News Portal

  • गृह तथा केयर श्रमिकका समस्या समाधान गर्न सरकारसँग ‘हुन’को माग

    जनभेट संवाददाता२०८३ आषाढ ३
    ८३ पटक

    ईश्वरी थापा
    काठमाडौं । नेपाल गृह श्रमिक युनियन (हुन) ले घरेलु, केयर, घरआधारित तथा पिस–रेटमा काम गर्ने श्रमिकहरूको अधिकार, सुरक्षा र सामाजिक सुरक्षासम्बन्धी विभिन्न माग राख्दै वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषमा मागपत्र बुझाएको छ।

    युनियनको प्रतिनिधिमण्डलले वैदेशिक रोजगार बोर्डका निर्देशक शारदा भण्डारीलाई बुझाएको मागपत्रमा वैदेशिक रोजगारीमा जाने घरेलु तथा केयर श्रमिकका लागि सञ्चालन हुने अभिमुखीकरण कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र श्रमिकमैत्री बनाउनुपर्ने माग गरेको छ।

    युनियनकी अध्यक्ष ज्ञानुमाया क्षेत्री (कार्की) का अनुसार मागपत्रमा श्रमिकहरूको अधिकार संरक्षण, हिंसामुक्त कार्यस्थलको सुनिश्चितता, सुरक्षित तथा सम्मानजनक रोजगारीको व्यवस्था तथा सामाजिक सुरक्षा र श्रम अधिकारको प्रत्याभूति गर्न सरकार–सरकार (G2G) प्रणालीमार्फत श्रमिक पठाउने व्यवस्था अझ विस्तार गर्नुपर्ने विषय समेटिएको छ।

    यसैगरी, सामाजिक सुरक्षा कोषका उपनिर्देशक विवेक पन्थीलाई बुझाइएको अर्को मागपत्रमा घरेलु तथा केयर क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा आबद्ध गराउने व्यवस्था लागू गर्न आग्रह गरिएको छ।

    अध्यक्ष ज्ञानुमाया क्षेत्री, उपाध्यक्ष अनिता तुलाधर, महासचिव हीरा केसी तथा माइग्रेसन डेस्कका जनक विकलगायतको टोलीले मागपत्र बुझाउँदै घरेलु तथा केयर क्षेत्रमा कार्यरत श्रमिकहरूको सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी र अधिकार संरक्षणका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको जनाएको छ।

    युनियनले घरेलु तथा केयर क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई राज्यको सामाजिक सुरक्षा प्रणालीभित्र समेट्दै उनीहरूको श्रम, योगदान र अधिकारको उचित सम्मान सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्