News Portal

  • संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणमा मुख्य दलबीच सहकार्य आवश्यक : अध्यक्ष ओली

    जनभेट संवाददाता२०८३ साउन १२
    ४३ पटक

    ईश्वरी थापा
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजधानी प्रदेश कमिटीद्वारा आयोजित “संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व” विषयक विचार गोष्ठी काठमाडौंको बबरमहलमा सम्पन्न भएको छ। श्रावण ७ गते आयोजित उक्त कार्यक्रममा संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकतामाथि व्यापक छलफल भएको थियो।

    राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालको अध्यक्षता तथा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्र, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कानुनविद्, बौद्धिक व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै वर्तमान राजनीतिक परिवेशमा संविधानको मर्म र भावनाअनुसार राजनीतिक अभ्यास हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँले संविधानलाई कमजोर बनाउने वा लोकतान्त्रिक प्रणालीलाई अस्थिर बनाउने कुनै पनि गतिविधि मुलुकका लागि हितकर नहुने उल्लेख गर्दै राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका सवालमा प्रमुख राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

    No description available.

    उहाँले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन संविधानको पूर्ण कार्यान्वयन, विधिको शासन, राजनीतिक स्थायित्व तथा विकासमुखी सोचलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि राष्ट्रिय स्वार्थका विषयमा सबै दलहरू एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा संविधानविद् राधेश्याम अधिकारी र टिकाराम भट्टराईले पुष्पलाल श्रेष्ठलाई वर्गीय पक्षधरता, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र राजनीतिक इमानदारिताका प्रतीकका रूपमा स्मरण गर्नुभयो। उहाँहरूले वर्तमान समयमा संविधानको भावना विपरीत हुने गतिविधिहरू बढ्दै गएको उल्लेख गर्दै त्यसले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती सिर्जना गरेको धारणा राख्नुभयो। संविधानको सफल कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता, कानुनी शासन र नागरिक सहभागिता अझ प्रभावकारी बनाउनुपर्ने उहाँहरूको जोड थियो।

    नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले लोकतन्त्रको सफल अभ्यासका लागि समावेशिता, संघीयता, सुशासन, जवाफदेहिता तथा शक्ति पृथकीकरण लोकतान्त्रिक शासन प्रणालीका आधारभूत र अपरिहार्य तत्व भएको बताउनुभयो। उहाँले संविधानले परिकल्पना गरेका मूल्य र मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्न सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित, संविधानको प्रभावकारी कार्यान्वयन तथा लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा देखिएका चुनौतीप्रति सबै राजनीतिक दल गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले संविधानले सुनिश्चित गरेका अधिकार, समावेशी शासन व्यवस्था र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउन साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, राजनीतिक स्थायित्व, राष्ट्रिय एकता तथा सुशासन प्रवर्द्धनका लागि संविधान निर्माणमा भूमिका खेलेका प्रमुख राजनीतिक दलहरूले आपसी संवाद, सहकार्य र जिम्मेवार राजनीतिक संस्कृतिलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रमको सञ्चालन राजधानी प्रदेश कमिटीकी उपसचिव वेलीमाया घलेले गर्नुभएको थियो भने अध्यक्ष नारायण सिलवालले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै लोकतन्त्र र संविधानको सुदृढीकरणका लागि यस्ता वैचारिक बहसले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    प्रतिकृया दिनुहोस्