
काठमाडौं । आचार्य बन्धु समाज नेपालले दही चिउरा कार्यक्रमकाे आयाेजना गर्ने भएको छ । समाजका महासचिव एवम् वरिष्ठ अधिवक्ता शुभनराज आचार्यका अनुसार समाजकाे केन्द्रीय कार्यसमिति बैठकले दही चिउरा कार्यक्रम आयाेजना गर्ने निर्णय गरेकाे हाे ।
महासचिव आचार्यका अनुसार कार्यक्रम काठमाडाैंस्थित कृष्णभोग पार्टी प्यालेश बानेश्वरमा हुनेछ ।
समाजका सचिव इन्द्र प्रसाद आचार्यले दही चिउरा कार्यक्रममा काठमाडौमा रहनुभएका समग्र कौण्डिन्य गोत्रीय आचार्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको र निमन्त्रण नआएमा यसै सूचनालाई आधिकारिक सूचना मानेर सहभागी हुनका लागि अनुरोध गरेकाे बताउनुभयाे । उहाँका अनुसार एक हजार आचार्य बन्धुहरुलाई निमन्त्रणा गरी सकिएकाे छ ।
समाजले नयाँ वर्षको उपलक्षमा प्रकाशित क्यालेण्डरकाे केही समयअघि मात्रै लाेकार्पण गरेकाे थियाे । समाजले नयाँ वर्ष, दही चिउरा, दशैँतिहार, तीज, टङ्क प्रसाद आचार्यको जन्म जयन्ती मनाउने, इतिहाशशिरोमणि बाबुराम आचार्यको जन्म जयन्ती मनाउने कार्यक्रम, आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाउने कार्य, स्वर सम्राट भक्तराज आचार्यको जन्म जयन्ती मनाउने कार्य तथा सहभागिता जनाउने कार्य, वार्षिक क्यालेन्डर प्रकाशन गर्ने कार्य लगायतका महत्त्वपूर्ण वार्षिक कार्यक्रमहरू गर्ने गरेकाे छ ।
समाजले आफ्नो केन्द्रीय कार्यालय निर्माणका लागि केही दिनभित्रै नतिजा आउने गरी काम भइरहेको समाजका केन्द्रीय अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक बाबुराम आचार्यले बताउनुभयाे ।
आचार्य बन्धु समाज (कौण्डिन्य) ले असार १४ गते देशव्यापी बन्धु मिलन कार्यक्रम एवं असार पन्ध्र (दही च्यूरा) उत्सव मनाउने निर्णय गरेको छ । स्वदेशभर तथा विदेशबाट समेत नेपाल आउनै लाग्नुभएका बन्धुहरूलाई असार १४ गते दिउँसो दुई बजेको समयमा काठमाडौँको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा उपस्थितिका लागि केन्द्रीय समिति आह्वान गरेको छ ।
उक्त दिन देश र समाजलाई उच्चतम योगदान दिने बन्धुहरूलाई सम्मान र अध्ययनमा अत्यन्तै मेधावी भाइ–बहिनीहरूलाई पुरस्कृत गरिने कार्यक्रमसमेत राखिएको समाजकाे भनाइ छ ।
बैठकले आचार्य बन्धु समाज नेपालले आफ्नै भवन (आचार्य सदन) निर्माण गर्ने, बृहत् कूल थान बनाउने, नाग–सिकारी थान लगायतका हाम्रो पुर्खाले स्वीकारेका सकारात्मक रीतिरिवाजसँग मिल्ने सबै स्थान बनाउने, आचार्यहरूको पौराणिक कला–संस्कृति, रीतिरिवाज र जीवनशैली झल्किने खालको आचार्य गाउँ निर्माण गर्ने गरी जग्गा खरिद गर्न बृहत् खोजी गर्ने निर्णय भएको भन्दै बैठकले जग्गा खरिदका लागि अकल्पनीय सहयोग प्राप्त हुन थालिसकेकाले दाताहरूलाई हृदयदेखि धन्यवाद दिएको अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयाे ।
आचार्य सदन निर्माणमा सहयाेग गर्न वा समाजबारे जानकारीका लागि निम्न पदाधिकारीहरूसँग सम्पर्क गर्न तथा समाजकाे वेब साइट हेर्न समाजले अनुराेध गरेकाे छ ।
बाबुराम आचार्य (अध्यक्ष) ९८५१०२७२८३
शुभनराज आचार्य (महासचिव ९८५१०६८०३२
इन्द्र प्रसाद आचार्य (सचिव) ९८५१०९७६९४










