–पूजा पोखरेल
बलात्कार भनेको जबरजस्ती वा कुनै व्यक्तिको सहमतिबिना यौन सम्बन्ध राख्ने जघन्य अपराध हो। मुलुकी अपराध (संहिता) ऐन, २०७४ का अनुसार बलात्कार गम्भीर अपराध मानिन्छ । यो अपराधमा पीडितको उमेर र अपराधको अवस्था अनुसार कडा सजायको व्यवस्था छ।
यदि पीडित दश वर्षभन्दा कम उमेरको छ भने अपराधीले १६ देखि २० वर्ष सम्मको जेल सजाय भोग्नु पर्दछ भने दशदेखि १६ वर्ष उमेरका पीडितको हकमा सजाय १२ देखि १६ वर्ष सम्मको जेल सजाय हुन्छ। १६ वर्षभन्दा माथिका पीडितको हकमा सजाय दशदेखि १२ वर्षसम्म हुन्छ। यी कानुनी प्रावधानहरूका बावजूद नेपालमा पछिल्ला दुई दशकमा बलात्कारका घटनामा चिन्ताजनक रूपमा वृद्धि भएको देखिन्छ।
चिन्ताजनक तथ्याङ्क
विगत् २० वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा बलात्कारका घटना अत्यधिक वृद्धि भएको देखिन्छ। नेपाल प्रहरीका अनुसार, आर्थिक वर्ष सन् २०२२/२३ मा दर्ता भएका बलात्कारका घटनाको संख्या ३००१ थियो, जुन आर्थिक वर्ष २००३/०४ मा दर्ता भएका चार सय सात घटनाको तुलनामा अत्यन्तै चिन्ताजनक वृद्धि हो। यो तथ्याङ्कले बलात्कारका अपराध दुई दशकमा सात गुणा वृद्धिको देखाउँछ।
बलात्कारका घटना बढ्ने कारण
नेपालमा बलात्कारका घटना किन बढ्दैछ भन्ने प्रश्नको उत्तर सजिलो छैन। यसका पछाडि कुनै एउटा कारण मात्र छैन। यसो हुनुमा सामाजिक, आर्थिक, मनोवैज्ञानिक, सांस्कृतिक, प्राविधिक लगायतका पक्षहरूले भूमिका निर्वाह गरेको पाइन्छ।
सामाजिक कारण
नेपाली समाजमा कतिपय अवस्थामा पुरूषका तुलनामा महिला पछाडि परेका छन्। फलस्वरूप, महिला विरूद्धको हिंसालाई सामान्यीकरण गर्ने संस्कृति विकास भएको हुन्छ। बलात्कारका पीडित प्रति समाजले गर्ने अपहेलना जस्ता गलत व्यवहारले गर्दा धेरै पीडितलाई अपराधका घटना बाहर ल्याउन हतोत्साहित गर्दछ। यसले अपराधलाई परोक्ष रूपमा सघाउने देखिन्छ।
आर्थिक कारण
आर्थिक असमानता र गरिबीले महिला तथा बालिकालाई यौन हिंसाका सन्दर्भमा थप कमजोर बनाउँछ। कतिपय अवस्थामा, पीडित आर्थिक रूपले कमजोर पृष्ठभूमिका हुन्छन्। शिक्षा, स्वास्थ्य सेवा, र कानुनी उपचारको पहुँच उनीहरूमा कम हुन्छ। यसरी आर्थिक परनिर्भरता, सामाजिक बहिष्करणको डर आदिले पीडितलाई मौन रहन बाध्य पार्न सक्छ।
मनोवैज्ञानिक कारण
मानसिक स्वास्थ्य समस्यालाई अझै पनि गोप्य राखिने र यस बारे खुलेर चर्चा नगरिने हाम्रो समाजमा मनोवैज्ञानिक समस्याहरूलाई सम्बोधन गर्नु चुनौतीपूर्ण छ। अर्कातिर, सञ्चार माध्यम, सामाजिक सञ्जाल र मनोरञ्जनमा हिंसालाई सामान्यीकरण गरिने प्रवृत्तिले मानिसलाई बलात्कारको गम्भीरतालाई बेवास्ता गर्न प्रेरित गर्न सक्छ।
सांस्कृतिक कारण
बालविवाह, दाइजो जस्ता प्रथाले महिलालाई कमजोर बनाउँछ। यौन शिक्षाको अभाव, सहमति र सम्बन्धहरूबारे खुला छलफल नहुनु पनि यौन हिंसाको अदृश्य कारकका रूपमा रहन जान्छ।
आधुनिक जीवन शैली र सामाजिक सञ्जाल
आधुनिकताका नाममा पश्चिमा जीवन शैलीको वढ्दो प्रभाव र सामाजिक सञ्जालको व्यापकताले पनि बलात्कारका घटना वृद्धिमा भूमिका निर्वाह गरेको हुन्छ। सामाजिक सञ्जालले अपराधीहरूलाई सम्भावित पीडितलाई पछ्याउन र उत्पीडन गर्न सजिलो बनाएको छ। इण्टरनेटमा आफू बेनामी बसेर लेख्न र देखिन सकिने अवस्थाले मानिसलाई हिंसात्मक व्यवहार गर्न प्रोत्साहन गर्न सक्छ। त्यसैगरी, सञ्चार माध्यममा गरिने प्रस्तुतिले समेत महिलालाई वस्तुका रूपमा देखाइ दिने प्रवृत्तिले यौन हिंसालाई मद्दत गर्ने जोखिम रहन्छ।
पीडितलाई थप पीडा दिने प्रवृत्ति
नेपालमा बलात्कारका घटनामा कहिलेकाहिँ पीडितका लागि परिस्थिति थप पीडादायी बनिदिने स्थिति निर्माण हुने गरेको पाइन्छ। महिलाले लगाउने लुगा, व्यवहार, जीवन शैली आदि पक्ष देखाएर महिलालाई दोषी ठहर्याउने प्रवृत्ति देखिन्छ। बलात्कार पीडितले सामाजिक कलङ्क जस्ता कारणले परिवार र समुदायबाट समेत बहिस्कृत हुनु पर्ने अवस्था सिर्जना हुने गरेको छ। पीडितमा डिप्रेशन, चिन्ता र ‘पोस्ट-ट्रोमाटिक स्ट्रेस डिसअर्डर’ (PTSD) जस्ता मनोवैज्ञानिक आघात देखा पर्छन्। पीडितको संरक्षणका लागि विभिन्न कानुनी व्यवस्था भए पनि व्यवहारमा अनेक कठिनाइहरू छन्। उदाहरणका लागि, परामर्श सेवाहरू विशेष गरी ग्रामीण क्षेत्रमा नगन्य छन्।
चुनौतिका रूपमा पीडितलाई न्याय
नेपाली कानुनले बलात्कारको लागि कडा सजायको व्यवस्था गरेको भए पनि पीडितले सजिलै न्याय पाउन व्यवहारमा अनेक चुनौतिको सामना गर्नु पर्ने स्थिति छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०२२/२३ मा दर्ता भएका ३,००१ बलात्कारका घटना मध्ये, करिब १,८९० घटना मात्र अभियोजनका लागि अगाडि बढाइयो। ती मध्ये, धेरै घटनामा साक्षीलाई धम्की दिइनु, प्रमाणको अभाव हुनु, प्रक्रियागत् ढिलाइ हुनु जस्ता कारणले अभियुक्त निर्दोष ठहरिने वा मुद्दाहरू समाधान नै हुन नसक्ने अवस्था हुन्छ। बलात्कारका घटनाहरूमा आरोपित पक्ष दोषी ठहरिने दर कम हुनु भनेको हाम्रो फौजदारी न्याय प्रणालीको कमजोरीका रूपमा लिन सकिन्छ।
कानुनी र न्याय प्रणालीका कमजोरीहरू
बलात्कार जस्तो जधन्य अपराध गरेका व्यक्तिलाई सजाय गराउने विषयमा अनेक कानुनी तथा प्रणालीगत् समस्याहरू छन्, जस्तै,
अनुसन्धान र अभियोजनमा ढिलाइ
बलात्कारका घटनाको अनुसन्धान प्रक्रिया प्रायः ढिलो हुने गरेको छ। प्रमाण सङ्कलन, चिकित्सा सम्बन्धी परीक्षण, साक्षीको वयान लिने कार्य आदिमा ढिलाइ हुँदा मुद्दामा असर पर्न सक्छ, जसले अपराधी निर्दोष ठहरिने वा सजाय कम पाउने अवस्था आउन सक्छ।
भ्रष्टाचार र उत्तरदायित्वको अभाव
कानुन कार्यान्वयन गर्ने निकायहरू र न्यायपालिकामा हुने भ्रष्टाचारले न्याय पाउने प्रक्रियामा अनेक अवरोध पुर्याउन सक्छन्। घूस खाएको, पीडितलाई उजुरी फिर्ता लिन दबाब दिएको जस्ता घटनाहरू सार्वजनिक हुने गरेका छन्। प्रणालीमा उत्तरदायित्व नभए सम्म यस्ता समस्या समाधान हुन गाह्रो छ।
अपर्याप्त कानुनी संरचना
नेपालले बलात्कार विरूद्ध कानुनी संरचना बलियो बनाउने दिशामा प्रगति गरे पनि केही कमजोरीहरू अझै बाँकी छन्। उदाहरणका लागि, पीडितको संरक्षण र पुनर्स्थापना सम्बन्धी कानुनी प्रावधानहरू चाहिने जति छैनन्।
सामाजिक तथा सांस्कृतिक बाधाहरू
बलात्कारसँग जोडिएको कलङ्कले पीडितलाई सामाजिक रूपमा अनेक कठीनाइ उत्पन्न गरिदिन्छ। परिवारले आफ्नो प्रतिष्ठा जोगाउन पीडितलाई मौन रहन दबाब दिइरहेका हुन्छन्।
बलात्कार रोक्ने उपाय के ?
हाम्रो समाजमा कलङ्कका रूपमा रहेको बलात्कार जस्तो जधन्य अपराधको समस्या कम गर्न र एउटा कुनै उपायले मात्र सकिन्न। यसका लागि कानुनी, सामाजिक, सांस्कृतिक लगायत बहुआयामिक दृष्टिकोणको आवश्यकता पर्दछ। निम्न उपाय प्रभावकारी हुन सक्छन्:
कडा कानुन र त्यसको प्रभावकारी कार्यान्वयन
बलात्कार सम्बन्धी कानुनहरू कडा हुनुपर्दछ, र दोषी ठहरिएका अपराधीलाई कुनै पनि अपवाद बिना कडा सजाय दिनु पर्दछ। कानुन कार्यान्वयन गर्ने निकायहरूलाई प्रभावकारी बनाउन र अनुसन्धान प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न भ्रष्टाचारविरूद्ध कडा कदम चाल्न आवश्यक छ।
सामाजिक सचेतना र शिक्षा
बलात्कार विरूद्धको लडाईँमा सामाजिक जागरूकता महत्वपूर्ण हुन्छ। विद्यालयमा यौन शिक्षा दिनु, महिला अधिकार तथा लैङ्गिक समानता सम्बन्धी जनचेतना अभियानहरू सञ्चालन गर्नु अत्यावश्यक छ। महिला तथा बलात्कारका विषयलाई उच्च संवेदनशीलताका साथ प्रस्तुत गर्न मिडिया सचेत हुनु त्यति नै जरूरी छ।
पीडितको पुनर्स्थापना
बलात्कार पीडितका लागि आश्रय गृह, परामर्श सेवा, र कानुनी सहायता जस्ता प्रणाली सुलभ र सशक्त बनाउनु पर्दछ। पीडितको पुनर्स्थापना र आत्म विश्वास निर्माणका लागि व्यावसायिक प्रशिक्षण र आर्थिक सहयोग कार्यक्रमहरू सञ्चालन गरिनु उपयुक्त हुन्छ।
समुदाय र परिवारको भूमिका
परिवार र समुदायले बलात्कार विरूद्धको लडाईँमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।
निष्कर्ष
नेपालमा बलात्कारको समस्या जटिल र बहुआयामिक छ। हालैका वर्षहरूमा बलात्कारका घटनाहरूमा भएको वृद्धिले समाज र राज्यका कमजोरी प्रष्ट पार्दछ। कानुन र न्याय प्रणाली बलियो बनाउन, सामाजिक संरचनामा सुधार गर्न, र बलात्कार विरूद्धको लडाईँमा प्रत्येक नागरिकले आफ्नो भूमिका बुझ्न आवश्यक छ। बलात्कार जस्तो जधन्य अपराधको मूल कारण पहिल्याएर यो समस्या समाधान गर्न सामूहिक प्रयासबाट मात्र संभव हुन्छ।
सन्दर्भ सूची:
-मुलुकी अपराध (संहिता) ऐन, २०७४ (२०१७) – https://lawcommission.gov.np/np
– नेपालको संविधान, २०७२ – नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय।
– CEDAW Reports – Convention on the Elimination of All Forms of Discrimination Against Women, periodic reports by Nepal. https://www.unwomen.org/en
– नेपाल प्रहरी वार्षिक प्रतिवेदनहरू – https://www.nepalpolice.gov.np
-राष्ट्रिय मानव अधिकार आयोग (NHRC) प्रतिवेदनहरू – नेपालमा मानव अधिकार र लिङ्ग आधारित हिंसासम्बन्धी विस्तृत प्रतिवेदनहरू।
– नेपाल जनसांख्यिकीय र स्वास्थ्य सर्वेक्षण, २०२२ – नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
-United Nations Office on Drugs and Crime (UNODC) Reports – Gender based violence statistics for Nepal.
– UNFPA Nepal (United Nations Population Fund) – Reports on gender-based violence and the impact of socio-economic factors.
– Patriarchy and Violence Against Women in Nepal – Research papers published by Tribhuvan University, Nepal.
-विश्व बैंकका प्रतिवेदनहरू: https://www.worldbank.org/en/home
-Cultural Dynamics and Violence Against Women in Nepal – Journal of International Women’s Studies.
– नेपाल राष्ट्र बैंक (NRB) प्रतिवेदनहरू – आर्थिक कारकहरू र सामाजिक मुद्दाहरूमा तिनीहरूको प्रभाव।
-Gender-Based Violence in Nepal: A Review of Existing Literature – Published by the Central Department of Population Studies, Tribhuvan University.
– एम्नेस्टी इन्टरनेशनलको नेपाल सम्बन्धी प्रतिवेदनहरू – मानव अधिकार र लिङ्ग आधारित हिंसा सम्बन्धी प्रतिवेदनहरू।
– The Stigma of Rape in Nepal: A Cultural Analysis – Published in the Journal of South Asian Studies.
-नेपाल बार एशोसिएसनको प्रतिवेदनहरू – यौन हिंसा पीडितहरूको कानुनी सुरक्षा र चुनौतीहरू सम्बन्धी प्रतिवेदन।
– सर्वोच्च अदालतका फैसला – बलात्कारसँग सम्बन्धित केही मुद्दाहरू।
– Transparency International Nepal – Reports on corruption in the justice system.
– International Commission of Jurists (ICJ) Reports on Nepal – Analysis of legal frameworks and justice delivery in rape cases.
– Challenges in the Nepali Legal System for Addressing Gender-Based Violence – Published by the International Legal Foundation.
– Human Rights Watch Reports on Nepal – Insights into the inefficiencies of the justice system.
– UN Women Nepal – Initiatives and recommendations for combating gender-based violence.
– Empowering Women in Nepal: Economic and Social Measures – Published by the Asian Development Bank (ADB).
-. Ministry of Women, Children and Senior Citizens, Nepal – Reports on government initiatives and policies.
– Role of Education in Reducing Gender-Based Violence in Nepal – Published by UNESCO.
(पूजा पोखरेल रूपनगर क्याम्पसमा बीबीएस पहिलो वर्षकी छात्रा हुन्)
साभार : रूपनगर क्याम्पस फिचर सेवा