News Portal

  • एन्टिबायाेटिक औषधिको जथाभावी प्रयाेगले प्रतिवर्ष एक कराेड मानिसकाे मृत्यु हुने आँकलन

    जनभेट संवाददाता२०८० चैत्र २
    २९ पटक

    काठमाडौं सन् १९४० को दशकबाट विकास भएको प्रतिजैविक औषधिको जथाभावी प्रयोगका कारण २१ औँँ शताब्दीमा आइपुग्दा प्रभावहीन हुने अवस्थामा पुगेको चिकित्सकले बताएका छन् ।

    मानिस तथा पशुपक्षीका अधिकांश रोगविरुद्ध उपचारविधिका रुपमा प्रयोग भइआएको ‘एण्टिबायोटिक’को अल्पउपयोग, अतिउपयोग तथा दुरुपयोगले गर्दा जीवाणु, परजीवी, भाइरस तथा फंङ्गसलगायत एण्टिमाइक्रोवियल (सूक्ष्म जीवाणु)को प्रतिरोधात्मक क्षमता बढ्दै गएको वैज्ञानिक अनुसन्धानले देखाएका छन् ।

    चिकित्सकले सहीरुपमा एण्टिबायोटिकको प्रयोग गर्न जोड दिँदै आए पनि नेपालमा ८० प्रतिशत मानिसमा यो औषधि प्रयोग हुन्छ । बारम्बार सूक्ष्म जीवाणु प्रतिरोधात्मक क्षमताको प्रयोग हुने मानिस वा पशुपक्षीमा युरिनरी ट्रयाक्ट इन्फेक्सन (पिसाबसम्बन्धी), निमोनिया र रगतका संक्रमण हुने खतरा हुन्छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार यही दरमा सूक्ष्म जीवाणुको प्रतिरोधात्मक क्षमता वृद्धि हुँदै गएमा सन् २०५० भित्र प्रतिवर्ष यही कारणबाट एक करोड मानिसको मृत्यु हुन्छ । मानिस तथा पशुमा सूक्ष्म जीवाणुको प्रतिरोधात्मक क्षमता बढ्दै गएका कारण मानिस, पशु तथा वातावरणीय क्षेत्रमा गम्भीर असर परिरहेको स्वास्थ्यविदहरू बताउँछन् । चिकित्सकका अनुसार सूक्ष्म जीवाणुको प्रतिरोधात्मक क्षमता छोटो अवधिमा नै विश्वका अधिकांश मुलुकमा फैलिएका कारण यो समस्या विश्वकै चासोका रुपमा रहेको छ ।

    एण्टिबायोटिक प्रयोग भएको पशुपक्षी तीनदेखि सात दिनसम्म बजारमा पठाउन नहुने स्वास्थ्यकर्मी बताउँछन्। एण्टिबायोटिकको प्रयोग रोगको उपचारमा मात्र गर्ने तर अनावश्यकरुपमा प्रयोग नगर्ने कुरामा जनचेतना जगाउनुपर्नेमा उहाँहरूकाे जाेड छ ।

    प्रतिकृया दिनुहोस्