
काभ्रेपलाञ्चाेक । शून्य बेरुजु कायम गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेपलाञ्चाेककाे महाभारत गाउँपालिकालाई सम्मान गरेको छ। आफ्नो ६७औँ वार्षिकोत्सव समारोहमा कार्यक्रममा विशेष अतिथि सार्वजनिक लेखा समितिका सभापतिले अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान पत्र प्रदान गर्नुभयो।
यसको अलावा प्रदेशगत रुपमा सबैभन्दा कम बेरुजु अङ्क कायम गर्न सफल सातवटा स्थानीय सरकार, चार नगरपालिका र तीन गाउँपालिकालाई समेत सम्मान गरिएको छ।
सम्मानित हुनेहरूमा कोशीबाट शोलुदूधकुण्ड नगरपालिका (सोलुखुम्बु) मधेशबाट इशनाथ नगरपालिका (रौतहट), बागमतीबाट मण्डन देउपुर नगरपालिका (काभ्रेपलाञ्चाेक), गण्डकीबाट अन्नपूर्ण गाउँपालिका (म्याग्दी), लुम्बिनीबाट पाणिनी गाउँपालिका (अर्घाखाँची), कर्णालीबाट त्रिवेणी गाउँपालिका (सल्यान) र सुदूरपश्चिमबाट पञ्चदेवल विनायक नगरपालिका (अछाम) रहेका छन्।
महालेखा परीक्षकको कार्यालयले पहिलो पटक स्थानीय सरकारलाई उत्कृष्टताको आधारमा सम्मान गर्न शुरु गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेले स्थानीय सरकारमा लेखा समितिहरु क्रियाशील भइ बेरुजु फर्छ्याेट तदारुकता देखाउनु पर्ने तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बनाएर वित्तीय व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभयो।
कार्यक्रमका अध्यक्ष महालेखा परीक्षक तोयम रायले यस वर्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपालको व्यवस्थापनमा २३ जिल्ला र चार प्रदेश तहमा लेखा परीक्षण प्रविधिकरण कार्यक्रमको सहजिकरण गरिएको बताउनुभयो।











