News Portal

  • सचेतनामूलक कार्यक्रमसहित लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

    जनभेट संवाददाता२०८२ मंसिर २७
    २३१ पटक

    ईश्वरी थापा
    ललितपुर । लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । ‘छोरीका लागि छोरी संस्था नेपाल’ र ‘छहारी नेपाल’को संयुक्त आयोजनामा ललितपुरका विभिन्न स्थानमा हिंसाविरुद्धको जागरण अभियानका साथै सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

    १६ दिने अभियानको समापन कार्यक्रम सामुदायिक सेवा केन्द्र, धापाखेलमा गरिएकाे छ । समापन कार्यक्रममा छोरीका लागि छोरी संस्था नेपाल बागमती प्रदेश संयोजक बसुधा बस्नेत पाण्डेले सस्थाको उद्देश्य तथा गतिविधिबारे जानकारी दिनुभयाे ।

    उहाँले देशभरका ६ सयभन्दा बढी सदस्य रहेको संस्थाले आर्थिक सहयोग जुटाएर लैङ्गिकहिंसा, छाउपडी, भूकम्प, कोरोनालगायतबाट पीडित महिलाहरुलाई उद्धार गर्दै आएको बताउनुभयो । उहाँले संस्थाले हिंसा पीडित महिलालाई जागरुक बनाउँदै मनोबल बढाउन विभिन्न चेतनामूलक तालीमकोसमेत आयोजना गरिएको बताउनुभयो । पीडित महिलाहरुको सेवामा निरन्तर खटिने स्वयंसेवी महिलाहरुलाई संस्थाले सम्मान गरेको उहाँको भनाइ छ ।

    कार्यक्रममा सातदोबाटो वृत्तका डिएसपी पूर्णिमा चन्दले हिंसाले मानसिक तथा भौतिकरुपमा असर पार्ने भएकाले समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो । डिजिटल प्रविधिको दूरुपयोगबाट बचेर सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा वडाअध्यक्ष जीवन महर्जन, समाजसेवी विष्णुगोपाल श्रेष्ठ तथा लालु खड्काले हिंसाकाे स्रोत तथा विभिन्न गतिविधिका बारेमा आफ्नो विचार र अनुभाव व्यक्त गरेका थिए ।

    कार्यक्रममा संस्थाका पदाधिकारीलगायत धापाखेलका जेष्ठनागरिक, एकल महिलालगायत सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्