
-केदार उप्रेती (योग प्रशिक्षक)
सिन्धुपाल्चोकको लिशंखुपाखरमा जन्मिएको म ४०/४२ वर्षअघि पढाइ बीचैमा चटक्कै छाडेर काठमाडौं छिरेँ । घरको आर्थिक अवस्था कमजोर भएकाले मेरो ध्याउन्न नै कसरी आर्थिक रूपमा सम्पन्न हुने भन्ने थियो । १२ वर्षको उमेरमा लिशंखुपाखर छाेडेर हिँडेपछि काठमाडौंमा आएर चार वर्ष अरूको उद्योगमा काम गरेँ । १६ वर्षको उमेरमा ललितपुरको बालकुमारीमा आफैले गलैँचा उद्योग खोलेर त्यसलाई निरन्तरता दिएँ । त्यसपछि ललितपुरकै कुमारीपाटीमा पूर्णचण्डी बेकरी उद्योग स्थापना गरेँ ।
त्यसपछि पछिल्लो बीस वर्षयता काठमाडौंमा घरजग्गा कारोबारमा लागेको छु । भगवानको कृपाले यो व्यवसायमा मलाई अहिलेसम्म घाटा लागेको छैन ।
पहिले मलाई आध्यात्मिक संस्था ‘जीवन विज्ञान गुरुकुल’ का बारेमा केही थाहा थिएन । मेरी श्रीमती कोटेश्वर महादेवस्थानस्थित सरस्वती कलेजमा पढ्न जान्थिन् । कलेज जाँदै गर्दा उनी बेलाबखत कोटेश्वरमा ‘जीवन विज्ञान गुरुकुल’का योग प्रशिक्षक दुर्गा मगरले सञ्चालन गरेको जीवन योग प्रयोगशालामा पनि ध्यान गर्न जाने गर्दिरहिछिन् ।
त्यसपछि श्रीमतीले मलाई बारबार भन्न थालिन्, ‘दुर्गा गुरुले कस्तो राम्ररी ध्यान–योग सिकाउनुहुन्छ, तपाईं पनि कोटेश्वर जाऊँ हिँड्नुस्– ध्यानयोग गर्न ।’ उनले पटक–पटक कर गर्न थालेपछि म पनि योग–ध्यान गर्न कोटेश्वर जान थालेँ ।
योगगुरु दुर्गा मगरको योग–ध्यान सिकाउने कला असाध्यै राम्रो लाग्यो । बिहान उहाँ योग–ध्यान कक्षमा आफै चकटी मिलाउने, सरसफाइ गर्ने, ऊर्जाशील भजनहरू लगाएर सहभागीहरूलाई सक्रिय रूपमा योग–ध्यान गराउने गर्नुहुन्थ्यो । कक्षामा आएका साधकहरूलाई सक्रिय रूपमा साधना गर्न अभिप्रेरणा दिँदै उहाँ योग–ध्यान सिकाउनुहुन्थ्यो ।
जीवन विज्ञानमा आइसकेपछि सबैले जुझारु भएर योग–ध्यान गर्नुपर्छ भन्ने शिक्षा मैले दुर्गा गुरुको कक्षामा पाएँ ।
उहाँ भन्नुहुन्थ्यो, ‘मित्रहरू ! मैले मात्रै गराएको ध्यानले तपाईँहरूलाई पुग्दैन । तपाईंहरू बेलाबखत चाबहिलमा रहेको हाम्रो केन्द्रमा पनि ध्यान गर्न जानुहोस् । त्यहाँ हाम्रा गुरुदेवद्वय एल पि भानु शर्मा र रमेश नेपालज्यूबाट यहाँहरूले गहन ध्यान साधनासँगै अध्यात्मसम्बन्धी सबै जिज्ञासाको समाधान पाउनुहुनेछ ।’
दुर्गा गुरुले नै हामी साधकहरूलाई पटक–पटक केन्द्रमा गएर बोधविज्ञान, लयविज्ञान, चक्रविज्ञान, ध्यानविज्ञान जस्ता कार्यक्रम लिनुस् भनेर आग्रह गर्नुहुन्थ्यो ।
त्यसपछि चाबहिलस्थित जीवन विज्ञान प्रतिष्ठानमा गएर मैले बिस्तारै सबै कार्यक्रमहरू लिएँ । केन्द्रका सबै कार्यक्रमहरू राम्रा भए पनि मलाई चक्रविज्ञान, बोधविज्ञान, लयविज्ञान र प्रशिक्षक प्रशिक्षण औधि मनपर्यो । त्यसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम लिएर विगत ८/१० वर्षदेखि म आफैँले पनि योगध्यान सिकाइरहेको छु ।
यसअघि चक्रविज्ञान कार्यक्रम लिँदा मनमनै सङ्कल्प गरेको थिएँ कि ‘जीवन विज्ञानलाई कुनै सहयोग गर्न सकूँ’ । के सहयोग गर्ने त भनेर श्रीमतीसँग सल्लाह गर्दै जाँदा अन्ततः हामीले योगध्यान हल बनाउने निधो गर्यौँ र ललितपुरको इमाडोलमा आफ्नै ६ आना जग्गामा दुई वर्षअगाडि निजी लगानीमा ‘रमणीय जीवनयोग प्रयोगशाला’ निर्माण गरेका छौँ, जहाँ दैनिक ६०/७० जनाले योग–ध्यान गर्नुहुन्छ ।
ध्यान गर्नुभन्दा अगाडि हात हालेको व्यवसाय डुबेर चौपट हुने हो कि, कुनै दिन आर्थिक रूपमा टाट पल्टिएर हरितन्नम हुने हुने हो कि भन्ने मलाई डर लाग्थ्यो । तर योग–ध्यान गर्न थालेपछि त्यस्तो कुनै डर लाग्ने गरेको छैन भने व्यवसाय झन् राम्रो हुन लागेको छ । करोडौँको व्यवसायमा हात हाल्दा पनि मनमा कुनै तनाव नै आउँदैन । सबै गतिविधि सहज रूपमा अघि बढिरहेको छ ।
यदि जीवन विज्ञानका योगध्यानका कार्यक्रम सबैले लिन सके देशमा पुलिस प्रशासनको दण्ड सजायको पाटोमा कामै कम हुन्थ्यो जस्तो मलाई लाग्छ ।
पुलिसको मात्र नभई चिकित्सकको पनि काम कम हुन्थ्यो जस्तो मलाई लाग्छ । किनकि योगध्यान गरेर कुलत र आपराधिक गतिविधि छाडेका व्यक्ति धेरै छन् । चिकित्सकले अप्रेशन गर्नुपर्छ भनेका बिरामीहरू पूर्ण रूपमा निको भएका उदाहरण पनि धेरै छन् । कैयौँको घुँडा दुख्ने समस्या योगासनबाट निको भएको छ भने ध्यानपछि उच्च रक्तचाप र मधुमेहको औषधि खान छाड्ने पनि कैयौँ छन् ।
म योगध्यानका दौरान जीवन विज्ञानबाहेक अरू–अरू सम्प्रदायकोमा पनि पुगेको छु । ध्यानयोगमा सत्प्रयास गर्ने सबै सम्प्रदाय र गुरुहरूलाई मेरो नमस्कार छ । तर मेरा लागि ‘जीवन विज्ञान गुरुकुल’ नै उपयुक्त लागेको छ । यहाँका कार्यक्रम र सद्गुरुद्वयको ध्यान सिकाउने कला मलाई औधि मनपर्छ ।
त्यसैले जीवन विज्ञानका गुरुदेवद्वयप्रति सत्–सत् नमन । उहाँहरूजस्ता सय जना व्यक्ति हाम्रो देशमा हुने हो भने देशकै भविष्य उज्ज्वल हुनेछ जस्तो मलाई लाग्छ । केही थाहा थिएन, गुरुले सर्वश्व दिनुभयो, अझ बेहोसी मलाई पूर्ण होसमा ल्याउन अथक् मिहिनेत गर्नुभयो । त्यसैले दुवै गुरुदेवलाई धन्यवाद । गुरुका पाइला पछ्याउँदै अघि बढ्ने क्रममा अरूले पनि योगध्यानको लाभ लिऊन् भन्ने ध्येयले मैले निर्माण गरेको ‘रमणीय जीवनयोग प्रयोगशाला’मा अहिलेसम्म सद्गुरुका पाइला परेका छैनन्, जहाँ छिट्टै गुरुका पाइला परुन् र हामीलाई आशीर्वचन प्राप्त होस् भन्ने अपेक्षा लिएको छु ।
(जनभेट साप्ताहिकका लागि जीवन विज्ञान गुरुकुलका योग प्रशिक्षक केदार उप्रेतीसँग दीपक न्यौपानेले गरेको कुराकानीमा आधारित)











