–ईश्वरी थापा
ललितपुर । प्रधानासेनापति प्रभुराम शर्माले सैनिक भनेकाे साधारण मानिस मात्र नभइ देशका लागि आवश्यक पर्दा योगदान दिन सक्ने तालिम प्राप्त जनशक्ति भएकाे बताउनुभएकाे छ । गत आइतबार लगनखेलमा आयाेजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बाेधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेना याेगदानकाे समयमा मात्रै नभइ अवकाश प्राप्त समयमा पनि राष्ट्रका लागि याेगदान गर्न सक्ने बताउनुभएकाे हाे ।
प्रधान सेनापति शर्माले बहालवाला र अवकाश प्राप्त सैनिकहरुको सेवा, हित, सुविधा, गुनासो तथा आफ्ना विचार व्यक्त गर्ने उद्देश्यले भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरेको बताउनुभयो ।
सेनाको रगत पसिनाले स्थापना गरेको कल्याणकारी कोषको रकमबाट सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरुप शिक्षा र स्वास्थ्य, सीप तथा रोजगार सुविधा र सहुलियतको क्षेत्र विस्तार गरी कार्यान्वयन गर्नुपर्नेमा प्रधानसेनापति शर्माले जाेड दिनुभयाे । उहाँले कार्यरत सेनाले बुझेका कुरा र सीपलाई खेर नफाली आफ्नै स्थानमा व्यवसाय तथा घरेलु उद्योगमा सदुपयाेग गर्नेपर्ने बताउनुभयाे ।
विदेशी सेनामा टेवा पुर्याउने भनेकाे अर्काको देश बनाउनलाई जोखिम मोल्नु हाे भन्दै शर्माले आर्जित सीपबाट आफ्नै देशलाई माथि उठाउने काममा मर्यादित र अनुशासित ढंगले लागि पर्नुपर्ने बताउनुभयाे ।
अवकाश प्राप्त सेनाकाे जीवनस्तर उकास्न विभिन्न अवधारणा ल्याएकाे भन्दै प्रधानसेनापति शर्माले सात प्रकारका जटिल रोगको उपचार गरिने सैनिक अस्पतालमा अहिले १३ प्रकारका रोगको उपचार गराउन सकिने बताउनुभयाे ।
प्रधानसेनापति शर्माले सैनिक कल्याणकारी कोषमा ८२ अर्ब ६६ करोड १२ लाख रूपैयाँ माैजदात रहेकाे तथा महिलालाई नेपाली सेनामा भर्ती बढाउनुका साथै शान्ति सेनामा पठाउने पनि तयारी भइरहेकाे जानकारी दिनुभयाे ।
लगनखेलमा आयाेजित ‘भूतपूर्व सैनिक सम्मेलन २०८०’ मा माइली खत्री र नरबहादुर दाहाललाई ह्विल चियर प्रदान गरिएकाे थियाे भने विविध सांस्कृतिक कार्यक्रम पनि आयाेजन गरिएकाे थियाे ।