News Portal

  • नेपाल कृषि श्रमिक संघ (फान) ले मनायो २९औँ स्थापना दिवस

    जनभेट संवाददाता२०८२ आश्विन ४
    ३१५ पटक

    ईश्वरी थापा
    काठमाडौं । नेपाल कृषि श्रमिक संघ (फान) ले आफ्नो २९औँ स्थापना दिवस मनाएको छ । २०५३ सालमा स्थापना भएको नेपाल कृषि श्रमिक संघ (फान) ले देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।

    फानको स्थापना दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले कृषि श्रमिकहरुलाई शुभकामना दिँदै संघको स्थापना र महत्वको बारेमा चर्चा गर्नुभयो । उहाँले संघले हली, गोठाला, खेताला, कृषि फर्मका ज्यालादारी तथा करारमा काम गर्ने श्रमिकदेखि विभिन्न कृषिमा कार्यरत सबैलाई समेट्दै आएको बताउनुभयो ।

    संविधान सभाबाट निर्माण भएको संविधान जारी भएको असोज ३ गतेनै फानको स्थापना दिवस पनि पर्ने भएकाले दुबै दिवस एकैदिन मनाउने गरिएको उहाँको भनाइ छ ।

    फानका अध्यक्ष पूर्ण केसीले जेन जी आन्दोलनमा शाहदत प्राप्त गरेका ७३ शहीदहरुको सम्झनामा दीप प्रज्वलन, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको बताउनुभयो । सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गरेपछि गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलन भएको र त्यसले संविधानमाथि नै प्रश्न चिन्ह खडा गर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

    जेन जी आन्दोलनका कारण भौतिक तथा आर्थिक क्षतिका कारण हजारौँ श्रमिक वर्ग पीडित हुन पुगेको अध्यक्ष केसीको भनाइ छ । फानले श्रमिकको मौलिक अधिकार, ट्रेड युनियन अधिकारका साथै सामाजिक सुरक्षा कोषको पक्षमा निरन्तर आवाज उठाइरहेको दाबी गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्