहयोगी भावना र समूहमा पढ्ने बानीले धेरै राम्रो प्रभाव पारेको छ। सफलतामा मेरो व्यक्तिगत प्रयास त छ नै, तर क्याम्पसको शिक्षा, वातावरण र शिक्षकहरूको योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ।’

    तेश्रो वर्षकी छात्रा दीपिका जोशीको बुझाइ पनि उस्तै छ, भन्छिन्, ‘शिक्षकहरूले हामीलाई सधैं प्रोत्साहन गर्नुहुन्छ। उहाँहरूको बुझाइमा आधारित पढाउन तरिकाले मलाई धेरै सहयोग गरेको छ।’

    सोही वर्षका अर्का जेहन्दार विद्यार्थी सागर चौधरी भन्छन्, ‘शिक्षकहरूले हामीलाई सधैं प्रेरणा दिनुहुन्छ, तिमीहरूले राम्रो गर्न सक्छौ, कोशीश गर, फेल हुने कुरा सोच्नै पर्दैन भनेर प्रोत्साहन गरिराख्नु हुन्छ।’ सागर थप्छन्, ‘शिक्षकहरूले किताबका पाठ मात्र पढाउनु हुन्न, जीवन बुझ्ने दृष्टिकोण पनि सिकाउनु हुन्छ। अनलाइन कक्षाका कारण कुनै पनि पाठ छुट्दैन। नियमित पढाइले विषयहरू राम्रोसँग बुझ्न सहयोग पुग्छ। कक्षा कोठा, पुस्तकालय, र क्याम्पस परिसरमा पढ्न अनुकूल वातावरण छ, जसले ध्यान केन्द्रित गर्न सहज बनाउँछ। शिक्षक र विद्यार्थी बीचको घनिष्ठ सम्बन्धले आत्मविश्वास बढाउँछ र पढाइ प्रतिको डर हटायउन मद्दत गर्छ।’

    सुधारका आधारहरू
    रूपनगर नन्दराज संग्रौला क्याम्पसको नतिजामा देखिएको सुधारका पछाडि निम्न कारकहरूले योगदान पुर्याजएका छन्:

    -नियमित कक्षा: नियमित र व्यवस्थित कक्षाले विद्यार्थीहरूलाई निरन्तर सिकाइको अवसर प्रदान गरेको छ।

    -गुणस्तरीय शिक्षकहरू: विशेषज्ञ शिक्षकहरूले विषयवस्तुलाई राम्ररी बुझाउन सफल भएका छन्।

    -भर्चुअल विशेषज्ञ कक्षा: काठमाडौं, वीराटनगर, राजविराज, र संयुक्त राज्य अमेरिका समेतबाट विश्वस्तरीय विशेषज्ञहरूले लिने भर्चुअल कक्षाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षण अनुभव प्रदान गरेको छ।

    -वैज्ञानिक शिक्षण विधि: रटेर पढ्ने परम्परालाई छोडेर बुझाइमा आधारित शिक्षणले विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी बनाएको छ।

    -प्रविधिको प्रयोग: कक्षामा कम्प्यूटर तथा प्रोजेक्टरको प्रयोग, भर्चुअल कक्षा र अन्य डिजिटल उपकरणहरूको प्रयोगले शिक्षणलाई थप गतिशील तथा प्रभावकारी बनाएको छ।

    -अन्तरक्रियात्मक सिकाइ: कक्षा र गृहकार्यमा शिक्षक-विद्यार्थी अन्तरक्रियाले विद्यार्थीहरूको रूचि र संलग्नता बढाएको छ।

    -प्रेरणादायी वातावरण: क्याम्पसको शिक्षणमैत्री वातावरण र शिक्षकहरूको प्रोत्साहनपूर्ण व्यवहारले विद्यार्थीहरूलाई सकारात्मक दिशामा डोर्यारएको छ।

    ‘भर्चुअल कक्षाले हामीलाई विश्वस्तरीय शिक्षकहरूबाट सिक्ने अवसर दिएको छ। यो अनुभवले मेरो आत्मविश्वास बढाएको छ,’ दोश्रो वर्षका छात्र आदिल अली भन्छन्।

    ‘हामीले प्रविधिको प्रयोग र अन्तर्क्रियात्मक शिक्षणलाई प्राथमिकता दिएका छौं। अब हाम्रो ध्यान कमजोर विद्यार्थीहरूलाई सहयोग गर्नमा थप केन्द्रित हुनेछ,’ अकाउण्टका विशेषज्ञ शिक्षक पेशल जोशी भन्नुहुन्छ।

    प्रवृत्ति र भावि योजना
    रूपनगर नन्दराज संग्रौला क्याम्पसले हालका वर्षहरूमा गरेको प्रगति त्रिभुवन विश्वविद्यालयको सरदर नतिजा तथा समग्र प्रवृत्ति भन्दा माथि उक्लेको छ। त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क अनुसार, सम्बन्धन प्राप्त क्याम्पसहरूमा बीबीएसको उत्तीर्ण दर शैक्षिक सत्र २०८० मा ३८ प्रतिशत थियो भने २०८१ मा ४२ प्रतिशत पुगेको छ। शैक्षिक सत्र २०८१ मा रूपनगर क्याप्पसले ६३ प्रतिशत नतिजा सहित उत्कृष्टता हासिल गरेको हो। यो प्रगतिले अद्यावधिक पाठ्यक्रम, गुणस्तरीय शिक्षण र प्रविधिको प्रयोगको सकारात्मक प्रभाव देखाउँछ।

    घोकेर कण्ठ पार्ने परम्परालाई छोडेर बुझाइमा आधारित शिक्षणमा जोड दिने रूपनगर क्याम्पसको नीतिले प्रभावकारी रूपमा सकारात्मक परिणाम देखाउन थालेको छ। नियमित कक्षा, डिजिटल प्रविधिको प्रयोग, र प्रेरणादायी वातावरणले क्याम्पसलाई थप प्रगति गर्न सक्षम बनाउँदै लगेको छ।

    ‘अहिले आएको नतिजा हाम्रो यात्राको शुरूवात मात्र हो। हामी रूपनगरलाई नेपालको सामुदायिक क्याम्पसहरूको नमूना बनाउन चाहन्छौं। यो गाउँलाई उच्च शिक्षाको उदाहरणीय आकर्षणको केन्द्र बनाउन लागि परेका छौँ,’ क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको महत्वाकांक्षा ठूलो छ।

    (आफताब अली रूपनगर क्याम्पसमा बिबिएस तेश्रो वर्षका विद्यार्थी हुन्)
    स्रोत: रूनगर क्याम्पस फिचर सेवा।

    प्रतिकृया दिनुहोस्