News Portal

  • श्री नेपाल आमा मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर, दुई सय सेवाग्राही लाभान्वित

    जनभेट संवाददाता२०८२ माघ १८
    १९७ पटक

    -मुना न्यौपाने
    काठमाडौं । स्वयंप्रकट श्रीशालग्राम भगवानको पावन सान्निध्य श्रीनेपाल आमा मन्दिर परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । श्रीपञ्चमहालक्ष्मी  मन्दिरले विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोगमा  शंखरापुर नगरपालिका वडा–५ इटाखेलस्थित नेपाल आमा मन्दिर परिसरमा शिविरकाे आयोजना गरेकाे हो ।

    शिविरमा दुई सयभन्दा बढी सेवाग्राही लाभान्वित भएको जनाइएको छ । शिविरमा एलोपेथी चिकित्सा र प्राकृतिक चिकित्सा, मनोचिकित्सा लगायतका सेवाहरु प्रदान गरिएको थियो । शिविरमा ब्लड प्रेसर जाँच र जनरल चेकअप गर्नुका साथै आवश्यक औषधी समेत वितरण गरिएको थियो । शिविरमा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं मनोपरामर्श सेवा समेत प्रदान गरिएको थियो।

    शिविरमा स्वस्तिक अस्पताल, सातदोबाटोको आधुनिक चिकित्सा पद्धति, ओम कायकल्प वेलनेस सेन्टर, न्यूलाइफ आयुर्वेद प्रालि गोंगबुले प्राकृतिक चिकित्सा पद्धति सेवा, महिला वातावरण समूह, सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र, साँखु, ईटाखेल टोल विकास समितिलगायतले सहयोग गरेका थिए ।

    स्वस्तिक अस्पताल, सातदोबाटोका प्रबन्ध निर्देशक लक्ष्मीनारायण सुवालसहित नौजना प्राविधिक चिकितसकहरुको टोलीले एलोपेथी उपचार प्रदान गरेका थिए । कायाकल्प वेलनेस सेन्टर, सुकेधाराका अध्यक्ष शैलेन्द्र शर्मा, उपाध्यक्ष डा आइन्टाइन लघुन, मनोविश्लेषण केन्द्र, तीनकुनेका मनोविद् बासु आचार्य, प्राकृतिक स्वास्थ्य सचेतना अभियानका अध्यक्ष लेखनाथ आचार्य, सामुदायिक सेवा समाजका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिना, गौरीघाट सुधार समितिका कार्यसमिति सदस्य कृष्णचन्द्र श्रेष्ठ, सामुदायिक सेवा केन्द्र चावहिलका कार्यसमिति सदस्य गीता मानन्धर भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्र, नेपालका कोषाध्यक्ष मदनकृष्ण सिलवाल, अधिवक्ता बद्रीनाथ भट्टराईलगायतको उपस्थिति थियो ।

    रेणु खरेलले संयोजन गर्नुभएको शिविर सञ्चालनमा सहयोग गर्ने सबैलाई श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठका उत्तराधिकारी स्वामी श्रीवासुदेव प्रपन्नाचार्य तथा श्रीमुक्तिनाथ संस्कृत गुरुकुलम् वेदपाठशालाका श्रीदामोदर गुरुले बिदाइ गर्नुभएको थियो । नेपाल आमा मन्दिर परिसरमा श्रीमुक्तिनाथ बाबा अस्पताल (स्वास्थ्य सेवाश्रम) समेत निर्माणाधीन रहेको छ ।

    प्रतिकृया दिनुहोस्