
-सुरेश पाण्डे
कहिलेकहीँ म आफैलाई एउटा प्रश्न सोध्छु-
“म को हुँ ?”
प्रश्न सुन्दा सामान्य लाग्छ। तर जब यही प्रश्न मनको गहिराइसम्म पुगेर सोधिन्छ, उत्तर अचानक हराएजस्तो हुन्छ।
ऐनाअगाडि उभिँदा अनुहार आफ्नै देखिन्छ। आँखा आफ्नै, ओठ, नाक, कपाल सबै परिचित। तर कहिलेकहीँ त्यही अनुहारभित्र बसेको मान्छे भने पूर्णत अपरिचित लाग्छ ।
आखिर, म को हुँ ?
सायद उमेर बढ्दै जाँदा हामी आफूलाई चिन्नुभन्दा अरूलाई खुशी पार्ने दौडमा बढी लाग्छौँ ।
सानो छँदा जीवन कति सरल थियो !
आमाको काख नै संसार थियो। बुबाको हात समातेर हिँड्दा बाटो छोटो लाग्थ्यो। गाउँको सानो घर, आँगनको डिल, बिहानको चिसो हावा, खेतबारीको बाटो र साँझ घर फर्किँदा सुनिने आमाको आवा- यही नै जीवनको सबैभन्दा ठूलो सुख थियो ।
त्यतिबेला खुशी हुन धेरै कुरा चाहिँदैनथ्यो। पेटभरि खाना, आफ्ना मान्छेको साथ र राति ढुक्कसँग सुत्न पाउनु नै पर्याप्त थियो ।
तर समयसँगै हामी बदलिँदै गयौँ ।
बाल्यकाल पछाडि छुट्यो । जिम्मेबारी अगाडि आए। सपना ठूला भए, चाहना बढे। अनि एक दिन गाउँको त्यो सानो संसार छोडेर हामी शहर पस्यौँ ।
शहरले हामीलाई सपना देखायो । ठूला सपना ।
र ती सपना पूरा गर्न हामीले आफैलाई दौडमा धकेल्यौँ ।
बिहानदेखि रातसम्म काम।
आजभन्दा भोलि अझ राम्रो बन्ने चाहना ।
अरूभन्दा अगाडि पुग्ने हतार ।
अझ धेरै कमाउने इच्छा ।
अझ राम्रो घर बनाउने सपना।
अझ ठूलो नाम कमाउने रहर।
कमाउँदै गयौँ। बनाउँदै गयौँ। जोड्दै गयौँ ।
तर त्यही क्रममा कतै केही छुटाउँदै पनि गयौँ ।
के छुट्यो ?
सायद समय। सायद सम्बन्ध। सायद आफ्नै मन।
हाम्रो मोबाइलमा सयौँ नम्बर भए। सामाजिक सञ्जालमा हजारौँ साथीहरु भए । तस्बिरमा मुस्कान बढ्यो । तर मनभित्रको खालिपन कहिल्यै रित्तिएन ।
हामी संसारलाई देखाउन थाल्यौँ- ‘म खुशी छु।’
तर शान्त भएर आफैलाई कहिल्यै सोधेनौँ- ‘के म साँच्चै खुशी छु त ?’
किनकि त्यो प्रश्नको उत्तर सुन्ने समय हामीसँग थिएन ।
हामी व्यस्त थियौँ । भविष्य बनाउन व्यस्त । पैसा कमाउन व्यस्त । परिचय बनाउन व्यस्त । अरूलाई आफू सफल छु भनेर प्रमाणित गर्न व्यस्त ।
तर एउटा कुरा बिर्सियौँ- जीवन प्रमाणित गर्नुपर्ने परीक्षा रहेनछ ।
हामी अरूको आँखाबाट आफूलाई हेर्न थाल्छौँ । उसले के भन्छ ? समाजले के सोच्छ ? अरूभन्दा म कहाँ छु ? कसको घर ठूलो ? कसको तलब बढी ? कसको जीवन राम्रो ?
यिनै प्रश्नहरूले बिस्तारै हाम्रो आफ्नै आवाजलाई दबाउँदै जान्छन् ।
अनि एक दिन अचानक महसुस हुन्छ-हामीसँग सबै कुरा भएजस्तो देखिन्छ, तर आफू भने कतै हराइसकेका रहेछौँ ।
त्यसपछि फेरि त्यही प्रश्न आउँछ-
‘म को हुँ ?’
के म मेरो जागिर हुँ ?
के म मेरो तलब हुँ ?
के म मेरो घर, मेरो गाडी, मेरो बैंक ब्यालेन्स हुँ ?
के म सामाजिक सञ्जालमा देखाइने मेरो मुस्कान हुँ ?
यदि यी सबै म होइनन् भने- म को हुँ त !
म ती दिनहरूको कथा हुँ, जुन दिन थाकेर पनि उठेँ ।
म ती रातहरूको मौनता हुँ, जुन रात मन भारी थियो, तर पनि बिहान फेरि ओठमा मुस्कानको साथ उठेँ ।
म ती असफलता हुँ, जसले मलाई लडाए, तर केही सिकाएर गए ।
म ती मानिसहरूको सम्झना हुँ, जसले मलाई माया, बिश्वास र सम्बन्धको अर्थ सिकाए ।
म ती गल्ती हुँ, जसलाई सम्झँदा आज पनि मन खिन्न हुन्छ, तर जसले मलाई आजको म बनाएको छ ।
र म ती सपना पनि हुँ, जुन अझै पूरा हुन बाँकी नै छन् ।
मानिसको परिचय उसको सफलताले मात्र बनाउँदैन । उसका संघर्षले पनि बनाउँछ । उसका आँसुले पनि बनाउँछ । उसले कसैलाई दिएको माया, कसैलाई दिएको साथ र कसैको कठिन समयमा बनेको बिश्वास, भरोसाले पनि बनाउँछ ।
किनकी, जीवनको अन्त्यमा ‘हामीले कति कमायौँ ?’ भन्ने प्रश्नभन्दा ठूलो प्रश्न यही हुन सक्छ-हामीले बाँच्दा कसको निमित्त कति अनि के गर्यौँ ?
कसैको दुःखमा एउटा सहानुभूतिको शब्द बनेर उभियौँ कि उभिएनौँ ?
कसैको एक्लोपनमा साथ दियौँ कि दिएनौँ ?
कसैलाई आशा चाहिएको बेला उसको हात समात्यौँ कि समातेनौँ ?
सायद यिनै साना कुराहरूले मानिसलाई ठूलो बनाउँछन् ।
आजको संसारमा हामी सफलताको अर्थ प्रायः बाहिर खोज्छौँ । महँगो सामानमा । ठूलो घरमा । राम्रो पदमा । धेरै पैसामा । अरूको प्रशंसामा ।
तर साँझ एक्लै कोठामा फर्किँदा ती सबै चीज मौन हुन्छन् । त्यतिबेला हाम्रो भेट आफ्नै मनसँग मात्र हुन्छ ।
अनि त्यही मौनतामा थाहा हुन्छ- मान्छेले संसार जितेको देखिन सक्छ, तर आफूले आफैलाई गुमाइरहेको पल नदेखिन पनि सक्छ ।
त्यसैले सपना देख्नु गलत होइन । ठूलो बन्न खोज्नु गलत होइन । धेरै कमाउनु पनि गलत होइन । जीवन बदल्न चाहनु पनि गलत होइन । तर दौडिँदा-दौडिँदा आफैलाई पछाडि छोडिदिनु भने गलत हो ।
हामी भविष्यका लागि यति धेरै बचत गर्छौँ कि वर्तमान नै खर्च भइरहेको थाहा पाउँदैनौँ ।
आफ्ना मान्छेका लागि राम्रो भविष्य बनाउन खोज्छौँ, तर उनीहरूलाई चाहिएको सानो समय दिन बिर्सन्छौँ ।
संसारलाई आफ्नो सफलता देखाउँछौँ, तर आफ्नै घरभित्र कसैको मौनता बुझ्न सक्दैनौँ ।
सायद जीवनको सबैभन्दा ठूलो विडम्बना यही हो-हामीसँग सम्पर्क गर्ने साधन धेरै छन्, तर सम्पर्कमा रहने समय थोरै ।
बोल्ने शब्द धेरै छन्, तर भन्नैपर्ने शब्द घट्दै गएका छन् ।
तस्बिर धेरै छन्, तर ती तस्बिरभित्र बाँचेको समय थोरै ।
र हामीसँग जीवन छ तर कहिलेकहीँ ज्युनको लागि समय छैन।
एक साँझ म फेरि ऐनाअगाडि उभिएँ । धेरै बेरसम्म आफूलाई हेरिरहेँ । यसपटक मैले अनुहार होइन, यात्रा हेर्न खोजेँ ।
त्यहाँ एउटा बालक थियो, जसलाई ठूला सपना देख्न पनि आउँदैनथ्यो ।
त्यहाँ एउटा युवा थियो, जसले संसार बदल्ने सपना देख्यो ।
त्यहाँ एउटा थाकेको मानिस थियो, जो अझै पनि दौडिरहेको थियो ।
र त्यहाँ एउटा मान्छे थियो-जो धेरै कुरा पाइसकेपछि पनि एउटै कुराको खोजीमा थियो ।
आफू।
अनि अचानक मनले भन्यो- म कुनै एउटा नाम होइन । कुनै एउटा पद होइन । कुनै एउटा सफलता होइन, कुनै एउटा असफलता पनि होइन ।
म त मेरो सम्पूर्ण यात्रा हुँ ।
म हिजोको अनुभव हुँ । आजको संघर्ष हुँ । भोलिको सम्भावना हुँ ।
म मेरो गल्ती पनि हुँ, र त्यसबाट सिकेको पाठ पनि ।
म मेरो आँसु पनि हुँ, र त्यसपछि फर्केको मुस्कान पनि।
म हराएको बाटो पनि हुँ, र फेरि भेटिएको बाटो पनि ।
म अधुरो छु । तर अधुरो हुनु भनेको समाप्त हुनु होइन।
सायद मानिस कहिल्यै पूर्ण हुँदैन । ऊ हरेक दिन अलिअलि बन्दै जान्छ- हिजोको आफूलाई बुझ्दै, आजको आफूलाई स्वीकार्दै र भोलिको आफूलाई निर्माण गर्दै ।
त्यसैले आज मैले फेरि आफैलाई सोधेँ-
‘म को हुँ ?’
यसपटक उत्तर खोज्न मलाई ऐना चाहिएन ।
म कसैको छोरा हुँ ।
कसैको भरोसा हुँ ।
कसैको साथी हुँ ।
कसैको परिवार हुँ ।
कसैको सम्झना हुँ ।
कसैको मुस्कानको कारण हुँ ।
र सायद, मैले कसैको जीवनमा बोलेको एउटा सानो शब्दले पनि ठूलो अर्थ बोकेको हुन सक्दछ।
त्यसैले अब संसारलाई म को हुँ भनेर प्रमाणित गर्नुअघि म आफैँलाई बुझ्न चाहन्छु।
सफल बन्नेछु, तर आफ्ना मान्छे गुमाएर होइन ।
धेरै कमाउनेछु, तर आफ्नो समय बेचेर होइन ।
ठूला सपना देख्नेछु, तर वर्तमानलाई मारेर होइन ।
दौडनेछु, तर बीच-बीचमा रोकिएर आफूलाई पनि हेर्नेछु।
किनकि अन्ततः जीवनले एउटा कुरा सिकाउँछ-
मान्छे कति माथि पुग्यो भन्ने कुरा मात्र उसको उचाइ होइन रहेछ। उसले बाटोमा कति मन छोयो, कति आँसु पुछ्यो, कति आशा जगायो र कति प्रेम बाँड्यो-त्यो पनि उसको उचाइ रहेछ ।
हामी सबैले जीवनको कुनै न कुनै मोडमा आफैलाई यही प्रश्न सोध्नेछौँ-
‘म को हुँ ?’
उत्तर तुरुन्तै नभेटिन सक्छ। तर खोजिरहनुहोस् ।
आफ्नो सफलतामा खोज्नुहोस् ।
आफ्नो असफलतामा खोज्नुहोस् ।
आफ्ना सम्बन्धमा खोज्नुहोस् ।
आफ्नो मौनतामा खोज्नुहोस् ।
र सबैभन्दा बढी- आफूले अरूको जीवनमा छोडेको प्रभावमा खोज्नुहोस् ।
किनकि अन्ततः म त्यो होइन, जो संसारले मलाई भन्छ ।
म त्यो पनि होइन, जो म संसारलाई देखाउँछु ।
म त त्यो हुँ, जो संसारबाट ओझेल परेर पनि आफ्नो अन्तरात्मासँग बाँचेको छु ।
र यही प्रश्नको उत्तर खोज्दै-म अझै यात्रामै छु ।
सायद यही यात्रा नै मेरो वास्तविक परिचय हो ।
म को हुँ ?
म आफैले हरेक दिन प्रेम र धैर्यले लेखिरहेको एउटा अधुरो, तर अत्यन्तै सुन्दर कथा हुँ ।










