News Portal

  • दासता, संघर्ष र मुक्तिको विमर्श : ‘मानव दासता र मुक्ति संघर्ष’ माथि गहन समीक्षा

    जनभेट संवाददाता२०८३ जेठ २८
    ११९ पटक

    काठमाडौं । वरिष्ठ लेखक अपत्य शर्माद्वारा लिखित ‘मानव दासता र मुक्ति संघर्ष’ पुस्तकमाथि केन्द्रित समीक्षा तथा अन्तरक्रिया कार्यक्रम जेठ २५ गते काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको छ । मानव इतिहासको विकासक्रम, दासता, शोषण, वर्गसंघर्ष तथा मुक्तिका विविध आयामलाई समेटेर लेखिएको उक्त कृतिमाथि साहित्यकार, विश्लेषक, प्रकाशक तथा पत्रकारहरूले आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।
    पूँजीवादी दासताविरुद्ध संघर्ष गर्दै आफ्नो जीवन समर्पण गर्ने सर्वहारा वर्गप्रति समर्पित यस कृतिले मानव सभ्यताको ऐतिहासिक यात्रा, सामाजिक रूपान्तरणका प्रक्रिया तथा मुक्तिका आन्दोलनलाई वैचारिक र ऐतिहासिक सन्दर्भसहित प्रस्तुत गरेको समीक्षकहरूको धारणा थियो ।

    कार्यक्रममा वरिष्ठ लेखक तथा चर्चित आख्यानकार ईश्माली (महेश्वरप्रसाद उपाध्याय) ले पुस्तक गम्भीर अध्ययन, अनुसन्धान र वैचारिक प्रतिबद्धताका साथ निखारिएको कृति भएको बताउनुभयो । उहाँले वर्तमान विश्व परिवेशमा समाजवादको अवस्था, डिजिटल प्रविधिबाट सिर्जित नयाँ श्रम सम्बन्ध तथा साम्राज्यवादका बदलिँदा स्वरूपबारे अझ विस्तृत विश्लेषण समेटिएको भए पुस्तक अझ प्रभावकारी बन्न सक्ने सुझाव दिनुभयो । तथापि, पुस्तकले मानव समाजको ऐतिहासिक यथार्थलाई सरल र बोधगम्य ढंगले प्रस्तुत गर्न सफल भएको उहाँको भनाइ थियो ।

    बाल साहित्यकार तथा विश्लेषक डा. छायाँदत्त न्यौपानेले उक्त कृतिलाई अनुसन्धानमूलक, सामाजिक यथार्थमा आधारित तथा भौतिकवादी चिन्तनको दृष्टिकोणबाट लेखिएको महत्वपूर्ण पुस्तकका रूपमा मूल्याङ्कन गर्नुभयो । उहाँका अनुसार पुस्तकले मानव समाजको विकासक्रमसँगै उत्पन्न भएका दासता, उत्पीडन, प्रतिरोध र मुक्तिका संघर्षलाई ऐतिहासिक सन्दर्भमा विश्लेषण गरेको छ । यसले पाठकलाई समाज र इतिहासलाई नयाँ दृष्टिले हेर्ने आधार प्रदान गर्ने उहाँको विश्वास थियो ।

    श्रृङ्खला प्रकाशनका प्रकाशक प्रवीण जोशीले यस्ता वैचारिक तथा अनुसन्धानमूलक कृतिको प्रकाशन वर्तमान समयमा झन् आवश्यक बन्दै गएको बताउनुभयो । उहाँले पुस्तकले युवा पुस्तामा अध्ययन, चिन्तन र बहसको संस्कृति विकास गर्न योगदान पु¥याउने धारणा राख्नुभयो ।
    लेखक तथा वाम विश्लेषक हरि श्रेष्ठले पुस्तकले वर्गीय शोषण र मानव मुक्तिका ऐतिहासिक आन्दोलनहरूलाई स्पष्ट रूपमा उजागर गरेको उल्लेख गर्दै वामपन्थी विचारधाराप्रति रुचि राख्ने पाठकका लागि यो उपयोगी सन्दर्भ सामग्री बन्ने बताउनुभयो । पत्रकार ईश्वरी थापाले पुस्तकले इतिहास, दर्शन र राजनीतिक चेतनाबीचको अन्तरसम्बन्धलाई सहज ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै आम पाठकका लागि समेत उपयोगी कृति भएको धारणा व्यक्त गर्नुभयो ।

    समीक्षा कार्यक्रममा उपस्थित अभय शर्मा र निशा ढुंगानाले पुस्तकका बारेमा सकारात्मक टिप्पणी गर्दै युवा पुस्ता र प्रविधिका बारेमा भने केही कमी महसुस भएको विचार व्यक्त गरेका थिए ।

    कार्यक्रममा बोल्दै लेखक अपत्य शर्माले ‘मानव दासता र मुक्ति संघर्ष’ पुस्तक प्रकाशन गर्नुको उद्देश्य मानव इतिहासमा विद्यमान दासता, उत्पीडन र मुक्तिका आन्दोलनबारे नयाँ पुस्तालाई तथ्यपरक जानकारी गराउनु रहेको बताउनुभयो । उहाँले पुस्तक प्रकाशनमा सहयोग पु¥याउने श्रृङ्खला मासिकका सम्पादक प्रवीण जोशी तथा सुझाव र प्रेरणा दिने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो ।

    समीक्षा कार्यक्रममा विशेषगरी डिजिटल प्रविधिको तीव्र विस्तारसँगै दर्शन, इतिहास र अनुसन्धानमूलक अध्ययन सामग्रीको आवश्यकता बढ्दै गएको विषयमा पनि छलफल भएको थियो । सहभागीहरूले वर्तमान समयमा मानव दासता, वर्गीय संघर्ष, सामाजिक न्याय तथा मुक्तिका प्रश्नहरू नयाँ स्वरूपमा उपस्थित भइरहेका भन्दै यस्ता विषयमा आधारित पुस्तकहरूको आवश्यकता झन् बढेको धारणा राखेका थिए ।

    सहभागीहरूले विशेषगरी मानवीय संवेदना, दासप्रथा, माक्र्सवाद, लेनिनवाद तथा प्रगतिशील दर्शनसम्बन्धी गम्भीर अध्ययन सामग्रीको अभाव रहेको सन्दर्भमा ‘मानव दासता र मुक्ति संघर्ष’ ले महत्वपूर्ण बौद्धिक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए । उनीहरूका अनुसार पुस्तक इतिहासको पुनर्कथन मात्र नभइ वर्तमान समाजका जटिल प्रश्नहरू बुझ्न र भविष्यको दिशाबारे सोच्न प्रेरित गर्ने वैचारिक दस्तावेजका रूपमा पनि स्थापित हुन सक्छ ।

    कार्यक्रमले दासता, संघर्ष र मुक्तिको बहुआयामिक विमर्शलाई पुनः केन्द्रमा ल्याउँदै मानव समाजको विकास र रूपान्तरणबारे गम्भीर बहसको आवश्यकता औंल्याएको निष्कर्ष निकालिएको थियो ।

    प्रतिकृया दिनुहोस्