–सुस्मा पन्त मैनाली
विश्वमा त्यस्ता व्यक्ति बिरलै भेटिएलान् जो प्राकृतिक दृश्यको अवलोकन गर्न मन पराउँदैनन् । प्रकृतिको मनमोहक दृश्यले क्षणिक किन नहोस् मानिसका सम्पूर्ण दुःख, पीडा, चिन्ता दूर गरेर खुसी र शान्तिको अनुभूति दिलाउँछ । प्राकृतिक सुन्दरताले मानिसलाई निस्वार्थ खुसी र आनन्द प्रदान गरिरहेको हुन्छ । त्यही खुसी र आनन्दानुभूति गर्ने उद्देश्यले मलगायत श्री विनायक मावि सूर्यगढी–३, फलाटे नुवाकोटका शिक्षक साथीहरू मिलेर नुवाकोट जिल्ला परिसरभित्र रहेको प्रकृतिसँग साक्षात्कार गर्नका लागि वनभोज कार्यक्रमको आयोजना गर्यौँ ।
वनभोजका लागि कुन ठाउँ जाने भन्ने विषयमा हामी सबै साथीहरू बसेर छलफल गर्दै थियौँ । नुवाकोट जिल्ला मेरो गृह जिल्ला नभएकाले मलाई त्यहाँका प्राकृतिक गन्तव्यको बारेमा त्यति राम्रो ज्ञान थिएन, त्यसैले यस विषयमा म मौन नै रहने प्रयास गरेँ । तर पनि मैले जहाँ गएपनि सुन्दर शान्त अनि अहिलेसम्म नगइएको नयाँ ठाउँमा जाऔँ भन्ने सल्लाह दिएँ । केही वर्षअघि सो ठाउँ पुग्नु भएका हाम्रा सहकर्मी साथीले किस्पाङ गाउँपालिकास्थित अत्यन्तै सुन्दर र मनोरम ‘भेडा फार्म’ जाने कुरा गर्नु भयो । उत्साहका साथ हामी सबैले भेडा फार्म नै जाने सहमति जनायौँ । यो ठाउँ नुवाकोट जिल्लाको उत्तरतिर रसुवा जिल्लाको सिमानामा पर्ने रहेछ ।
सबै मिलेर मोटामोटी योजना बनाइयो र कामको बाँडफाँड भयो । केही साथीले बसको व्यवस्था मिलाउनु भयो । केहीले खाना तथा नास्ताका लागि आवश्यक सामान किन्ने जिम्मा लिनुभयो । प्रधानाध्यापक सरले आफूलाई साथीहरूसँग मिलेर जाने इच्छा हुँदाहुँदै पनि विशेष कारणवश जान असमर्थ रहेको बताउनुभयो । आफू सहभागी हुन नमिल्ने भए पनि उहाँले हाम्रो योजनाका लागि खुसी व्यक्त गर्दै हामीलाई रमणीय यात्राको शुभकामना दिनुभयो ।
पूर्व योजनानुसार नै शनिबार बिहान ७ बजे सबै साथीहरू विद्यालयमा जम्मा भयौँ । आवश्यक सामान लोड गरिसकेपछि हाम्रो बस गन्तव्यतिर प्रस्थान गर्यो । यात्राका क्रममा कोही साथीहरू रमाइलो गर्दै हुनुहुन्थ्यो भने केही साथीहरू आफ्ना मोबाइलमा आजको हाम्रो गन्तव्य रहेको भेडा फर्मको फोटो तथा भिडियोहरू सर्च गरेर एकअर्कालाई देखाउँदै हुनुहुन्थ्यो । हामी सबै सो ठाउँको प्रत्यक्ष अवलोकन गरी रमाउन आतुर थियौँ । म पनि नयाँ ठाउँको अवलोकनलाई अविस्मरणीय बनाउने, फोटो तथा भिडियो खिच्ने कुरा सम्झदै अत्यन्तै उत्साहित हुँदै थिएँ ।
हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको थियो । प्रसिद्ध नुवाकोट दरबार, नुवाकोट भैरवी मन्दिर हुँदै करिब १ घण्टाको यात्रा पश्चात हामी जिल्ला सदरमुकाम विदुर पुग्यौँ । किस्पाङ गाउँपालिका नुवाकोट जिल्ला सदरमुकामबाट उत्तरतर्फ अवस्थित रहेछ । त्रिशुली नदी पार गरेपछि सिल ट्याङ्की हुँदै हाम्रो यात्रा साँघुरो तथा हल्का उकालो बाटोतर्फ मोडिदै थियो । पहाडका घुम्ति काटेर माथि पुग्दै गर्दा त्यहाँबाट त्रिशुली बजार, त्रिशुली नदी तथा बिदुर बजारको सुन्दर तथा रमणीय दृश्य नियाल्दै हामी अघि बढी रह्यौँ ।
मंसिर महिना चलिरहेकाले हल्का चिसो चिसो पनि महशुस हुँदै थियो तर उचाइ चढ्दै गर्दा बिहानीको सूर्यका किरणहरूले हामीलाई न्यानोसँगै उमङ्ग पनि थपिरहेकको थियो । हाम्रो एकपटक भेडा फर्म पुग्नुभएको सर पहिले जाँदा अर्कै बाटो जानु भएको रहेछ । अब हामी सबैजसो त्यता जाने बाटोको बारेमा अनभिज्ञ जस्तै थियौँ । त्रिशुलीबाट भेडा फर्म पुग्ने दुईओटा बाटाहरू रहेछन् । चालक र सहयोगी भाइले उहाँहरूकै अनुसार बस अगाडि बढाउँदै लैजानु भयो । हामी खुसी नै थियौँ । जसरी पनि हामीलाई भेडा फार्म पुग्नु थियो । करिब आधा बाटोमा पुगेपछि मोटर बाटोसँगै जोडिएको सुन्दर मनकामना मन्दिर रहेछ । सबैजना बसबाट ओर्लेर मन्दिर दर्शन गरी धेरै अलमल नगरी फेरि बस अघि बढ्यो ।
उकालो बाटो जाँदै गर्दा हाम्रो बसको गति बिस्तारै घट्दै थियो । अगाडिको बाटो अझ उकालो, साँघुरो अनि बिग्रिएको रहेछ । हाम्रो बसको पाङ्ग्रा एउटा खाडलमा पर्यो र बस अघि बढ्न सकेन । निकै कोसिस गर्दा पनि बस अघि नबढेपछि हाम्रा साथीहरू ओर्लिएर खाडलमा ढुङ्गा राखेर बस धकिल्नु भयो । हामी निकै डरायौं । त्यसपछि मुस्किलले बस उक्लियो ।
केही समयपछि किस्पाङ पोखरी आइपुग्यो । यो ठाउँ पहाडको उचाइमा थोरै समथर भूभागमा पर्ने रहेछ । एउटा सुन्दर पोखरी सँगै गुम्बा पनि रहेछ । हाम्रो गन्तव्य अर्कै रहेको र ढिला भइसकेकोले हामी त्यहाँ राम्रोसँग घुम्न पाएनौँ । चालकले बस मोड्नु भयो र बसबाट ओर्लदै भन्नुभयो, “किस्पाङ पोखरी यही हो । तपाईंहरूले भन्नुभएको ठाउँ आइपुग्यो । सबैजना ओर्लनुहोस् ।” हामी चकित पर्यौ । हाम्रा साथीहरूले बस बुक गर्दा किस्पाङ पोखरी हुँदै भेडा फर्म जाने भन्नुभएको रहेछ । चालकले किस्पाङ पोखरीसम्म मात्रै जाने भन्ने बुझ्नु भएको रहेछ सायद । हाम्रा साथीहरू र चालकबीच भनाभन पर्यो । स्थानीय एकजना जेष्ठनागरिकले हाम्रो सबै कुरा सुन्नुभयो र भन्नुभयो, “यो बाटोमा दुई वटा रुटको बस दैनिक सजिलै ओहोरदोहोर गर्ने गरेकf छन् । अब करिब आधा घण्टामा भेडा फार्म पुगिन्छ । अधुरो यात्रा किन गर्नुहुन्छ ? जानुस् ।” त्यसपछि थोरै बस भाडा थप गरेर हाम्रा साथीहरूले सम्झाएपछि चालकले भेडा फार्म जान स्वीकार गर्नुभयो । फेरि हाम्रो बस घ्यारघ्यार गर्दै बिस्तारै अघि बढ्यो । त्यतिबेला करिब ११ बजिसकेको थियो । हामी सबैलाई भोक लागिसकेको थियो । अघि बढ्दै जाँदा बाटो झन् झन् अप्ठारो रहेछ । चालक अलि रिसाएका थिए । हाम्रो प्रतिक्षाको घडी नजिकिँदै थियो । बाटोमा अत्यन्त सुन्दर झरना देखियो । ढिलो भइसकेकाले त्यहाँ ओर्लन सकिएन । बसको झ्यालबाट झरनाको सुन्दरता नियाल्दै भएपनि हामी खुसी भयौं । बीचबीचमा बस अड्किन खोज्थ्यो चालकले जबर्जस्ती अगाडि बढाउँथे।
अब हाम्रो गन्तव्य आइपुग्न करिब १५ मिनेट मात्र बाँकी थियो । त्यो ठाउँमा बाटो उकालो र ढुङ्गा भएको रहेछ । त्यहाँ बस अड्कियो । १५ मिनेट प्रयास गर्दा पनि बस अघि बढाउन सकिएन । मोडेर फर्काउने ठाउँ पनि थिएन । हाम्रो बस बीच बाटो मै अड्कियो । हामी अत्यन्त निरास भयौँ । भोक थकाइले गर्दा हामी शिथिल भइसकेका थियौँ । गन्तव्य नजिकै भएपनि सबै सामग्री बोकेर जान सम्भव पनि थिएन । भेडा फार्म पुगेर त्यहाँको रमणीय दृश्य हेर्ने फोटो भिडियो खिच्ने हाम्रो रहर क्षणभर मै त्यही बिलायो। बसबाट ओर्लिएर हामी सबै चिन्तित मुद्रामा बसिरहेका थियौँ । हामीलाई लाग्न थाल्यो अब घर कसरी जाने ?
पुरानाे बसलाई रङ्ग रोगन गरेर चलाए जस्ताे देखिन्थ्याे तर पनि चालकले हाेसियारीपूर्वक चलाएका थिए । यस्ताे बस चलाउनु उनीहरूकाे बाध्यता पनि हाेला । सहायक प्रधानाध्यापक सरले जे हुनु भयो अब फर्कौँ भन्दै हुनुहुन्थ्यो । पछि हामी सबै मिलेर उनीहरूलाई सम्झायौँ र पुनः किस्पाङ पोखरी फर्कन आग्रह गर्यौँ । तर उनीहरूले मानेनन् । त्यतै बसेर वनभोज पकाएर खाउँ न त भनेपनि त्यहाँ पानीको सुविधा थिएन । त्यतिबेला हामीलाई “चोक्टा खाना गएकी बूढी झोलमा डुबेर मरी” भने झैँ भयो । उनीहरूको मर्जीअनुसार त्रिशुली पुग्ने सबैभन्दा छोटो बाटोबाट हाम्रो यात्रा ओरालो लाग्यो । बसभित्र हामी सबै मौन थियौँ । बसभित्रको माहोल देख्दा लाग्थ्यो बस रित्तै गुडी रहेको छ । निकै तल पुगेपछि हामी एउटा कञ्चन खोलाको किनारमा पुग्यौँ । केही साथीहरूले त्यतै ओर्लेर पकाएर खाउँ भन्ने प्रस्ताव राख्नु भयो तर त्यसमा सबै साथीहरूको सहमति हुन सकेन । करिब २ बजे हामी त्रिशुलीको सिल ट्यांकीमा पुग्यौँ । त्यहाँ पनि संरचना बन्दै रहेछ । साँघुरो ठाउँमा समान झारेर सबै मिलेर खानेकुरा पकायौँ । सबै साथीहरू मिलेर परिकार बनाएर नास्ता, खाना सबै एकैचोटी खाएर एकछिन नाचगान पनि गर्यौ । बेलुकाको करिब ६ बजेतिर हामी घर फर्कियौं । बेलुकाको करिब ८ बजेतिर हामी घर पुग्यौँ । बिदा हुने बेलामा चालक भन्दै हुनुहुन्थ्यो, अर्को पटक तपाईंहरू शैक्षिक भ्रमण जाँदा मलाई नै बोलाउनु होला है सर ।” हामी सबै जना मौन रह्यौँ । सहायक प्रधानाध्यापक सरले मुसुक्क हाँसेर भन्नुभयो, “अर्को पटक नयाँ बस लिएर जानुपर्छ ।”
अधुरा तथा असफल यात्राले पनि मानिसलाई धेरै पाठ सिकाउने गर्दछ र त्यही यात्रा जीवनमा ऐतिहासिक बन्दछ । भेडा फार्म पुगेर रमाउने हाम्रो मनोकांक्षा पुरा हुन नपाए पनि हाम्रो त्यो अधुरो यात्रा सदाका लागि मानसपटलमा अविस्मरणीय रहने छ ।