News Portal

संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

जनभेट संवाददाता२०८१ भाद्र २७
२४७ पटक

–इश्वरी थापा
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले दिवङ्गत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताउनुभयाे ।

दोस्रो संविधानसभा असफल हुन नदिन तथा संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधानसभाको अध्यक्षता गर्नुभएको कुरा सधैँ सम्झनामा रहिरहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।”

अध्यक्ष ओलीले नेम्वाङका नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले नेपालको परिवर्तनमा योगदान गर्नुभएका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उहाँहरूले अँगाल्नुभएको बाटो, व्यवहार र आचरणअनुरुप चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेम्वाङले देखाउनुभएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले  नेम्वाङकाे नाममा केन्द्रीय प्रतिष्ठान बनाउनेसमेत घोषणा गर्नुभयाे ।

त्यस्तै, कार्यक्रममा उपाध्यक्षहरु,  पोलिट ब्युराे सदस्यहरुलयात नेता तथा कार्यकर्ताहरूले नेम्वाङकाे तस्वीरमा माल्यार्पण तथा श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रतिष्ठान निर्माणबारे प्रधानमन्त्री ओलीको भनाइ जस्ताको तस्तै :

हामी एउटा प्रतिष्ठान बनायो छोड्यो होइन, एउटा प्रतिष्ठान समातेर बस्यो काम केही नगर्‍यो होइन । नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशील इच्छा, आकांक्षा र प्रवृत्ति अनुरुप चल्नेछ । अनिमात्रै त्यस्तो प्रतिष्ठानहरुको औचित्य हुन्छ । हामी अहिले रहेको अरु पनि प्रतिष्ठानहरुलाई जुन प्रतिष्ठानहरु निष्क्रिय छन्, सक्रिय छैनन् त्यस्ता प्रतिष्ठानहरुलाई सक्रिय बनाउँछौँ । नेताका नाममा प्रतिष्ठान हुने, तर त्यो प्रतिष्ठान देशका लागि नहुने । अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फड्का गर्दै माधव नेपाल जस्ता मान्छेहरू अध्यक्ष भए, पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी प्रपर्टी जस्तो । पुष्पलालजी कुद्नुभएको हो र पार्टीबाट माधव नेपाल पो कुद्नुभएको त । पुष्पलाल त कुद्नुभएको होइन नि ! पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ? अर्को एक जनाले मदन भण्डारी अन्तर्राष्ट्रिय स्कुल भनेर खोल्या छ । अनि मदन भण्डारीका विचार भन्दा फरक कुराहरु सिकाउने गरेर त्यसको दुरुपयोग गरेको छ । यस्ता कुरालाई समयक्रममा हामीले आन्दोलनको हितमा, जनता, देशको पक्षमा उभ्याउनुपर्छ । कसैलाई कब्जा गरेर बस्न दिनु हुँदैन ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्