News Portal

  • सप्तरीकाे रूपनगरमा ‘राष्ट्रका लागि दुई घण्टा योगदान’ कार्यक्रम आरम्भ

    कार्यक्रमका लागि प्राध्यापक दीपक कुमार गजुरेलद्वारा तीन हजार रूपैयाँ सहयोग हस्तान्तरण

    जनभेट संवाददाता२०८१ बैशाख १
    २७४ पटक

    सप्तरी । दार्चुलाका एक युवा कर्मभूमि सप्तरीका जनताको सेवामा जुटेका छन् । आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदले सप्तरी, रूपनगरका जनताको नि:शुल्क स्वास्थ्य परीक्षण गरेर नयाँ वर्ष २०८१ को सुखद आरम्भ गर्नुभएकाे हाे ।

    तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित ‘तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र’, रूपनगरका आँखा स्वास्थ्य कार्यकर्ता अनिलले ‘राष्ट्रका लागि दुई घण्टा योगदान’ भन्ने मूल भावका साथ रूपनगर चोकमा रक्तचाप, मधुमेह जाँच, दृष्टि परीक्षण, बिएमआइ, लगायत स्वास्थ्य अवस्थाबारे नि:शुल्क परामर्श दिने अभियान शुरू गर्नुभयाे ।

    रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले नागरिकको सेवा आफैबाट शुरू गरौँ भन्ने ‘राष्ट्रका लागि दुई घण्टा योगदान’ कार्यक्रमको उद्घाटन गर्नुभयाे । एक जनाको रक्तचाप परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गर्दै प्राध्यापक गजुरेलले भन्नुभयाे, ‘दूर्गम दार्चुलाबाट आएको केही दिनमै तराइको समाज, हावापानी र परिस्थिति सँग घोलिएर रमाउने युवा अनिल प्रति सप्तरीवासी हामी आभारी भएर मात्र पुग्दैन । यिनको समाज सेवामा हामी पनि हरेक तवरले सहयोगी बन्न सक्नु पर्छ ।’ यस पवित्र सेवाका लागि प्राध्यापक गजुरेलले तीन हजार रूपैयाँ सहयोग हस्तान्तरण गर्दै भोलिका दिनमा पनि सकेको मद्दत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

    मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले रक्तचाप र आँखा जाँच गराएर अनिल साउदको सेवा भावको प्रशंसा गर्नुभयाे । उक्त अवसरमा कञ्चनरूप नगरपालिकाका पहिलो नगर प्रमुख बसन्त मिश्रले पनि स्वास्थ्य परीक्षण गराउनुभयाे ।

    ‘नयाँ वर्ष २०८१ को पहिलो शनिबार आजदेखि हरेक शनिबार बिहान ६ बजेदेखि ८ बजे सम्म, दुई घण्टा, रूपनगर चोकको प्रतिक्षालयमा बसेर रक्तचाप, सुगर जाँच, दृष्टि परीक्षण र स्वास्थ्य अवस्था बारे परामर्श सेवा दिने’ बताउने अनिल साउदलाई यस्ता महत्वपूर्ण स्वास्थ्य परीक्षण सेवाबाट सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन र सम्भावित जोखिमबाट बच्न मद्दत पुग्ने विश्वास छ ।

    आफू बसेको ठाउँका आमा-बुबाको सेवा गर्न पाउँदा आनन्द लागेको बताउने यी कर्मठ युवा परिपक्व प्रौढ शैलीमा भन्नुहुन्छ, ‘सक्ने सहयोग हामी सबैले एक अर्कालाई गर्ने हो भने समाज सकारात्मक लयमा हिड्नेछ र मानवताका व्यवहारले हाम्रो जिन्दगी सरल बन्नेछ । यही आदर्श बोकेर छुट्टीको दिन, हरेक शनिबार, बिहान दुई घण्टा स्वास्थ्य सेवा दिने र यसबाट आम जनतामा स्वास्थ्यबारे चेतना फैलिने विश्वास लिएको छु।’

    राष्ट्रका लागि दुई घण्टा योगदान कार्यक्रम पहिलेको कर्मभूमी रामेछाप जिल्लामा एक वर्ष सफलतापूर्वक सञ्चालन गरी सक्नुभएका र हाल उक्त कार्यक्रम त्यहाँको नगरपालिकाले निरन्तरता दिइरहेको बताउने अनिल सरूवा भएर रूपनगर आउनुभएकाे हाे ।

    रामेछापबाट तीन महिना अघि सप्तरीको रूपनगर आउनुभएका यी उत्साही युवा अनिल सुक्ष्म अनुसन्धान समेत गर्ने गरेकाे बताउनुहुन्छ। ‘यो ठाउँमा मधुमेह र उच्च-रक्तचाप भएका मान्छेहरू अत्यधिक रहेछन्’ भन्ने जानकारी दिँदा स्वास्थ्य कार्यकर्ता  अनिल गम्भीर बन्नुहुन्छ । उहाँको सुक्ष्म अध्ययनका अनुसार यस्ता नसर्ने रोग र त्यसको जोखिमबारे मानिसमा चेतना पनि कम छ । अनिल भन्नुहुन्छ, ‘उच्च-रक्तचापको औषधि अस्पताल गएको बेला खाएको र औषधि सकिए पछि खान छोडेका, डाक्टरले औषधि खानुपर्छ भने पनि नखाने आमाबुबाहरू थुप्रै हुनुहुन्छ, रूपनगर क्षेत्रमा । यस्ता धेरै जना सँग भेटेर कुराकानी गरेपछि यो शनिबारे कार्यक्रम शुरू गरेँ ।’

    ‘राष्ट्रका लागि दुई घण्टा योगदान’ कार्यक्रमलाई कानूनी रूपमा मर्यादित र सेवाग्राहीहरूको विश्वसनीय समेतका लागि कञ्चनरूप नगरपालिकाबाट सञ्चालन अनुमति समेत लिनुभएकाे छ अनिलले ।

    रक्तचाप आदि जाँच्न खर्च नलागे पनि मधुमेह परीक्षणमा लाग्ने खर्च आफ्नै तलवबाट जुटाउने शूर कस्नुभएका युवा अनिलको हौष्टेमा हैँसे गर्ने मनकारीहरू अघि सरेका छन् । पाँच सय जनाको मधुमेह परीक्षण गर्न बीस हजार रूपैयाँ जति खर्च लाग्ने अनुमान अनिलको छ । सेवाको यो अभियानबारे आफ्नो फेसबुकमा लेखेपछि उनलाई सहयोग गर्नेहरूको ओइरो लाग्यो । ‘अहिलेलाई चाहिने खर्च जुटिसक्यो’ भन्दै अब पैसा नपठाउनुस् भनि सक्नुभयाे उहाँले फेसबुकमा ! भन्नुहुन्छ ‘पछि चाहियो भने फेरि जुटौँला ।’

    प्रतिकृया दिनुहोस्