News Portal

हाम्रो विद्यालय शिक्षा : गुणस्तर किन कमजोर ?

पुनिता कुमारी साह२०८१ साउन ९
४५७ पटक

–पुनिता कुमारी साह

पृष्ठभूमि
नेपालको विद्यालय शिक्षा प्रणालीमा पछिल्ला केही दशकमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । हाम्रो विद्यालय शिक्षाको मुख्य उद्देश्य देशका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा दिनु हो । अनेक योजना, कार्यक्रम, थुप्रै लगानी लगायतका प्रयास गरिएका भए पनि विद्यालय भर्ना, विद्यार्थीहरूले बीचैमा विद्यालय छाड्ने दर र शिक्षाको गुणस्तरमा धेरै चुनौती अझै पनि कायम छन् ।

यो आलेखमा हाम्रो शिक्षा प्रणालीको वर्तमान अवस्थाको विहङ्गम् विश्लेषण गर्ने प्रयाश गरिएको छ । विद्यालयमा बालबालिकाको भर्ना दर, विद्यालयमा पढ्ने विद्यार्थीहरूको लैङ्गिक अनुपात, विद्यालय छाड्ने प्रवृत्ति, सरकारको लगानी र कक्षा एक देखि कक्षा १२ सम्मका विद्यार्थी पढ्ने विद्यालय शिक्षाको गुणस्तर जस्ता पक्षमा यो लेखमा विश्लेषण गरिएको छ ।

१. विद्यालय भर्नाको स्थिति

सार्वजनिक रूपमा उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार, नेपालमा कक्षा १ देखि १२ सम्मको विद्यालय भर्ना संख्यामा, अघिल्लो दशकको तुलनामा उल्लेख्य वृद्धि भएको छ । शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयका अनुसार, विद्यालय शिक्षा अन्तर्गत कूल भर्ना संख्या लगभग ७५ लाख विद्यार्थी छ । अर्थात् नेपालका सबै विद्यालयमा गरी जम्मा ७५ लाख विद्यार्थी भर्ना भएका छन् । यो तथ्याङ्कमा सरकारी स्वामित्वका सार्वजनिक र निजी विद्यालय दुबै प्रकारका विद्यालयहरू समावेश छन् । यी मध्ये प्राथमिक तहमा (कक्षा १ देखि ५ सम्म) मा भर्ना भएका बालबालिकाहरूको संख्या माथिल्ला कक्षाहरूमा भन्दा वढी छन् ।

२. विद्यालय भर्नामा लैङ्गिक अनुपात

विद्यालय भर्नामा लैङ्गिक अनुपातमा असमानता देखिन्छ । तर, पछिल्ला वर्षहरूमा गरिएका विभिन्न प्रयासको परिणाम स्वरूप छोरा र छोरीको भर्ना अनुपातमा तुलनात्मक रूपमा समानता आउँदै गएको पाइन्छ । छात्र र छात्राको विद्यालय भर्नाको वर्तमान अनुपात १:०.९७ छ । अर्थात्, १०० छात्र विद्यालय भर्ना भएकोमा ९७ जना छात्रा भर्ना भएका छन् । केही वर्ष अघिको स्थिति सँग तुलना गर्ने हो भने यो तथ्याङ्क निक्कै उत्साहजनक छ । यही क्रम जारी राख्न सकियो भने यो स्थितिमा अझै सुधार ल्याउन सकिन्छ । विद्यालयमा पढ्ने विद्यार्थीहरूमा छोरा र छोरी बराबर हुन्, दुबैको पढाइ गुणस्तरीय होस् भन्ने हाम्रो चाहना भावि दिनमा पूरा हुनेछ भन्ने आशा गर्न सकिन्छ ।

३. विद्यालय छाड्ने दर र प्रवृत्ति

बालबालिका विद्यालय भर्ना हुने संख्या वृद्धि हुँदै गए पनि, पढाइ पूरा नगरी बीचैमा विद्यालय छाड्ने दर चाहिँ हाम्रो विद्यालय शिक्षामा चिन्ताको विषय बनेको छ । प्राथमिक तहमा बीचैमा पढाइ छाड्ने दर करिब ५ प्रतिशत छ भने माध्यमिक तहमा यो दर १५ प्रतिशत रहेको सरकारी तथ्याङ्कमा देखिन्छ । बीचैमा पढाइ छाड्ने प्रवृत्ति सम्बन्धी तथ्याङ्कले शहरका विद्यालयहरूको तुलनामा गाउँमा पढाइ छाड्ने दर वढी भएको देखाउँछ । अझ चिन्ताको विषय त विद्यालय बीचैमा छाड्ने प्रवृत्ति छोराहरूमा भन्दा छोरीहरूमा वढी छ । माध्यमिक तहमा यो दर अझ धेरै रहेको तथ्याङ्क युनिसेफको एउटा प्रतिवेदनले देखाउँछ ।

४. विद्यालय छाड्ने कारणहरू

पढाइ पूरा नगरी बीचैमा विद्यालय छाड्ने प्रवृत्तिका लागि विभिन्न कारण जिम्मेवार देखिन्छन् :

आर्थिक समस्या : गरीब वर्गका अभिभावकले आफ्ना बच्चाहरूको शिक्षासँग सम्बन्धित खर्चहरू, जस्तै पोशाक, कापी कलम, र यातायात खर्च धान्नै सक्तैनन् ।

बाल श्रम : विशेष गरी ग्रामीण क्षेत्रमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण बालबालिकाले समेत काम गर्नु पर्ने बाध्यता छ । दिनभरी काम गरेर कमाउनु पर्ने हुनाले बालबालिका विद्यालय जान पाउँदैनन् र उनीहरूको पढाइ बीचैमा रोकिन्छ ।

बाल विवाह : हाम्रो सांस्कृतिक परम्परा र सामाजिक दबावका कारण विशेष गरी छोरीहरूको सानै उमेरमा विवाह गरी दिने चलन व्याप्त छ । विद्यालय बीचैमा छाड्ने यो पनि एउटा कारण बनेको छ ।

संरचनाको कमी : विद्यालयमा सुविधाको अपर्याप्तता र विद्यालय घरबाट टाढा हुनु बीचैमा पढाइ छाड्नु अर्को कारण देखिएको छ ।

शिक्षाको गुणस्तर : शिक्षामा खस्कँदो गुणस्तर, समय अनुसारको आधुनिक शिक्षण विधिको अभाव, प्रविधिको प्रयोग नहुनु जस्ता कारणले पनि विद्यार्थीहरूमा पढाइ प्रति चासो कम भएको छ र अन्ततः विद्यालय छाड्ने प्रवृत्ति बढ्छ ।

५. विद्यालय शिक्षामा सरकारी लगानी

नेपाल सरकारले विद्यालय शिक्षा क्षेत्रमा लगानी बढाइरहेको छ । माध्यमिक तह सम्मको विद्यालय शिक्षामा ठूलो लगानी छुट्याइएको छ । सन् २०२३/२४ को आर्थिक वर्षमा, सरकारले शिक्षा क्षेत्रलाई करिब १८० अर्ब रुपैयाँको वजेट छुट्याएको छ । यो लगानीको उद्देश्य संरचनामा सुधार गर्ने, छात्रवृत्ति दिने, र शिक्षक तालिम कार्यक्रमलाई सुदृढ गर्ने हो । यद्यपि, यी लगानीहरूको प्रभावकारिता अहिले पनि बहसको विषय बनेको छ । कतिपय शिक्षा विद् यति लगानी अपुग भएको भन्दैछन् ।

६. शिक्षाको गुणस्तर

नेपालका माध्यमिक विद्यालयको शिक्षाको गुणस्तरको हिसाबले सरकारी स्वामित्वका सार्वजनिक विद्यालय र नाफा कमाउन खोलिएका निजी विद्यालयका बीचमा ठूलो भिन्नता देखिन्छ । निजी विद्यालयहरूमा सामान्यतया राम्रो भौतिक सुविधा उपलब्ध गराएर अभिभावकलाई आकर्षित गरिन्छ । सरकारी विद्यालयमा जत्तिको योग्य, तालिम प्राप्त र दक्ष शिक्षक नभए पनि निजी विद्यालयहरूले परीक्षामा राम्रो परिणाम ल्याउन शिक्षकहरूलाई वढी मेहनत गराउँछन् र सिक्ने वातावरण अनुकूल बनाउँछन् । तर अधिकांश सार्वजनिक विद्यालयहरू अपर्याप्त स्रोत, धेरै विद्यार्थी संख्या, शिक्षकहरूमा जिम्मेवारीबोधको कमी, विद्यालयमा राजनीतिकरण जस्ता समस्याले ग्रस्त पाइन्छ । यस्तो स्थितिमा निजी विद्यालयले परीक्षामा राम्रो परिणाम ल्याउँछन् र सार्वजनिक विद्यालयका विद्यार्थी उतीर्ण हुने प्रतिशत जहिले पनि निक्कै कम हुने गरेको छ ।

७. सरकारी र निजी विद्यालय बीच उतीर्ण प्रतिशतको तुलना

पछिल्ला पाँच वर्षमा, माध्यमिक शिक्षा परीक्षामा (SEE) उतीर्ण प्रतिशतमा निजी विद्यालय सरकारी विद्यालयको तुलनामा धेरै माथि देखिन्छन् । उदाहरणका लागि, सन् २०२३ मा, निजी विद्यालयहरूको उतीर्ण प्रतिशत करिब ९० थियो भने सरकारी विद्यालयहरूको ६० प्रतिशत मात्र थियो । यो भिन्नताले सार्वजनिक शिक्षा क्षेत्रमा धेरै सुधारको खाँचो छ भन्ने देखाउँछ ।

८. सरकारी विद्यालयहरूको खराब गुणस्तरका प्रमुख कारणहरू

सरकारी विद्यालयहरूमा शिक्षाको गुणस्तर खराब हुनुमा अनेक कारण छन् । ती मध्ये केही उल्लेख्य कारण निम्न हुन् :

अपर्याप्त वजेट : विद्यालय शिक्षामा सरकारले ठूलो लगानी गरेको भए पनि विद्यार्थी संख्या लगायतका कारण छुट्याइएको वजेट प्रायः सबै विद्यालयको आवश्यकतालाई पूरा गर्न अपर्याप्त हुन्छ ।

योग्य शिक्षकको अभाव : शैक्षिक योग्यता, तालिम, र दक्षताका दृष्टिले सरकारी विद्यालयमा राम्रा शिक्षक दरबन्दी भए पनि धेरै वर्ष देखि दरबन्दी अनुसार शिक्षक नभएकाले राजनीतिक र व्यक्तिगत् पहुँचका आधारमा धेरै शिक्षक भर्ना गरिएको छ । यसरी नियुक्त गरिएका अधिकांश शिक्षकहरूमा योग्यता र दक्षता माथि प्रश्न उठ्ने गरेको छ ।

अपर्याप्त संरचना : कक्षा कोठा, प्रयोगशाला र पुस्तकालयको अभावले सिकाइ प्रभावित भएको छ । विद्यार्थी संख्याको अनुपातमा कक्षा कोठा छैनन् । अधिकांश विद्यालयमा आभारभूत प्रयोगशाला समेत छैन । स्रोत सम्पन्न पुस्तकालय अर्को समस्या हो ।

विद्यार्थी-शिक्षक अनुपात : भरिभराउ, भीडभाड कक्षामा विद्यार्थी संख्याका कारण शिक्षकले विद्यार्थीलाई व्यक्तिगत् तहमा ध्यान दिन नसक्ने स्थिति छ ।

राजनीतिकरण : शिक्षक भर्ना, व्यवस्थापन समितिको गठन, वजेट लगायतमा व्यापक राजनीतिकरण हुनु नेपालको सार्वजनिक विद्यालय शिक्षा कमजोर हुनु एउटा महत्वपूर्ण र दुखदायी कुरा बनेको छ ।

९. शिक्षाको गुणस्तर सुधार गर्ने उपायहरू

नेपालको सार्वजनिक विद्यालय शिक्षामा देखिएका यी चुनौतीहरूलाई समाधान गर्न र शिक्षाको गुणस्तर सुधार गर्न विभिन्न उपायहरू अपनाउन सकिन्छ :

वजेट वृद्धि : सबै विद्यालयहरूका लागि पर्याप्त र समान वजेट विनियोजन गरिनु पर्छ । विशेष गरी ग्रामीण र पछाडि परेका क्षेत्रमा आवश्यकताका आधारमा वजेट छुट्ट्याउनु पर्छ ।

शिक्षक तालिम : शिक्षकको शीप र ज्ञान बढाउन शिक्षक तालिम कार्यक्रमहरूमा अझ वढी लगानी गर्नु पर्छ ।

संरचना विकास : कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयलाई आवश्यकताका आधारमा थपेर वा स्तर उन्नति गरेर विद्यालय संरचनामा सुधार गर्नु पर्छ । यसो गर्न सकियो भने सिक्ने वातावरण राम्रो हुन सक्छ ।

विद्यर्थी-शिक्षक अनुपात : प्रत्येक विद्यार्थीलाई शिक्षकले ध्यान पुर्‍याउन सक्ने गरी आवश्यक संख्यामा शिक्षक नियुक्त गरिनु पर्छ ।

समुदायको संलग्नता : विद्यालय व्यवस्थापन र निर्णय प्रक्रियामा समुदायलाई अझ वढी संलग्न गराउने वातावरण मिलाउनु पर्छ ।

नीतिगत स्थिरता : शिक्षा नीतिहरूमा एकरूपता र स्थिरता हुनु आवश्यक छ । शिक्षामा राजनीतिकरण पूर्ण रूपमा बन्द गरिनु पर्छ ।

निष्कर्ष :

नेपालले विद्यालय शिक्षामा विद्यार्थी भर्ना, लैङ्गिक समानता जस्ता पक्षमा उल्लेख्य प्रगति गरेको छ । तथापि, बीचैमा विद्यालय छाड्ने दर, सरकारी विद्यालयको शैक्षिक गुणस्तर र अपर्याप्त संरचना जस्ता चुनौतीहरू अझै कायम छन् । यी समस्याहरू समाधान गर्न विभिन्न क्षेत्र र पक्षमा महत्वपूर्ण कामहरू गर्नु आवश्यक छ । वजेट वृद्धि, शिक्षक तालिम, संरचना विकास र समुदायको संलग्नता जस्ता कुरामा विशेष ध्यान दिनु पर्ने छ । यी उपायहरू कार्यान्वयन गरेर नेपालले सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षा दिन र शैक्षिक लक्ष्य पूरा गर्न सक्छ ।

सन्दर्भ सूची :

* पुनिता कुमारी साह रूपनगर क्याम्पसमा BBS दोश्रो वर्षकी छात्रा हुन् ।

साभार : रूपनगर क्याम्पस फिचर सेवा

 

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्