News Portal

श्रमजीबी वर्गलाई एकताबद्ध भएर आन्दोलनमा सरिक हुन महासंघ अध्यक्ष श्रेष्ठको आह्वान

जनभेट संवाददाता२०८१ मंसिर १३
८२ पटक

-ईश्वरी थापा
काठमाडौ। नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ट० का अध्यक्ष विनोद श्रेष्ठले सम्पूर्ण श्रमजीबी वर्गलाई एकताबद्ध भएर आन्दोलनमा सरिक हुन आह्वान गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले जिफन्ट आवद्ध संस्थापक मध्येको पहिलो र बलियो यूनियन “नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेष्ट मजदुर यूनियन” नेस्वहोमयू ४५औं स्थापना दिवशको उपलक्ष्यमा ठमेलमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा बताउनु भएको हो ।

सुविधा प्राप्त भएपछि यूनियन नचाहिने मानसिकतालाई त्याग्नु पर्ने, श्रम आन्दोलनमा समयसँगै मागहरु पनि परिवर्तन हुने र श्रम शोषणका रुप पनि फेरिने हुनाले श्रमिकहरुको एकताबद्ध आन्दोलन निर्माण गरी एकजुट भएर आन्दोलनमा सहभागी हुन जोड दिनुभयाे ।

कार्यक्रका प्रमुख अतिथि बिनोद श्रेष्ठले २०३६ सालको राजनीतिक दबाब, प्रभाव र होटल श्रमिकहरु माथिको चरम दमनका घटनाले संगठित हुन प्रेरित गरेका ऐतिहासिक पृष्ठभूमि र संस्थापकहरुको त्याग, समर्पणलाई स्मरण गर्दै निरन्तरतालाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको छ ।

आन्दोलनको परिणाम स्वरुप होटल याक एण्ड यति, होटल क्रिष्टल, होटल एभरेष्ट र होटल सोल्टीका मजदुरलाई एकत्रित गराइ २०३६ मंसिर १३ गते नेपाल स्वतन्त्र होटल मजदुर यूनियन गठन भएको थियो । अहिले गल्फ, क्यासिनो, क्याटरिन, क्लब हुँदै ग्लोबल यूनियन आइयूएफमा पहिचान बनाउन सफल भएकोमा गर्व लागेकाे भन्दै उहाँले गणतान्त्रिक मुलुकमा होटल क्षेत्रका श्रमिकहरुको १० प्रतिशत सेवा शुल्क कटौती, आउट सोर्सिङको साथै अन्य अधिकार पनि खोसिन सक्नेमा सजग गराउनुभयो ।

राजनीतिक आन्दोलनलाई सही बाटोमा मजदुर वर्गीय ढंगले हेर्न सके मात्र यूनियनको विकास गर्न सकिने बताउँदै संगठन सुद्धिकरण , मजबुत बनाउन जिफन्ट कायाकल्पका लागि अभियान पौष १ गतेदेखि सञ्चालन गर्न लागेको बताउनुभयो ।

नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, जुगकाटेमयूका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले स्थापना दिवशको शुभकामना दिनु भएको कार्यक्रमको अध्यक्षता लक्ष्मण तिवारी, स्वागत निशा बरालले गर्नु भएको थियो भने सञ्चालन नेसोहोमयूका महासचिव कमल घिमिरेले गर्नु भएको थियो ।

४५औँ स्थापना दिवसका अवसरमा सर्वाेत्कृष्ट ट्रेड युनियन पुरस्कार नेस्वहाेमयू पाेखराकाे हाेटल ग्र्याण्ड कास्कीलाई प्रदान गरिएकाे थियाे । त्यसैगरी,  दिवंगत माधव न्यौपाने स्मृति छात्रबृत्ति नेस्वहोमयू गोकर्ण फरेष्ट रिसोर्ट प्रतिस्ठानका सदस्य सुरेश घिमिरेका छोरा सुदिप घिमिरे र छात्रातर्फ नेस्वहोमयू द बेकरी क्याफे प्रतिस्ठानका उपाध्यक्ष विवेक देउलाको छोरी अंशु देउलाले एसईईमा उत्कृत जीपीए ल्याउन सफल भएकोमा सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्