News Portal

‘खुसी विज्ञान’बाट लिए डेढ सयले लाभ

दीपक न्यौपाने२०८१ भाद्र ९
३१९ पटक

काठमाडौँ । काठमाडौँको मीनभवनमा शनिबार जीवन विज्ञान प्रतिष्ठानले एक दिने खुसी विज्ञान कार्यक्रम आयोजना गर्यो । स्वस्थ तन, शान्त मन, प्रेमल भावना, जागृत चेतना तथा उत्कृष्ट जीवनशैली जिउने कला सिकाउन खुसी विज्ञान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानकी वाग्मती प्रदेश संयोजक एवं योगशिक्षक रेखा कोइरालाले आजको मान्छेले खोजेको सुख, शान्ति, समृद्धि र आनन्द भएको स्पष्ट पार्दै खुसी विज्ञानले व्यक्तिमा त्यस्ता गुण भर्ने दाबी गर्नुभयो । अरूको कारणले आफू खुसी भएको अनुभवभन्दा आफ्नाे कारणले अरू खुसी हुँदा आफूलाई झन् बढी खुसी मिल्ने कोइरालाले बताउनुभयो ।

उहाँले अरूका गल्ती, खोट र कमजोरी औँल्याउन छाडेर खुसी हुनका लागि सदा आफ्नै मन नियाल्न पनि सहभागीहरूलाई सुझाव दिनुभयो । अरूमा ध्यान दिँदा दुःखी र आफूमा ध्यान दिँदा खुसी बढ्ने योगशिक्षक कोइरालाको भनाइ थियो । जीवनमा प्रगतिका लागि मिहिनेत, सङ्घर्ष र त्याग अनिवार्य रहेकोमा जोड दिँदै कोइरालाले कुनै पनि घटना वा परिस्थितिलाई अवसरका रूपमा लिन पनि सहभागीहरूलाई सुझाव दिनुभयो।

मित्रताभन्दा विराट् शक्ति मैत्रीभाव भएको भन्दै उहाँले ‘सम्बन्ध ऐनाजस्तै हुने र त्यहाँ आफ्नै छवि देखिने’समेत स्पष्ट पार्नुभयो । आर्थिक अपारदर्शिता, स–सानो कुरामा किचकिच गर्ने र अरूलाई होच्याउने, पुराना नकारात्मक आदतहरू छोड्दै गएमा हृदय–मन्दिरमा सदा खुसीले बास गर्ने पनि कोइरालाको भनाइ थियो । योगासन, प्राणायाम र ऊर्जाध्यानका विविध विधिद्वारा सहभागीहरूमा खुसी भर्न भरपुर प्रयत्न गर्नुभएकी योग शिक्षक कोइरालाले आफूहरूले जुमबाट नियमित दिव्य ॐ कार ध्यानयोग प्रयोगशाला सञ्चालन गर्दै आएको पनि जानकारी दिनुभयो ।

बिहान ४ः५० देखि ६ः३० बजेसम्म ऊर्जाध्यान र राति ८ः०५ देखि ९ः१५ बजेसम्म ॐ कार साधना तथा चक्र विज्ञानमा सहभागी भइसकेका साधकहरूका लागि बिहान ६ः४५ देखि ७ः४५ बजेसम्म चक्र साधनाको कार्यक्रम भइरहेकाले जोडिएर लाभ लिन पनि प्रदेश संयोजक कोइरालाले सबैसँग आग्रह गर्नुभयो ।

त्यसैगरी, योगशिक्षक मोहन थापाले खुसी र समृद्धिले भरिएको पूर्ण स्वस्थ जीवनका लागि सातवटा क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो ।
शारीरिक स्वास्थ्य राम्रो हुँदा व्यक्तिमा आँट, जोश, जाँगर भरिने थापाको भनाइ थियो । मानसिक स्वास्थ्य राम्रो हुँदा व्यक्ति शान्त र मनैदेखि फुरुङ्ग हुने उहाँले बताउनुभयो । प्राणिक स्वास्थ्य राम्रो हुँदा आत्मविश्वास बढ्ने र भावनात्मक स्वास्थ्य राम्रो हुँदा आपूmसँग भएको कुराले नै खुसी र प्रफुल्लता दिने थापाको भनाइ थियो ।

त्यसैगरी, बौद्धिक स्वास्थ्य राम्रो हुँदा व्यक्ति विचारको क्षमताले भरिएर विवेकशील र बुद्धिमान् हुने तथा आत्मिक स्वास्थ्य राम्रो हुँदा व्यक्ति सेवाप्रेमले भरिने उहाँले बताउनुभयो । त्यस्तै, परम स्वास्थ्य राम्रो हुँदा व्यक्तिले अलौकिक शक्ति प्राप्त गर्ने पनि थापाको भनाइ थियो । यी सातवटै क्षेत्र राम्रो भएपछि आफूसँग भएको क्षमता चिन्न सकिने र ॐ अक्षरभित्र रहेका ‘अ’, ‘उ’, ‘म’ ध्वनिले सातै चक्र जागृत भई व्यक्ति पूर्ण स्वस्थ हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी झण्डै डेढ सय साधक–साधिकाहरूले ‘जीवन विज्ञान जीवन जिउने आधार रहेको र जिउन जाने जीवन आहा ! आहा !! नै रहेछ’ भन्ने बोध गरेका थिए । उनीहरूले जीवन विज्ञानकी वाग्मती प्रदेश संयोजक कोइरालासँग ध्यानका यस्ता शिविरलाई निरन्तरता दिनसमेत आग्रह गरेका थिए ।

स्मरणीय छ, जीवन विज्ञान प्रतिष्ठानका संस्थापक सद्गुरुद्वय एल पि भानु शर्मा र रमेश नेपालले ‘खुसी विज्ञान’ कार्यक्रम प्रतिपादन गर्नुभएको हो ।

 

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्