News Portal

आचार्य बन्धु समाज–नेपाल धादिङ जिल्लाको प्रथम अधिवेशन पुस २० गते हुने

जनभेट संवाददाता२०८१ पौष १६
२९३ पटक

काठमाडौं । आचार्य बन्धु समाज–नेपाल धादिङ जिल्लाको प्रथम अधिवेशन पुस २० गते शनिबार हुने भएको छ । आचार्य बन्धु समाज–नेपाल धादिङ जिल्ला सभापति अर्जुनप्रसाद आचार्यका अनुसार अधिवेशन थाक्रे गाउँपालिकास्थित सरस्वती मन्दिरमा हुन लागेको हो ।

अधिवेशनमा धादिङका करिब पाँच सय र काठमाडौं, ललितपुर तथा भक्तपुर गरी करिब एक हजारको संख्यामा कौडिन्य गोत्रीय आचार्य बन्धुहरुको सहभागिता रहने समाजले अनुमान गरेको छ ।

आचार्य बन्धु समाज–नेपाल धुनिबेशी नगरपालिकाका सभापति रमेश आचार्यका अनुसार अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनलाई उपलब्धिमूलक रुपमा सम्पन्न गर्न जिल्लाका सबै गाउँपालिकाका कौडिन्य गोत्रीय आचार्य बन्धुहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको सभापति आचार्यले जानकारी दिनुभयो ।

प्रचार–प्रसार प्रमुख शिवराज आचार्यले प्रचार प्रसारका सम्पूर्ण कार्यक्रम पुरा भइसकेको र कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

अधिवेशनका लागि प्रमुख अतिथिका रूपमा आचार्य बन्धु समाज–नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यसहित विशिष्ट आचार्य बन्धुहरुलाई निमन्त्रणा गरिएको धुनिबेसी नगरपालिकाका सभापति रमेश आचार्यले जानकारी दिनुभयो । अधिवेशनमा धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकृष्ण आचार्यको समेत सक्रिय सहभागिता रहने उहाँको भनाइ छ ।

वरिष्ठ अधिवक्ता एवम् आचार्य बन्धु समाज नेपालका केन्द्रीय महासचिव शुभनराज आचार्यले धादिङ जिल्लामा प्रथम पटक हुन लागेको अधिवेशन सफलताका लागि केन्द्रको तर्फबाट शुभकामना दिनुभएको छ । अधिवेशनमा केन्द्रबाट अध्यक्ष बाबुराम आचार्य, बागमती प्रदेश अध्यक्ष जयराज आचार्य, ललितपुर सभापति पुष्कर आचार्य, आचार्य बन्धु समाज नेपाल वागमती प्रदेशका पूर्वउपाध्यक्ष एवं कौडिन्य गोत्रीय महासंघ वनभोज तयारी समिति सदस्य सुदर्शन आचार्यलगायतको उपस्थिति रहने महासचिव आचार्यले जानकारी दिनुभयो ।

धादिङ जिल्लाको थाक्रे गाउँपालिका, धुनिबेसी नगरपालिकालगायतका स्थानमा आचार्यहरुको बाग्लो बस्ती रहेको तथा स्थानीय राजनीति तथा नीति निर्माणका तहमा समेत राम्रो उपस्थिति रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्