
-ईश्वरी थापा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, क्यामरा भवन बल्खुमा विदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
स्नातकाेत्तर चाैथाे सेमेस्टर अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई विदाइ तथा दशैँ, तिहार, नेपाल संवत् ११४५ र छट पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरिएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका निमित्त डिन प्रा.डा. दुबिनन्द ढकालले चाैथाे सेमेस्टर पुरा गरेका विद्यार्थीहरूलाइ प्रशंसापत्र प्रदान गर्नुभएकाे थियाे । उहाँले सूचना प्रविधिको विकाससँगै सत्यतथ्य र आधिकारिक समाचारमार्फत् समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सही ढङ्गबाट अघि बढाउने जिम्मेबारी विशेषगरी पत्रकारिता विषयका विद्यार्थी तथा अध्यापकको रहेको बताउनुभयाे।

विभागीय प्रमुख उपप्राध्यापक डा. कुन्दन अर्यालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमाथि अनेकौँ चुनौती सिर्जना भएको उल्लेख गर्दै सैद्धान्तिक र व्यावहारिक ज्ञानसहित खारिएको कुशल पत्रकार उत्पादनका लागि समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण कक्ष र शिक्षण सिकाइ कक्षलाई जोड्नु पर्नेमा जाेड दिनुभयाे ।

उपप्राध्यापम डा. देवराज अर्यालले विद्यार्थीद्वारा आयाेजना हुने विविध कार्यक्रमहरू सिकाइकै एक अङ्ग भएकाले यस्ता गतिविधिले विद्यार्थीकाे शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।

उपप्राध्यापक डा. घमराज लुइटेलले असफलताले पनि मानिसलाइ महत्पूर्ण पाठ सिकाउने बताउँदै चाडपर्वका समयमा पनि समय मिलाएर विद्यार्थीहरूले स्वअध्ययन गर्नुपर्नेमा जाेड दिनुभयाे ।

त्यस्तै, उपप्राध्यापक शशिनाथ मरासिनीले शरद ऋतुमा पर्ने चाडपर्वकाे विशेषता र महत्वका बारेमा चर्चा गर्दै समाजका हरेक संस्कार र संस्कृतिबाट प्राप्त हुने ज्ञानले जीवन सरल र सहज बनाउने बताउनुभयाे ।

विज्ञापन बाेर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले विद्यार्थीहरूले कुनै एउटा विषय छनाेट गरी विशेषज्ञता हासिल गर्नुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा तेस्राे समेस्टरका विद्यार्थी यादव हुमागाइँ, दाेस्राे सेमेस्टरका धनवल राईलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संयाेजक एवं तेस्राे सेमेस्टरका विद्यार्थी बाबुराम आचार्यले नैतिकता सबैभन्दा ठूलाे कुरा रहेकाले पत्रकारिता गर्ने तथा अध्यापन गराउने सबैले नैतिक दायरामा बस्नुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमसमेत आयाेजना गरेका थिए ।













