News Portal

  • जापानका सफल व्यवसायी ददिवल खड्काद्वारा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा, जापानबाट विश्वभरका नेपालीलाई जोड्ने संकल्प

    जनभेट संवाददाता२०८२ फाल्गुण २६
    ३३ पटक

    टोकियो । जापानलाई कर्मथलो बनाएर लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका समाजसेवी एवं व्यवसायी ददिवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

    खड्काले सन २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन तथा विश्वभर फैलिएको नेपाली समुदायबीच सहकार्यलाई मजबुत बनाउने लक्ष्यसहित नेतृत्वमा आउन चाहेको बताउनुभएको छ।

    जापानस्थित नेपाली समुदायमा सक्रिय अभियन्ताका रूपमा चिनिने खड्का विगत डेढ दशकभन्दा बढी समयदेखि एनआरएनए अभियानसँग जोडिँदै आउनुभएको छ। विभिन्न सामाजिक, सांस्कृतिक तथा समुदायिक कार्यक्रममा अग्रसर भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    खड्काका अनुसार एनआरएनए विदेशमा बस्ने नेपालीहरूको साझा संस्था मात्र नभई नेपाल र विश्वभर फैलिएको नेपाली समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम हो। त्यसैले संस्थाको नेतृत्वले विश्वभर रहेका नेपालीहरूको साझा हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको धारणा छ।

    जापानमा आयोजना हुने नेपाल फेस्टिवल, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान तथा विपद् राहत सहयोग जस्ता गतिविधिमा खड्काको सक्रिय सहभागिता रहँदै आएको छ। साथै उहाँ नेपाली समुदायबीच सहकार्य र समन्वय बढाउने, नयाँ पुस्तालाई सामाजिक अभियानमा जोड्ने तथा नेपाली भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने कार्यमा पनि सक्रिय रहँदै आउनुभएको छ।

    खड्का जापानमा सफल व्यवसायीका रूपमा स्थापित व्यक्तित्वका रूपमा पनि चिनिनुहुन्छ। व्यवसायिक गतिविधिमार्फत नेपालीहरूका लागि रोजगारी तथा अवसर सिर्जना गर्ने प्रयास गर्दै आउनुभएका उहाँ जापानस्थित नेपाली व्यवसायी संघ जापानका वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न संघसंस्थासँग पनि आवद्ध रहँदै आउनुभएको छ।

    एनआरएनए अभियानमा खड्काको लामो अनुभव रहेको छ। उहाँ यसअघि सन २०१७–२०१९ मा एनआरएनए जापानको सल्लाहकार, सन २०१९–२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसी) सदस्य तथा सन २०२१–२०२३ मा एनआरएनए एसिया–प्यासिफिक उपसंयोजकको जिम्मेवारी सम्हालिसक्नुभएको छ।

    उम्मेदवार खड्काले आफ्नो उम्मेदवारीमार्फत विदेशमा रहेका नेपालीहरूले भोग्ने कानुनी तथा प्रशासनिक समस्याहरू समाधानका लागि पहल गर्ने, प्रवासी नेपालीहरूको सीप, अनुभव र पूँजीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, दोस्रो पुस्ताका नेपाली युवालाई एनआरएनए अभियानमा जोड्ने तथा संस्थाभित्र देखिने विभाजन अन्त्य गरी पारदर्शी र एकताबद्ध संगठन निर्माण गर्ने एजेन्डा अघि सार्नुभएको छ

    गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुँदैछ। उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ।

    प्रतिकृया दिनुहोस्