News Portal

  • ‘साइनो वाङ्गमय चौतारी’द्वारा तीन स्रष्टा सम्मानित

    जनभेट संवाददाता२०८२ साउन १८
    ४५३ पटक

    ईश्वरी थापा
    काठमाडौं । साइनो वाङ्गमय चौतारी नेपालले तीन जना स्रष्टालाई सम्मान गरेको छ । संस्थाको छैटौँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा संस्थाले साहित्यकार एवं पत्रकार मोहन दुवाल, युवाकवि एवं साहित्यक पत्रकार प्रकाश समीर तथा कमला भण्डारीलाई सम्मान गरेको हो ।

    कार्यक्रममा श्रृङ्खला मासिक साइनो कविता विशेष पनि लोकार्पण गरिएको थियो ।

    कार्यक्रममा श्रृङ्खला साहित्यिक मासिकका सम्पादक/प्रकाशक प्रवीण जोशी, सुमिता दवाडी, सुजिता कँडेल, पार्वती अर्याल, शान्ताराम भट्टईलगायतलाई संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

    संस्थाका उपाध्यक्ष बालकुमार क्षेत्रीले साइनो कविता संस्थाको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो ।

    सचिव शेखर अर्यालले सञ्चालन गर्नुभएकाे कार्यक्रममा समालोचक तथा पाठ्यक्रमविद् रमेशप्रसाद भट्टराई समिक्षक डा. अमृता शर्मा, साइनो प्रणेता डा. छायादत्त न्यौपाने (बगर), गजलकार डा. नारायणप्रसाद गैह्रेलगायत साहित्यनुरागीहरुको उपस्थिति रहेको थियो ।

    समालोचक प्रा.डा. रमेश भट्टराईले विश्वव्यापी चर्चा पाएको साइनो वाङ्गमयलाई स्थापित गराउन अझै विविध भाषामा विकास हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सिर्जनासँग श्रम र श्रमसँग सिर्जना जोड्दै रसले भरिपूर्ण बनाउनु पर्नेमा जोड दिनुभयो ।

    त्यसैगरी, साइनोका प्रणेता डा. छायादत्त न्यौपानेले राष्ट्रिय अन्तर्राष्ट्रिय भावना र प्राज्ञिक भावना बोकेको वाङ्गमयमा सम्पूर्ण सामग्री पस्किन सके उच्च स्थान पाउन सक्ने बताउनुभयो ।

    प्राडा न्यौपानेले विश्वभरका २५ देशका एक सय २० स्रष्टाले हिन्दी, जापानिज, थारु, फारसी, वाजुरेली मातृभाषालगायत विभिन्न भाषाका कविता तथा लेखका माध्यबाट विश्वव्यापी योगदान पाएको साइनो राष्ट्रको सम्पत्ति भएको बताउनुभयो ।

    डा. सीता सुवेदी पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि केशव ज्ञवाली ‘अज्ञात’,  सुरेन्द्र शाही ‘गुलाव कान्छो’, शान्तिराम भट्टराई, धनबहादुर थापा, सरिता पराजुली, आशाकुमारी तिमल्सिनालगायतले कविता वाचन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्