News Portal

  • म एक्लो होइन, म अझै प्रतीक्षामा छु (मनोवैज्ञानिक कथा)

    जनभेट संवाददाता२०८३ आश्विन २०
    ६२ पटक

    प्रताप सुवेदी,
    रात निकै छिप्पिसकेको थियो। खै,आज किन निद्रा लागेन! सामाजिक सञ्जालमा जोडिएका र छुटेका ती युवतीहरूको यादहरू एकपछि अर्को गर्दै आइरहेका थिए। मोबाइलको स्क्रिन खोलेँ र सामाजिक सञ्जालमा औँला स्क्रोल गर्दै ती युवतीहरूको नाम खोजी गर्न थालेँ। एकाएक केही पुराना अनुहारहरू सम्झिएँ।
    ती केटीहरू, जो कुनै समय सामाजिक सञ्जालमा मसँग जोडिएका थिए। कसैले नियमित कुरा गर्थे, कसैले मेरो एउटा सानो प्रतिक्रियालाई पनि ठूलो महत्त्व दिन्थे। कसैले घण्टौँसम्म मसँग च्याट गर्थे। कसैले आफ्नो मनको कुरा सुनाउँथे। कसैले त यति भावुक भएर भन्थे,“तपाईंका लागि त ज्यानै दिन सक्छु।”

    त्यो बेला ती शब्दहरू सुन्दा मनमा अनौठो अनुभूति हुन्थ्यो। कसैको मनमा आफू यति महत्त्वपूर्ण हुनु गर्वजस्तो लाग्थ्यो। तर अहिले ती कुराहरू सम्झिँदा मनमा अर्को प्रश्न उठ्छ “ती केटीहरू अहिले के गर्दै होलान्?”

    मलाई थाहा छैन, किनकि उनीहरूले मलाई सामाजिक सञ्जालबाट कहिल्यै नदेख्ने गरी हटाइसकेका छन्! उनीहरूको बाध्यता हो वा मैले उनीहरूको भावना बुझ्न सकिनँ, त्यो पनि थाहा छैन।

    साँचो भन्नुपर्दा, उनीहरूको अहिलेको जीवनबारे मसँग कुनै जानकारी छैन। सामाजिक सञ्जालमा अर्कै आइडीबाट हेर्दा देखिने कुनै पुरानो फोटो वा नामबाहेक उनीहरू कहाँ छन्, के गर्दैछन्, विवाह भयो कि भएन, बच्चा भए कि भएन,मलाई केही थाहा छैन।

    तर मानिसको मनलाई तथ्य चाहिँदैन रहेछ। कहिलेकाहीँ एउटा कल्पना नै पर्याप्त हुन्छ। मनले आफैँ दृश्य बनाउन थाल्छ।

    सायद कसैको विवाह भइसकेको होला! कसैका एकदुई बच्चा होलान्। बिहान बच्चालाई स्कुल पठाउने हतारो होला। कसैको आफ्नै सानो परिवार होला। सायद कोही श्रीमानसँग भविष्यको योजना बनाउँदै होलिन्। कोही अझै अविवाहित होलिन्। सायद कसैको सम्बन्ध टुटिसकेको पनि हुन सक्छ।

    तर फेरि आफैँलाई सम्झाउँछु ! यी सबै मेरा अनुमान हुन्, वास्तविकता होइनन् ! मलाई उनीहरूको जीवन थाहा छैन। म केवल आफ्नो मनभित्र उनीहरूको सम्भावित जीवनको चित्र बनाइरहेको छु।

    तर ती कल्पनाले मलाई फेरि आफ्नै जीवनतिर फर्काइदिन्छन्।

    “अरूको जीवन जहाँ पुगेको होला, म चाहिँ त्यहीँ अझै सिङ्गल किन छु?”

    यो प्रश्नले कहिलेकाहीँ निकै गहिरो गरी मन छुन्छ। गहभरि आँसु बनाउँछु अनि मौन हुन्छु।

    म सँग प्रेमका कुरा गर्नेहरू थिए। मलाई मन पराउनेहरू पनि थिए। कसैले त मेरो जात समेत आकर्षणको कारण बनाउँदै भन्थी। त्यो बेला म हाँसेर कुरा टारिदिन्थेँ।

    तर अहिले सम्झँदा लाग्छ ! मान्छे प्रेममा पर्दा उसले व्यक्तिको स्वभाव मात्र होइन, उसको पहिचान, बोली, व्यवहार, परिवार र संस्कार सबैलाई आफ्नै तरिकाले अर्थ लगाउँदो रहेछ।

    कसैका लागि म केवल एउटा सामाजिक सञ्जालको साथी थिएँ होला। कसैका लागि केही समयको आकर्षण। कसैका लागि एकतर्फी प्रेमको पात्र। कसैका लागि भावनात्मक सहारा। त कसैका लागि सायद केही पनि होइन।

    तर मेरो मनले भने ती सबै सम्बन्धलाई आफ्नै तरिकाले सम्झिरहेको छ।

    फेरि कहिलेकाहीँ सोचिन्छ यदि तीमध्ये कुनै एउटीसँग मेरो सम्बन्ध अघि बढेको भए, आज मेरो जीवन कस्तो हुन्थ्यो होला?

    सायद मेरो घरमा पनि बच्चाहरूको आवाज हुन्थ्यो। बाआमा नातानातिनी देखेर रमाउनुहुन्थ्यो। साँझ घर फर्किँदा कसैले खाना कुरेर बस्थे। सायद मेरो जीवनमा पनि श्रीमतीसँग साना–साना कुरामा रिसाउने र फेरि मिल्ने दिनहरू हुन्थे। समाज, आफन्त, साथीभाइले “फलानाको जस्तो जोडी” भन्थे होलान सायद !

    तर “सायद” ले जीवन चल्दैन।

    अनि फेरि अर्को प्रश्न आउँछ,“विवाहका लागि योग्य केटी किन भेटिएन?”

    के साँच्चै भेटिएन? के भेटिएका मानिसहरूलाई मैले आफैँले चिन्न सकिनँ ?

    सायद समस्या भाग्यमा मात्र थिएन। सायद मभित्रै केही डर थियो। कहिलेकाहीँ हामी प्रेम चाहन्छौँ, तर प्रेमसँग आउने जिम्मेवारीदेखि डराउँछौँ। हामी जीवनसाथी चाहन्छौँ, तर आफ्नो जीवनमा अर्को मानिसलाई पूर्ण रूपमा ठाउँ दिन तयार हुँदैनौँ।

    सायद म पनि त्यस्तै थिएँ।

    कसैको माया राम्रो लाग्थ्यो, तर सम्बन्धको भविष्य सोच्न थालेपछि मन अलमलिन्थ्यो।

    “के यो मान्छे नै सही हो?” “भोलि सम्बन्ध बिग्रियो भने?” “परिवारले स्वीकार्ला?” “के म उसलाई खुसी राख्न सक्छु?” “के अहिले नै सम्बन्ध राखेर घरपरिवार चल्ला?”

    यस्ता प्रश्नहरूले कहिलेकाहीँ सम्भावित सम्बन्धलाई सुरु हुनुअघि नै समाप्त गरिदिन्थे।

    अर्को कुरा पनि रहेछ मलाई सायद प्रेम मात्र होइन, पूर्णता चाहिएको रहेछ।

    म सोच्थेँ, विवाह गर्ने केटी बुझ्ने हुनुपर्छ, मायालु हुनुपर्छ, संस्कारी हुनुपर्छ, मेरो स्वभाव बुझ्नुपर्छ, मेरो कमजोरी स्वीकार्नुपर्छ र मेरो साथमा उभिनुपर्छ।

    तर मैले आफैँलाई कमै सोधेँ

    “के म पनि उसको कमजोरी स्वीकार गर्न तयार छु?” “के म उसको सपना बुझ्न सक्छु?” “के म उसको स्वतन्त्रतालाई सम्मान गर्न सक्छु?” “के म साँच्चै कसैको जीवनसाथी बन्न तयार छु?”

    सायद यही प्रश्नहरूबाट म भागिरहेको थिएँ!

    आज पुराना सामाजिक सञ्जालका कुराकानी सम्झिँदा कसैलाई दोष दिन मन लाग्दैन। ती केटीहरूलाई पनि होइन।

    उनीहरूले मलाई मन पराए होलान्। कसैले एकतर्फी प्रेम गरे होलान्। कसैले भावनामा आएर “तपाईंका लागि ज्यान दिन्छु” भने होलान्। तर त्यो उनीहरूको त्यो समयको भावना थियो।

    आज उनीहरू कहाँ छन् र के महसुस गर्छन् भन्ने मलाई थाहा छैन। समयले मानिस बदल्छ।

    कहिलेकाहीँ एउटा गहिरो प्रेम विवाहमा बदलिन्छ। कहिलेकाहीँ प्रेम सम्झनामा मात्र बाँकी रहन्छ। त कहिलेकाहीँ जसका लागि “ज्यान दिन्छु” भनिन्छ, उसैलाई वर्षौँपछि सम्झन पनि मन लाग्दैन।

    मानिसको मन यस्तै रहेछ।

    अनि मेरो मन?

    सायद म पनि धेरै बदलिएको छु।

    पहिले कसैले मलाई मन पराउनु नै ठूलो कुरा लाग्थ्यो। अहिले कसैले मलाई मन पराउनु मात्र पर्याप्त लाग्दैन।

    अब सोच्न थालेको छु

    “के हामी एकअर्कालाई बुझ्न सक्छौँ?” “के हामी जीवनको दुःखमा पनि साथ दिन सक्छौँ?” “के हाम्रो सम्बन्ध सामाजिक सञ्जालको च्याटभन्दा बाहिरको वास्तविक जीवनमा पनि टिक्न सक्छ?”

    सायद यही परिपक्वता आउन समय लाग्यो।

    त्यसैले आज पनि म सिङ्गल छु भने त्यसलाई केवल दुर्भाग्य भन्न सक्दिनँ। समाज, आफन्त तथा परिवारमा म नागा देखिनु हुँदैन; अर्थात् मेरो वैवाहिक अवस्था मात्र हेरेर मेरो जीवनको मूल्याङ्कन गर्न मिल्दैन।

    सायद केही सम्बन्धहरू मैले आफैँ गुमाएँ होला। सायद केही अवसरहरू समयले लग्यो। केही मानिसहरू मेरो यौवनका लागि बनेका थिएनन्। र सायद सही मानिससँग भेट हुने समय अझै आएको छैन।

    सबैभन्दा ठूलो कुरा अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्नु आफैँलाई अनावश्यक पीडा दिनु रहेछ।

    ती पुराना युवतीहरू अहिले सुखी छन् कि दुःखी, विवाहित छन् कि अविवाहित, उनीहरूका बच्चा छन् कि छैनन मलाई थाहा छैन !

    त्यो उनीहरूको जिवनमा स्वतन्त्र बाच्न पाउने अधिकार हो। मेरो जीवन भने यथार्थ मै बाचिरहेको छ ।

    मोबाइलको स्क्रिन हेर्छु। रात बिहानपखको संकेत गर्न लागेको रहेछ। फेरि मोबाइलको स्क्रिन बन्द गर्छु। कोठा फेरि शान्त हुन्छ।

    मनमा अन्तिमपटक एउटा प्रश्न आउँछ

    “के म साँच्चै एक्लो छु?” के म साँच्चै नागा हु !

    केही बेर सोचेर आफैँलाई उत्तर दिन्छु

    “सायद म एक्लो होइन, म अझै कसैको प्रतीक्षामा छु।”

    तर त्यो प्रतीक्षा केवल एउटी युवतीको होइन। त्यो यस्तो सम्बन्धको प्रतीक्षा हो, जहाँ हामी दुई जना एकअर्कालाई केवल आकर्षणले होइन, बुझाइ, सम्मान, विश्वास र जिम्मेवारीले जीवनभर साथ र सम्मान दिँदै बाँच्न सकौँ।

    सायद त्यस्तो मान्छे ढिलो जीवनमा आउला। सायद अप्रत्याशित ठाउँबाट आउला। सायद सामाजिक सञ्जालबाट होइन, जीवनको कुनै साधारण मोडबाट भेटिएला।

    तर जब भेटिएला, म चाहन्छु त्यसपटक म केवल कसैले मलाई माया गरेकोमा खुसी नहोऊँ। म पनि उसलाई बुझ्न, सम्मान गर्न र जीवनभर साथ दिन तयार होऊँ।

    सायद यही नै मेरो एकलोपनको अर्थ हो।

    मलाई कसैले रोजेनन् भन्ने होइन। सायद अहिलेसम्म हामी दुवैले एकअर्कालाई भेट्ने सही समय पाएका छैनौँ।

    र जीवनले अझै एउटा कुरा सिकाउँदैछ

    ढिलो भएको प्रेम सधैँ कमजोर हुँदैन; कहिलेकाहीँ ढिलो आएको सम्बन्ध नै सबैभन्दा गहिरो र टिकाउ हुन्छ!

    प्रतिकृया दिनुहोस्