News Portal

  • विवाहको माला सुक्न नपाउँदै विदेशको बाटो : रोजगारीको खोजीमा छुट्टिँदै नव दाम्पत्य !

    विवाहको माला सुक्न नपाउँदै विदेशको बाटो: रोजगारीको खोजीमा छुट्टिँदै नव दाम्पत्य !

    प्रताप सुवेदी२०८३ साउन २७
    ५२ पटक

     

    -प्रताप सुवेदी

    विवाह दुई व्यक्तिको मात्र मिलन होइन, दुई परिवार र दुई जीवनको नयाँ सुरुवात हो ।नेपालमा धेरै नव विवाहित दम्पतीका लागि विवाहपछिको पहिलो अध्याय प्रेम, साथ र भविष्यको योजना होइन विदाइ बाट सुरु हुन्छ। विवाह भएको केही दिन,केही हप्ता वा केही महिनामै श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता आज नेपाली समाजको गम्भीर सामाजिक यथार्थ बन्दै गएको छ । एउटी नवविवाहित श्रीमतीले हातमा लगाएको मेहेन्दीको रङ नउड्दै श्रीमानलाई त्रिभुवन विमानस्थलसम्म पुर्‍याउनु पर्ने अवस्था केवल व्यक्तिगत पीडा होइन, हाम्रो नेपालको अर्थतन्त्र र रोजगारी प्रणालीको ऐना पनि हो।

    नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२४ अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अत्यन्त ठूलो छ।२०२३ मार्चदेखि २०२५ जुनसम्म मात्र वैदेशिक रोजगारीमा रहेका १६ लाख ५२ हजार ७६३ नेपाली श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका थिए, जसमा १४ लाख ५४ हजार ४३१ पुरुष र १ लाख ९८ हजार ३३२ महिला थिए। यसले वैदेशिक रोजगारी नेपाली परिवारको जीवनसँग कति गहिरो रूपमा जोडिएको छ भन्ने देखाउँछ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२४ को तथ्याङ्क अझ संवेदनशील छ। हाल विवाहित १५–४९ वर्षका महिलामध्ये ३८ प्रतिशतले आफ्ना श्रीमान् घरमा नभएको बताएका छन् । पुरुषतर्फ यस्तो अनुपात १२ प्रतिशत थियो। यसको अर्थ, वैदेशिक वा अन्य कारणले श्रीमान् घरबाट टाढा हुने अवस्था नेपाली महिलाको ठूलो हिस्साको पारिवारिक अनुभव बनिसकेको छ।

    आर्थिक दृष्टिले हेर्दा विदेश जानु धेरै परिवारका लागि बाध्यता हो। नेपालमा पर्याप्त रोजगारी, उचित पारिश्रमिक र भविष्यप्रतिको भरोसा नहुँदा विवाहपछि नयाँ परिवार निर्माण गरेका युवाले पनि वैदेशिक रोजगारी रोज्नुपर्ने अवस्था आउँछ।आर्थिक वर्ष २०२४/२५ मा नेपालमा श्रमिकले पठाएको विप्रेषण रु. १,७२३.२७ अर्ब (करिब १७ खर्ब २३ अर्ब रुपैयाँ) पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १९.२% वृद्धि हो। यही तथ्यले वैदेशिक रोजगारीबाट आएको आम्दानी नेपालको अर्थतन्त्रमा कति ठूलो आधार बनेको छ भन्ने देखाउँछ। नेपाल राष्ट्र बैंकका अनुसार २०२४/२५ मा विप्रेषणको GDP सँगको अनुपात २८.२% पुगेको थियो। विदेशबाट आउने पैसाले परिवार र राष्ट्रिय अर्थतन्त्र धानेको देखाउँछ; तर प्रश्न उठ्छ—पैसाले घर त धान्ला, तर छुट्टिएको दाम्पत्य जीवन कसरी धान्ने?

    बिहान उठ्दा उसको छेउको ओछ्यान खाली हुन्छ। राति सुत्दा त्यही खाली ठाउँले श्रीमानको सम्झना दिलाउँछ। फोन आउँदा केही मिनेटका लागि संसार पूरा भएजस्तो लाग्छ। ‘खाना खायौ?’ ‘आज काम कस्तो भयो?’ ‘थाक्यौ?’ जस्ता सामान्य प्रश्नमै प्रेम खोज्नुपर्छ। कहिलेकाहीँ फोन काटिएपछि उसको आँखामा आँसु आउँछ, तर त्यो आँसु पुछिदिने हात भने त्यहाँ हुँदैन।

    विवाहलगत्तै श्रीमान् विदेशीदा श्रीमतीका लागि चुनौती केवल श्रीमानको अभाव होइन । नयाँ घर, नयाँ सम्बन्ध, सासू–ससुरा वा अन्य परिवारसँगको समायोजन, भावनात्मक एक्लोपन, सामाजिक दबाब र भविष्यप्रतिको अनिश्चितता एकैपटक सामना गर्नुपर्ने हुन्छ। साथै कति श्रीमतीहरू डिप्रेसनको सिकार हुन्छन त कतिले पुरूष संग सम्बन्ध राख्न थाल्छन् ।पुरानो नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भेमा पनि विवाहित महिलामध्ये श्रीमान् टाढा रहेका परिवारमा लामो समयसम्म अलग बस्ने अवस्था उल्लेख्य देखिएको थियो ।

    तर यसको अर्थ वैदेशिक रोजगारी आफैं गलत हो भन्ने होइन। विदेश गएर कमाएको पैसाले घर बनाएको छ, ऋण तिरेको छ, छोराछोरी पढाएको छ र परिवारको आर्थिक अवस्था उकासेको छ। समस्या त्यतिबेला गम्भीर हुन्छ, जब विवाहलाई केवल विदेश जाने तयारीको माध्यम बनाइन्छ र नवविवाहित दम्पतीले वैवाहिक जीवनको आधारभूत भावनात्मक तथा पारिवारिक तयारी गर्नै पाउँदैनन्।

    त्यसैले विवाहअघि नै दम्पती बीच स्पष्ट संवाद आवश्यक छ कति समयपछि विदेश जाने? कति वर्ष बस्ने? आर्थिक लक्ष्य के हो? श्रीमतीको शिक्षा वा रोजगारीलाई कसरी निरन्तरता दिने? परिवारसँगको जिम्मेवारी कसरी बाँड्ने? नियमित सम्पर्क कसरी कायम गर्ने? यस्ता प्रश्नको उत्तर विवाहको मण्डपमै होइन, विवाहअघि नै खोजिनु आवश्यकता छ ।

    प्रतिकृया दिनुहोस्